News Summary
Generated by OK AI. Editorially reviewed.- आसिफ शेखले मधेश प्रदेशमा भइरहेको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलोपटक दोहोरो शतक प्रहार गरेका छन् ।
- एपीएफले ५० ओभरमा ३९० रन बनाउँदै पीएम कप इतिहासकै सर्वाधिक योगफल बनाएको छ ।
- विनोद भण्डारीले १८९ रन बनाएर दोहोरो शतकको नजिक पुग्दा बोल्ड भएका छन् ।
३० चैत, काठमाडौं । यस वर्षको अन्तिम दिन नेपाली क्रिकेटका लागि शानदार रह्यो । वर्षको अन्त्य हुँदाहुँदै नेपाली क्रिकेटकै दुर्लभ कीर्तिमान आज बन्यो ।
मधेश प्रदेशमा भइरहेको पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलबारका दुवै खेलमा केही कीर्तिमानहरू बन्दा तीमध्ये एउटा थियो- आसिफ शेखको दोहोरो शतक ।
वीरगन्जस्थित नारायणी क्रिकेट रंगशालामा आसिफ शेखले पीएम कप इतिहासकै पहिलो दोहोरो शतक बनाएका हुन् । नेपाली घरेलु क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण प्रतियोगिता समेत रहेको पीएम कपमा शतकहरू बन्ने गरेको भएपनि दोहोरो शतक पहिलोपटक बनेको हो ।
विश्व क्रिकेटमै दोहोरो शतक दुर्लभ हुने गर्छ, विशेषगरी ५० ओभरको खेलमा । त्यसमाथि नेपाली क्रिकेटको यो स्तरको प्रतियोगितामा त शतक नै बन्नु पनि ठूलो कुरा मानिन्छ ।
अझ भनौं मधेश प्रदेशमा देखिएको फरक किसिमको विकेट जहाँ ब्याटरहरू धैर्यता गुमाएर चाँडै आउट हुँदै आएका थिए, टिमले ५० ओभर नै नखेली अलआउट हुने, १०० रन कटाउन पनि मुस्किल हुने अवस्थाका बीच आसिफले संयमित पारी खेल्दै दोहोरो शतक बनाउनु साँच्चै नै अभूतपूर्व हो ।
ट्रिकी पिचमा संयमित पारी
मधेश प्रदेशका जनकपुर र वीरगन्जमा भइरहेको पीएम कपमा बलरहरू हावी भएको देखिँदै आएको थियो । तर सोमबार भने फरक दृश्य देखियो । दुवै खेलमा ३५० भन्दा माथिको योगफल बनेको थियो ।
वीरगन्जमा एपीएफले ५० ओभरमा ४ विकेट गुमाएर ३९० रन बनाएको थियो । यो पीएम कप इतिहासकै सर्वाधिक योगफल थियो । उता जनकपुरमा त्रिभुवन आर्मी क्लबले ३६२ रनको योगफल बनाएको थियो । त्यहाँ पनि झन्डै दोहोरो शतक प्रहार भएको थियो ।
आर्मीका कप्तान विनोद भण्डारीले १८९ रन बनाएका थिए । आर्मीले आफ्नो पीएम कप इतिहासकै उच्च योगफल बनायो । दुवैतर्फको योगफल यसअघिको उच्च योगफलभन्दा बढी हुन् ।
एपीएफको विशाल योगफलमा आसिफले २०८ रन बनाएर रिटायर भएका थिए । १४२ बल खेलेका उनले १५ चौका र १७ छक्का प्रहार गरे ।
यसअघिको व्यक्तिगत उच्च स्कोर एपीएफकै प्रदिप ऐरीको नाममा थियो । उनले सन् २०१८ को पीएम कपमा मधेश प्रदेश (त्यसबेला प्रदेश नं २) विरुद्ध नै उक्त स्कोर बनाएका थिए ।
आसिफले सुरुमा पिच अलिकति कठिन देखिएको तर विस्तारै समय लिएर इनिङ बिल्ड गर्दै लगेको बताए । ‘सुरुमा अलिकति गाह्रो थियो विकेटमा खेल्न, विस्तारै समय लिएर खेल्दै गएपछि इनिङ बिल्ड भयो । दोहोरो शतकको बारेमा सोचेको थिइनँ । समय लिएर खेल्दै गएपछि सजिलो भयो’ आसिफले भने ।
उनले साझेदारी बनाउने नै मुख्य प्राथमिकतामा राखेको बताए । ‘विकेट चाँडै गएको थियो, कप्तान रोहितसँग साझेदारी बनाएर खेल्ने योजना थियो, त्यही अनुसार सफल भयौं’ उनले भने ।
यता अर्को खेलमा विनोद भण्डारी पनि दोहोरो शतकको नजिक पुगेर आउट भए । अन्तिम ओभरको तेस्रो बलमा विनोद आउट भएका थिए । केही महत्त्वाकांक्षी शट प्रयासमा उनी बोल्ड भएका थिए ।
विनोद पीएम कपमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडी समेत हुन् । उनले यसै संस्करणमा आजको सँगै २ शतक बनाएका छन् भने समग्रमा ५ शतक बनाएका छन् ।
विनोदले संक्षिप्त प्रतिक्रिया दिँदै पछिल्लो समय पिचमा धेरै मोइस्चर नभएकाले ब्याट बलमा राम्रोसँग आएको बताए । ‘पानी परेको थिएन धेरै समय, पिच हार्ड थियो अनि बल ब्याटमा राम्रोसँग आयो’ विनोदले भने ।
नेपाली क्रिकेटकै प्रतिष्ठित दोहोरो शतक
आसिफले सोमबार बनाएको दोहोरो शतक कीर्तिमानसँगै नेपाली घरेलु क्रिकेटकै प्रतिष्ठित समेत हो । यसअघि पनि दोहोरो शतक त प्रहार भएका छन् तर जिल्ला छनोट र उमेर समूहको प्रतियोगितामा
यसअघि यो स्तरको प्रतियोगितामा कुनैपनि दोहोरो शतक प्रहार भएका थिएनन् । पीएम कपको जिल्ला तथा प्रदेश सेलेक्सन प्रतियोगिता अनि यू-१६ क्रिकेटमा दोहोरो शतक प्रहार भएका छन् ।
मधेश प्रदेशअन्तर्गत सप्तरी जिल्लाको छनोट खेलका क्रममा कंकालिनी सप्तरीका ब्याटर अमित कुमार यादवले दोहोरो शतक प्रहार गरेका थिए ।
लोहजरा सप्तरीविरुद्धको खेलमा ओपनिङ गरेका अमितले १७५ बलमा २७८ रनको शानदार पारी खेलेका थिए । यस क्रममा उनले ३८ चौका र १२ छक्का प्रहार गरेका थिए ।
त्यस्तै यू-१६ राष्ट्रिय क्रिकेटमा लुम्बिनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा ११७ बल खेलेर १६ चौका र १६ छक्कासहित २१७ रन बनाएका थिए ।
यस्तै सन् २०२१ को पीएम कप छनोटमा ललितपुरबाट खेलेका आदिल खानले २०१ रन बनाएका थिए ।
सन् २००३ मा सप्तरीका खेलाडी मेहबुब आलमले रिजनल लिगअन्तर्गत उदयपुरसँगको खेलमा २५६ रन बनाएका थिए ।
प्रतिक्रिया 4