१८ चैत, काठमाडौं । दिउँसै मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने चालक लक्षित ट्राफिकले चेकिङ अघि बढाएको छ ।
यसअघिसम्म राति करिब ८ बजेपछि मात्रै मापसे चेकिङ गर्दै आएको ट्राफिक प्रहरीले भने दिउँसो पनि मापसे चेकिङ गर्न सुरु गरेको छ ।
गुनासो आउन थालेपछि दिउँसो पनि मापसे चेकिङ सुरु गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी नवराज अधिकारीले बताए ।
आज बुधबारको चेकिङमा मात्रै १६ चालक कारबाहीमा परेका छन् । यसरी मापसे गर्नेहरूलाई ट्राफिक प्रहरीले गाडीसहित रामशाहपथमा ल्याएको छ । उनीहरूलाई त्यहाँबाट सम्बन्धित प्रहरी युनिटमा कारबाहीका लागि पठाइने एसएसपी अधिकारीले बताए ।
यसअघि भने चिट काटेर छाड्ने गरेको ट्राफिकले अहिले भने चालकलाई नै नियन्त्रणमा लिएर प्रहरीकोमा पठाउन लागेको छ । यसरी नियन्त्रणमा लिएका चालकहरूमा स्कुल बस चालक समेत रहेको ट्राफिक प्रहरीले बताएको छ ।
स्कुल बस चालक, सार्वजनिक बस, माइक्रो चालक कारबाहीमा परेका छन् ।
प्रतिक्रिया 4