+

आईपीएल डेब्यूको पहिलो ओभरमै तीन विकेट लिएर चम्किएका प्रफुल हिंगे

२०८३ वैशाख  १ गते १५:१८ २०८३ वैशाख १ गते १५:१८
आईपीएल डेब्यूको पहिलो ओभरमै तीन विकेट लिएर चम्किएका प्रफुल हिंगे

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका युवा फास्ट बलर प्रफुल हिंगेले आईपीएल डेब्यू खेलमै पहिलो ओभरमा तीन विकेट लिएर नयाँ कीर्तिमान बनाएका छन्।
  • हिंगेले सनराइजर्स हैदराबादबाट खेल्दै राजस्थान रोयल्सविरुद्ध ४ ओभरमा ३४ रन खर्चेर ४ विकेट लिए।
  • उनको सफलतामा पूर्व भारतीय पेस बलर प्रशान्त वैद्य र एमआरएफ पेस फाउन्डेसनको भूमिका महत्वपूर्ण रहेको छ।

१ वैशाख, काठमाडौं । भारतका युवा फास्ट बलर प्रफुल हिंगेले आफ्नो पहिलो आईपीएल खेलमै ऐतिहासिक प्रदर्शन गर्दै क्रिकेट संसारको ध्यान खिचेका छन् ।

सनराइजर्स हैदराबादबाट खेल्दै सोमबार राजस्थान रोयल्सविरुद्ध आईपीएल डेब्यू गरेका हिंगेले पहिलो ओभरमै तीन विकेट लिँदै कीर्तिमान बनाएका छन् । यसअघि आईपीएल डेब्यू गर्दा पहिलो ओभरमै ३ विकेट कुनै पनि खेलाडीले लिएका छैनन् ।

सोमबारको खेलमा उनले वैभव सूर्यवंशी, ध्रुव जुरेल र लुआन्ड्रे प्रिटोरियसलाई पहिलवो ओभरमै आउट गरेका थिए । आफ्नो दोस्रो ओभर तथा खेलको तेस्रो ओभरमा उनले विपक्षी कप्तान रियान परागलाई पनि आउट गरेपछि आफ्नो पहिलो स्पेल ४ विकेट लिएर समाप्त गरेका थिए ।

सुरुवाती २ ओभरमा ६ रन दिएर ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरेका उनले अन्तिम फिगर भने ४ ओभर, ३४ रन, ४ विकेटका साथ सकाए । उनीसँगै अर्का बलर साकिब हुसेनले पनि ४ विकेट लिएपछि सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई सुरुवातदेखि नै दबाबमा राख्दै ५७ रनले हराएको थियो।

हिंगेको यो सफलता अचानक आएको होइन । उनका बुबा प्रकाश हिंगेका अनुसार उनलाई सुरुमा क्रिकेटमा पठाउने निर्णय सामान्य थियो । नागपुरमा हुर्किएका हिंगेले १३ वर्षको उमेरदेखि क्रिकेट खेल्न थालेका थिए र परिवारले उनलाई जबरजस्ती नगरी आफ्नै बाटो रोज्न दिएको थियो । पछि उनी विदर्भाको अन्डर–१६ टोलीमा परेपछि उनको यात्रा अघि बढ्यो ।

उनलाई पहिचान दिलाउन पूर्व भारतीय पेस बलर प्रशान्त वैद्यको महत्वपूर्ण भूमिका रहेको परिवारले जनाएको छ । वैद्यले उनलाई चेन्नईको एमआरएफ पेस फाउन्डेसनमा पठाउन सुझाव दिएका थिए । त्यहाँ उनीलाई ब्याक इन्जुरीको समस्या हुँदा पनि सुधार गर्दै फिटनेस, टेक्निक र बलिङको लाइन–लेंथमा विशेष प्रशिक्षण दिइयो ।

फाउन्डेसनका कोच एम सेनथिलनाथनका अनुसार हिंगेको बलिङमा सुरुमा ब्याक इन्जुरीको समस्या थियो, तर त्यसलाई सुधार गर्दै उनीलाई पूर्ण रूपमा फिट बनाइएको थियो । साथै उनलाई दबाबमा कसरी खेल्ने र रणनीतिक बलिङ कसरी गर्ने भन्ने पनि सिकाइएको थियो । पूर्व अस्ट्रेलियाली दिग्गज ग्लेन म्याकग्राले पनि उनलाई महत्वपूर्ण मार्गदर्शन दिएका थिए ।

हिंगेले सानै उमेरदेखि अस्ट्रेलियाका प्याट कमिन्सलाई आदर्श मान्दै आएको र उनीसँग ड्रेसिङ रुम सेयर गर्ने सपना रहेको बताएका थिए । अहिले उनै कमिन्स कप्तान रहेको हैरदाबादको टोलीबाट खेल्दै शानदार प्रदर्शन गरे ।

आईपीएल डेब्यूपछि उनले आफूले यस्तो प्रदर्शनको कल्पना पहिले नै गरेको र पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गर्ने आत्मविश्वास रहेको बताएका छन् । उनका अनुसार उनले सधैं पावरप्लेमा दबाब सिर्जना गर्ने लक्ष्य राखेका थिए ।

सामान्य परिवारबाट उठेर कडा मिहिनेत, प्रशिक्षण र आत्मविश्वासका आधारमा आईपीएलसम्म पुगेका हिंगेको यो प्रदर्शन अहिले भारतीय क्रिकेटमा नयाँ सम्भावनाको रूपमा हेरिएको छ।

आईपीएल २०२६ आईपीएल क्रिकेट प्रफुल हिंगे

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय