News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री तथा निर्मात्री पूजा शर्माले नयाँ वर्ष २०८३ को पहिलो दिनमा फिल्म 'रत्यौली' निर्माणको घोषणा गरिन्।
- फिल्म 'रत्यौली'मा पूजा शर्मा र अभिनेता विजय बरालले पहिलो पटक जोडी बाँध्नेछन्।
- सुरज आचार्यले निर्माण गर्ने फिल्म मुस्कान ढकालको निर्देशनमा बन्नेछ।
काठमाडौं । नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा अभिनेत्री तथा निर्मात्री पूजा शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् ।
नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको निर्माणमा तयार हुन लागेको फिल्मको नाम ‘रत्यौली’ राखिएको छ । यो फिल्ममा पूजा र अभिनेता विजय बरालको जोडी बाँधिने पक्का भएको छ । विजय र पूजाले फिल्मको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् ।
मुस्कान ढकालको निर्देशनमा तयार हुने यो फिल्मलाई सुरज आचार्यले निर्माण गर्दैछन् । १ सय भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका आचार्यले सुपरहिट भारतीय फिल्ममा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् ।
उनले, ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम’ लगायतका फिल्ममा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् । उनै, सुरज ‘रत्यौली’ निर्माणमा अगाडि सरेका हुन् ।
३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह-निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् । सार्वजनिक पोष्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ ।
पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ । यसबाट पनि फिल्म रमाइलो बन्ने विश्वास गर्न सकिन्छ । फिल्मको बिषयमा अरु केही पनि खुलाइएको छैन । पहिलो पटक फिल्मको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासो रुपमा रहने पक्का देखिएको छ ।

प्रतिक्रिया 4