News Summary
Generated by OK AI. Editorially reviewed.- सनराइजर्स हैदराबादले आईपीएल २०२६ मा राजस्थान रोयल्सलाई ५७ रनले पराजित गरेको छ।
- डेब्यूटान्ट प्रफुल हिंगेले ४ विकेट लिए भने साकिब हुसेनले पनि ४ विकेट लिए।
- राजस्थानले १९ ओभरमा १५९ रनमा अलआउट भयो र हैदराबाद २१६ रन बनाएको थियो।
३० चैत, काठमाडौं । दुई डेब्यूटान्ट प्रफुल हिंगे र साकिब हुसेनले शानदार बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।
सोमबार राति सम्पन्न खेलमा हैदराबादले राजस्थानलाई ५७ रनले पराजित गरेको हो । हैदराबादले दिएको २१७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा १५९ रनमा अलआउट भयो ।
प्रफुलले पहिलो ओभरमै तीन विकेट लिएका लिए । आक्रामक ओपनर वैभव सूर्यवंशीलाई शून्यमै आउट गरेका उनले ध्रुव जुरेल र लुहान्द्रे प्रेटोरियसलाई पनि शून्यमै आउट गरे ।
त्यसपछि यशश्वी जैसवाल साकिब हुसेनको बलमा १ रनमा अनि कप्तान रियान पराग प्रफुलकै बलमा ४ रनमा आउट भएपछि राजस्थान ९-५ को दयनीय अवस्थामा पुगेको थियो ।
त्यहाँबाट डोनोभन फेरेरा र रविन्द्र जडेजा मिलेर शतकीय साझेदारी गरे । यी दुई मिलेर छैटौं विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए । फेरेराले सर्वाधिक ६९ रन बनाए भने रविन्द्र जडेजाले ४५ रन बनाए ।
प्रफुल र साकिब दुवैले ४-४ विकेट लिए । प्रफुलले ४ ओभरमा ३४ रन दिएर ४ विकेट लिए भने साकिबले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । इशान मलिंगाले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २१६ रन बनाएको थियो । कप्तान इशान किशनले ४४ बलमा सर्वाधिक ९१ रन बनाए । हेनरिक क्लासेनले ४० रन बनाउँदा नितिश रेडीले २८ अनि सलिल अरोराले अविजित २४ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिँदा सन्दीप शर्मा, तुशार देशपान्डे र रियान परागले १-१ विकेट लिए ।
प्रतियोगितामा पहिलो हार बेहोरेको राजस्थान ५ खेलमा ८ अंकका साथ शीर्षस्थानमा कायमै छ । हैदराबाद ५ खेलमा ४ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया 4