+
+
Shares

आशा भोसलेको पाँच दशकको लामो सांगीतिक यात्रा : २० भाषामा १२ हजार गीत

भारतीय संगीत जगतमा ठूलो दुःखको खबर आएको छ, किनकि दिग्गज गायिका आशा भोसले अब यस संसारमा रहिनन् । ९२ वर्षको उमेरमा उनले अन्तिम सास लिइन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २९ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय दिग्गज गायिका आशा भोसले ९२ वर्षको उमेरमा निधन भइन् र उनका सदाबहार गीतहरूले उनलाई सधैं जीवित राख्नेछन्।
  • आशा भोसलेले पाँच दशकभन्दा बढी समयसम्म संगीत क्षेत्रमा काम गरिन् र २० भन्दा बढी भाषामा करिब १२ हजार गीत गाएकी थिइन्।
  • उनले आरडी बर्मनसँग दोस्रो विवाह गरिन् र १९९४ मा उनको निधनसम्म सँगै रहिन्, साथै 'ग्रामी अवार्ड'का लागि नामांकन पाउने पहिलो भारतीय गायिका थिइन्।

‘अभी ना जाओ छोड़कर, ये दिल अभी भरा नहीं…’

आज प्रत्येक संगीतप्रेमी यही भावना व्यक्त गरिरहेका छन्, तर दुःखको कुरा यो चाहना अब पूरा हुन सक्दैन ।

भारतीय संगीत जगतमा ठूलो दुःखको खबर आएको छ, दिग्गज गायिका आशा भोसले अब यस संसारमा रहिनन् । ९२ वर्षको उमेरमा उनले अन्तिम सास लिइन् । उनी हामीबीच नभए पनि उनका सदाबहार गीतहरूले उनलाई सधैं जीवित राख्ने छन् ।

सांगीतिक परिवारमा जन्म

८ सेप्टेम्बर १९३३ मा आशा भोसलेको जन्म संगीतसँग जोडिएको परिवारमा भएको थियो । उनका बुवा पण्डित दीनानाथ मंगेशकर अभिनेता तथा शास्त्रीय गायक थिए ।

उनी स्वरकोकिला लता मंगेशकरकी सानी बहिनी थिइन् । आशा नौ वर्षकी हुँदा उनका बुवाको निधन भयो। त्यसपछि परिवार पुणेबाट कोल्हापुर र पछि मुम्बई सरेको थियो ।

ठूलो दीदीको पाइला पछ्याउँदै उनले पनि संगीत क्षेत्रमा प्रवेश गरिन् । परिवार चलाउन दुवै दिदिबहिनीले फिल्ममा गीत गाउन थाले । आशाले पहिलो गीत मराठी फिल्म ‘माझा बाल’ (१९४३) मा गाइन् ।

हिन्दी फिल्ममा उनको पहिलो गीत ‘चुनरिया’ (१९४८) को ‘सावन आया’ थियो । यहीँबाट सुरु भएको यात्रा पाँच दशकभन्दा बढी समयसम्म चल्यो ।

कठिन प्रतिस्पर्धाबीच पहिचान

१९४० को दशकको अन्त्य र १९५० को सुरुवातमा गीता दत्त, शमशाद बेगम र लता मंगेशकर जस्ता स्थापित गायिकाहरूबीच उनले आफ्नो स्थान बनाइन् । सुरुका दिनमा उनले धेरै कम बजेटका फिल्महरूमा गीत गाइन्।

सज्जाद हुसैनको संगीतमा बनेको फिल्म ‘संगदिल’ (१९५२) ले उनलाई चिनायो । त्यही वर्ष उनले ‘छम छमा छम’ मा अभिनय पनि गरिन् र ११ मध्ये १० गीत गाइन् ।

May be an image of smiling

त्यसपछि बिमल रोयले उनलाई ‘परिणीता’ (१९५३) मा अवसर दिए । राज कपूरले ‘बूट पॉलिश’ (१९५४) का सबै गीत गाउन लगाएका थिए, जसले उनलाई लोकप्रियता दिलायो ।

१६ वर्षमै विवाह, परिवारसँग दूरी

करियर सुरु हुँदै गर्दा १६ वर्षको उमेरमै उनले बहिनी लता मंगेशकरका सेक्रेटरी गणपत राव भोसलेसँग विवाह गरिन्, जो उनीभन्दा करिब २० वर्ष जेठा थिए । यो विवाह परिवारले स्वीकारेन, जसका कारण दुवै बहिनीबीच दूरी आयो ।

पछि उनले एक अन्तर्वार्तामा भनिन्—

पति पक्षको परिवार रूढिवादी थियो र गायिकालाई स्वीकार्न सकेन । गर्भवती हुँदा उनलाई माइत फर्किन भनियो। यो विवाह लामो समय टिकेन र ११ वर्षपछि उनीहरू छुट्टिए । यस विवाहबाट उनका तीन सन्तान भए ।

आरडी बर्मनसँग दोस्रो विवाह

पहिलो विवाहपछि उनको जीवनमा फेरि प्रेम आयो। उनले संगीतकार आरडी बर्मनसँग विवाह गरिन्, जो उनीभन्दा ६ वर्ष कान्छा थिए। सुरुमा आरडी बर्मनकी आमाले यो सम्बन्ध अस्वीकार गरिन्। तर अन्ततः १९८० मा उनीहरूको विवाह भयो ।

यो जोडीले संगीतमा धेरै यादगार गीतहरू दिए। १९९४ मा आरडी बर्मनको निधनसम्म उनीहरू सँगै रहे ।

२० भाषामा १२ हजार गीत

आशा भोसलेको करियर पाँच दशकभन्दा लामो रह्यो । उनले विभिन्न युगका दिग्गज संगीतकारहरूसँग काम गरिन्, जस्तै— शंकर-जयकिशन, खैय्याम, रवि, सचिन देव बर्मन, आरडी बर्मन, ओपी नैय्यर, इलैयाराजा, बप्पी लहरी र ए.आर. रहमान ।

उनले फिल्म मात्र होइन, एल्बम र एकल गीतहरू पनि गाइन् ।

सबैभन्दा उल्लेखनीय कुरा — उनले २० भन्दा बढी भारतीय र विदेशी भाषामा गीत गाइन् । सन् २००६ मा उनले आफैं करिब १२ हजार गीत गाएको बताएकी थिइन् । उनी ‘ग्रामी अवार्ड’का लागि नामांकन पाउने पहिलो भारतीय गायिका पनि थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?