News Summary
Generated by OK AI. Editorially reviewed.- स्वीडेनले प्लेअफ फाइनलमा पोल्यान्डलाई ३-२ ले हराउँदै सन् २०१८ पछि पहिलोपटक फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ।
- स्वीडेनका भिक्टर ग्योकेरेसले ८८औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।
- स्वीडेनले विश्वकप समूह चरणमा ट्युनिसिया, नेदरल्याण्ड्स र जापानसँग प्रतिस्पर्धा गर्नेछ।
१८ चैत, काठमाडौं । पोल्यान्डलाई निर्णायक खेलमा हराउँदै स्वीडेनले फिफा विश्वकपमा स्थान सुरक्षित गरेको छ। गएराति भएको रोमाञ्चक प्लेअफ फाइनलमा स्वीडेनले पोल्यान्डलाई ३-२ ले पराजित गर्यो ।
स्टकहोमस्थित स्ट्रबेरी एरेनामा भएको प्लेअफ फाइनलमा स्वीडेनले सुरुआती अग्रता लिए पनि खेल निकै उतारचढावपूर्ण रह्यो। खेलको १९औं मिनेटमा एन्थोनी एलाङ्गाले गोल गर्दै घरेलु टोलीलाई अघि बढाए। ३३औं मिनेटमा निकोला जालेउस्कीले बराबरी गोल फर्काए ।
४४औं मिनेटमा गाब्रियल लागरबियल्केले स्वीडेनका लागि फेरि गोल गर्दै पहिलो हाफमा अग्रतामा ल्याए ।
यद्यपी पोल्यान्डले पनि हार मानेन। ५५औं मिनेटमा कारोल स्वीदेर्स्कीले गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए।
खेल बराबरीतर्फ जाँदै गर्दा अन्तिम समयमा स्वीडेनका स्टार फरवार्ड भिक्टर ग्योकेरेस नायक बने। उनले ८८औं मिनेटमा निर्णायक गोल गर्दै टोलीलाई ३–२ को जित दिलाए।
यो जितसँगै स्वीडेनले सन् २०१८ पछि पहिलोपटक विश्वकपमा स्थान बनाएको हो। कठिन छनोट चरण पार गर्दै प्लेअफमार्फत विश्वकप पुग्नु स्वीडेनका लागि उल्लेखनीय उपलब्धि मानिएको छ।
मुख्य प्रशिक्षक ग्राहम पोटरको नेतृत्वमा टोलीले पुनरागमन गर्दै अन्ततः लक्ष्य पूरा गर्न सफल भयो। अब स्वीडेनले विश्वकपमा ट्युनिसिया, नेदरल्याण्ड्स र जापानसँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।
प्रतिक्रिया 4