१ वैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफ्नो नाममा जग्गाजमिन केही नभएको र सामान्य बैंक ब्यालेन्स तथा सुन मात्र रहेको प्रारम्भिक जानकारी दिएका हुन् ।
जनस्तरबाट सम्पत्ति विवरण माग भएपछि त्यसको जवाफ दिने क्रममा मेयर साम्पाङले आफ्नो नाममा अचल सम्पत्ति शून्य रहेको दाबी गरेका छन् । ‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ, केही दिनपछि दिउँला,’ उनले भनेका छन्, ‘मेरो नाममा केही छैन । वैदेशिक रोजगारीबाट जोडेको ४–५ तोला सुन होला । बैंक ब्यालेन्स २–४ लाख होला, म सार्वजनिक गर्नेछु ।’
उनले पैतृक सम्पत्तिका रूपमा खोटाङमा केही खेतबारी मात्र रहेको र त्यो पनि आमाको नाममा रहेको खुलाएका छन् ।
खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा भिरालो पाखा, खरबारी, बाँस र उत्तिसघारीसहितको केही खेतबारी आमाको नाममा रहेको उनले बताएका छन् । बाउबाजेले कमाएको उक्त पैतृक सम्पत्तिमा दाजुदिदीले समेत अहिलेसम्म अंश नलिएको साम्पाङले उल्लेख गरेका छन् ।
जनप्रतिनिधिहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था र नागरिक स्तरबाट उठिरहेका प्रश्नलाई सम्बोधन गर्दै उनले औपचारिक रूपमै विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रतिक्रिया 4