२७ चैत, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले युवा वर्गको चाहनाअनुसार काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘रोजगारीका नयाँ अवसरको खोजी गर्ने र बजारको माग अनुरुपको जनशक्ति उत्पादन गर्न सक्षम हुने गरी शैक्षिक प्रणालीमा सुधार गर्दै विदेश पलायन भएको युवा वर्गलाई आफ्नौ देश र आफ्नै गाउँमा बसौं–बसौं लाग्ने बनाउनुपर्ने आजको मुख्य आवश्यकतामा सरकारले ध्यान दिनेछ ।’
जेनजी आन्दोलनपछिको अवस्थामा मुलुक अन्तरिम सरकार बनेर अगाडि बढेको उल्लेख गर्दै उनले समयमै निर्वाचन गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिए ।
निर्वाचनमार्फत मुलुकले नयाँ जनादेश प्राप्त गरेको भन्दै उनले अब जनताको चाहना पूरा गर्न त्यसअनुसार कानुन बनाउनुपर्ने बताए । न्यायपालिकाबाट छिटो छरितो न्याय सम्पादन हुनुपर्नेमा जोड दिए ।
संविधान कार्यान्वयनको विगत दश वर्षको अभ्यास महत्वपूर्ण रहेको उल्ल्ेख गर्दै उनले भने, ‘संविधानको मर्म र भावना अनुसार काम गर्न अझ धेरै बाँकी छ ।’
प्रतिक्रिया 4