२७ चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनलाई निर्वाचनमा जिताउन भूमिका खेल्ने सञ्चारकर्मीबीचको सम्बन्धमा दरार उत्पन्न भएको छ ।
विगतमा आफूलाई सघाएका टकर कार्ल्सन, मेगिन केली, क्यान्डिस ओवेन्स र एलेक्स जोन्ससँग ट्रम्पको सम्बन्ध बिग्रिएको हो । ट्रम्पले हालै ‘ट्रुथ सोसल’ मार्फत उनीहरूविरुद्ध आक्रामक अभिव्यक्ति नै दिएका थिए । जसमा उनले ‘पागल’ र ‘उपद्रवी’को संज्ञा नै दिएका छन् ।
ती सञ्चारकर्मी ट्रम्पको ‘मागा’ अभियानको बलिया खम्बा मानिन्थे । पछिल्लो समय उनीहरूले इरानसँगको युद्धलाई लिएर ट्रम्पको आलोचना गर्दैआएका थिए ।
आफ्नै पूर्वसमर्थकले आलोचना गरेपछि ट्रम्पले आक्रोश पोखेको बताइन्छ । ट्रम्पले ती सञ्चारकर्मी हाल टेलिभिजनबाट निकालिएको र अन्य टेलिभिजनमा काम नपाएको भन्दै उपहाससमेत गरेका छन् ।
ती सञ्चारकर्मीहरू आफ्नो पोडकास्टको सस्तो प्रचारका लागि मात्रै आफ्नो आलोचना गरिरहेको ट्रम्पको आरोप छ । ती सञ्चारकर्मी इरानले आणविक हतियार प्राप्त गरोस् भन्ने चाहना राख्ने व्यक्ति समेत रहेको ट्रम्पले अर्को आरोप लगाएका छन् ।
ट्रम्पले त्यसरी आफूहरूको आलोचना गरेपछि उनीहरू अहिले सामूहिक रूपमा विरोधमा उत्रिएका छन् ।
इन्फोवार्सका सञ्चालक एलेक्स जोन्सले ट्रम्पको आलोचना गर्दै अब रिपब्लिकन पार्टीले ट्रम्पको मोह त्यागेर नयाँ बाटो रोज्नुपर्ने बताएका छन् । उनले विगतमा आफूले जिताउन सघाएका ट्रम्पले अहिले बाटो बिराएकाले आलोचना गर्नुपरेको बताएका छन् । उनले ट्रम्पको स्वास्थ्य अवस्थामाथिसमेत प्रश्न उठाएका छन् ।
‘हामी कहिल्यै बदलिएका छैनौं, ट्रम्प आफैँ बदलिएका हुन्,’ जोन्सले भनेका छन् ।
यस्तै अर्का सञ्चारकर्मी टकर कार्ल्सनले पनि इरान युद्धलाई लिएर ट्रम्पको आलोचना गरेका छन् । ‘स्ट्रेट अफ होर्मुज’ खोल्न ट्रम्पले इरानलाई दिएको अश्लील तथा धम्कीपूर्ण भाषाको उनले निन्दा पनि गरेका छन् ।
प्रतिक्रिया 4