News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगका पूर्व प्रमुख दिनेश थपलियाद्वारा लिखित 'विचित्रको लोकतन्त्र: गजबको निर्वाचन' पुस्तकले निर्वाचनलाई व्यापक सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रक्रियाको रूपमा पुन:व्याख्या गरेको छ।
- पुस्तकले अमेरिकी निर्वाचन प्रणालीका संरचनात्मक विरोधाभास, दुई दलीय प्रणालीको सीमितता र डिजिटल युगका चुनौतीहरूलाई गहिरो विश्लेषण गरेको छ।
- लेखकले नेपालमा निर्वाचन प्रणाली सुधारका लागि सुझाव दिएका छन् र लोकतन्त्रलाई निरन्तर सुधार र पुनर्निर्माण हुँदै जाने प्रक्रिया भनेर व्याख्या गरेका छन्।
निर्वाचन अयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित विचित्रको लोकतन्त्र: गजबको निर्वाचन भर्खरै बजारमा आएको छ । यो पुस्तकले निर्वाचनलाई केवल एक प्रशासनिक वा प्राविधिक प्रक्रिया (मतदान, मतगणना र परिणाम घोषणा) को साँघुरो परिभाषाभित्र सीमित नगरी त्यसलाई एक व्यापक समाजशास्त्रीय, राजनीतिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रक्रियाका रूपमा पुन:व्याख्या गर्ने प्रयास गरेको छ ।
पुस्तकले निर्वाचनलाई ‘घटनाको रूपमा होइन, प्रक्रियाको रूपमा’ र ‘संख्याको रूपमा होइन, समाजको रूपमा’ बुझ्न आग्रह गर्दछ ।
लेखकले निर्वाचनलाई ‘जीवन्त आख्यान’ र ‘लोकतान्त्रिक रंगमञ्च’ को रूपमा चित्रण गर्दै यसभित्र चल्ने शक्ति–संघर्ष, विचार–प्रतिस्पर्धा, जनभावनाको उतारचढाव र राजनीतिक भविष्यप्रतिको आशा–निराशालाई अत्यन्त सजीव र विश्लेषणात्मक ढंगले प्रस्तुत गरेका छन् । यस दृष्टिकोणले पाठकलाई निर्वाचन केवल मतदान केन्द्रमा हुने गतिविधि मात्र नभई समाजको गहिरो संरचनात्मक सम्बन्धहरूको अभिव्यक्ति हो भन्ने अनुभूति दिलाउँछ ।
पुस्तकको प्रारम्भिक भागमै लेखकले निर्वाचनको सामाजिक राजनीतिक आयामलाई विशेष महत्व दिएका छन् । यस दृष्टिकोणबाट हेर्दा निर्वाचन केवल मतदाताको छनोट होइन, बरु समाजमा विद्यमान वर्ग, जात, लैङ्गिकता, आर्थिक अवस्था, शिक्षा, सूचना पहुँच र राजनीतिक चेतनाको प्रत्यक्ष प्रतिबिम्ब हो ।
लेखकले निर्वाचन प्रक्रियालाई समाजमा चलिरहेको सूक्ष्म शक्ति–सन्तुलनको परिणामका रूपमा व्याख्या गरेका छन् । जनताको मत केवल व्यक्तिगत निर्णय होइन, सामाजिक प्रभाव, सांस्कृतिक मान्यता, पारिवारिक संरचना, मिडियाको प्रभाव र राजनीतिक दलहरूको संगठित रणनीतिबाट निर्मित हुने कुरा पुस्तकले स्पष्ट देखाउँछ ।
यसरी निर्वाचनलाई सामाजिक संरचनासँग जोडेर हेर्दा, पुस्तकले लोकतन्त्रको गहिरो यथार्थ उजागर गर्दछ, जहाँ समान अवसरको आदर्श र वास्तविक असमानता बीच निरन्तर तनाव देखिन्छ ।
यस पुस्तकको अर्को महत्वपूर्ण विश्लेषणात्मक खण्ड अमेरिकी लोकतन्त्रको ‘विचित्र अन्तर्विरोध’ मा केन्द्रित छ । लेखकले विश्वकै पुरानो लोकतन्त्र मानिने संयुक्त राज्य अमेरिकाको निर्वाचन प्रणालीलाई सतही प्रशंसाबाट बाहिर ल्याउँदै यसको संरचनात्मक विरोधाभासहरूलाई गहिराइका साथ उजागर गरेका छन् ।
विशेषत: दुई दलीय प्रणालीको वर्चस्वलाई उनले लोकतन्त्रको सम्भावित सीमितीकरणको रूपमा व्याख्या गरेका छन् । लेखकको अनुसार, यस्तो प्रणालीमा राजनीतिक वैकल्पिक विचारहरूलाई संस्थागत रूपमा स्थान नदिइँदा लोकतन्त्रको बहुलवादी चरित्र कमजोर हुन्छ ।
उनले यस अवस्थालाई ‘राजनीतिक आकाशका दुई विशाल ग्रह’ को रूपमा व्याख्या गर्दै ती दुई शक्तिशाली दलहरूको गुरुत्वाकर्षणले साना दलहरू र वैकल्पिक आवाजहरूलाई कसरी परिधिमा धकेल्छ भन्ने कुरा स्पष्ट गरेका छन् ।
यस सन्दर्भमा पुस्तकले अमेरिकी निर्वाचन प्रणालीको अर्को रोचक पक्ष प्रविधि र परम्पराको सहअस्तित्वलाई पनि उजागर गरेको छ । अत्याधुनिक डिजिटल प्रविधि, इलेक्ट्रोनिक भोटिङ र डाटा विश्लेषणको युगमा समेत केही राज्यहरूमा अझै कागजी मतदान प्रणालीको प्रयोग हुनु अमेरिकी लोकतन्त्रको ‘विचित्र लचिलोपन’ को उदाहरणका रूपमा प्रस्तुत गरिएको छ ।
यसले एकातर्फ प्रणालीको विविधता देखाउँछ भने अर्कोतर्फ सुरक्षा, पारदर्शिता र विश्वसनीयताबारे प्रश्न पनि उठाउँछ । लेखकले यसलाई आधुनिक लोकतन्त्रको जटिलता र ऐतिहासिक परम्परासँगको निरन्तर द्वन्द्वका रूपमा व्याख्या गरेका छन् ।
पुस्तकमा विशेष ध्यान दिइएको अर्को महत्वपूर्ण अवधारणा हो ‘सेफ स्टेट्स’ र ‘स्विङ्ग स्टेट्स’ । यी अवधारणामार्फत लेखकले अमेरिकी निर्वाचन परिणामको अनिश्चितता र क्षेत्रीय राजनीतिक झुकावहरूको विश्लेषण गरेका छन् ।
केही राज्यहरू निश्चित दलप्रति स्थायी रूपमा झुकेका हुन्छन् भने केही राज्यहरू (स्विङ्ग स्टेट्स) निर्वाचन परिणामलाई निर्णायक रूपमा परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । यसले अमेरिकी लोकतन्त्रलाई केवल राष्ट्रियस्तरको होइन, क्षेत्रीय संरचनाको आधारमा बुझ्नुपर्ने आवश्यकता देखाउँछ ।
लेखकको विश्लेषण अनुसार, यी राज्यहरू केवल भौगोलिक इकाइ मात्र होइनन्, बरु राजनीतिक मनोविज्ञानका सूचक हुन्, जसले मतदाताको अस्थिरता, मुद्दा–केन्द्रित निर्णय र परिवर्तनशील राजनीतिक चेतनालाई प्रतिनिधित्व गर्छन् ।
पुस्तकको अर्को अत्यन्त महत्वपूर्ण र समसामयिक विषय निर्वाचन खर्च र सुशासनको प्रश्न हो । लेखकले निर्वाचन प्रक्रियामा हुने विशाल आर्थिक लगानी, विशेषगरी अरबौँ डलरको खर्च र त्यससँग जोडिएको अपारदर्शी चन्दा प्रणालीलाई लोकतन्त्रको मूल चुनौतीका रूपमा चित्रण गरेका छन् । उनले निर्वाचनलाई केवल ‘लोकतान्त्रिक मूल्यको उत्सव’ मात्र नभई ‘शक्ति, सम्पत्ति र संसाधनको तीव्र प्रतिस्पर्धा’ को रूपमा व्याख्या गरेका छन् ।
यो दृष्टिकोणले लोकतन्त्रको आदर्श स्वरूप र व्यवहारिक यथार्थ बीचको गहिरो खाडललाई उजागर गर्दछ । पैसाको प्रभावले निर्वाचनलाई विचार–केन्द्रित प्रतिस्पर्धाबाट ब्रान्डिङ, प्रचार र आर्थिक शक्तिको खेलमा रूपान्तरण गर्ने खतरा पुस्तकले स्पष्ट रूपमा देखाएको छ ।
लेखकको चिन्ता विशेषत: ‘धनशक्ति’ को बढ्दो प्रभावमा केन्द्रित छ । उनका अनुसार, जब राजनीति अत्यधिक महँगो हुन्छ, तब सामान्य नागरिक, वैकल्पिक विचार र कमजोर आर्थिक पृष्ठभूमिका व्यक्तिहरू राजनीतिक प्रतिस्पर्धाबाट स्वत: बाहिरिन्छन् । यसले लोकतन्त्रको समान अवसरको सिद्धान्तलाई कमजोर बनाउँछ ।
निर्वाचन जित्नका लागि विचारभन्दा बढी स्रोत–साधन, प्रचार–प्रसार र नेटवर्किङ महत्वपूर्ण बन्ने प्रवृत्तिले लोकतन्त्रलाई नै व्यापारिक प्रतिस्पर्धामा रूपान्तरण गर्ने खतरा उत्पन्न हुन्छ । लेखकको यो विश्लेषण केवल अमेरिकी सन्दर्भमा सीमित नभई विश्वव्यापी लोकतान्त्रिक अभ्यासका लागि पनि उत्तिकै सान्दर्भिक छ ।
डिजिटल युगमा प्रवेशसँगै निर्वाचन प्रक्रियामा देखा परेका नयाँ चुनौतीहरूलाई पनि पुस्तकले गहिरो रूपमा विश्लेषण गरेको छ । विशेषत: मिथ्या सूचना, गलत प्रचार, सामाजिक सञ्जालको दुरुपयोग र कृत्रिम बौद्धिकताको प्रयोगले निर्वाचनको विश्वसनीयता र निष्पक्षतामा पार्ने प्रभावबारे लेखकले गम्भीर चेतावनी दिएका छन् ।
उनले यस अवस्थालाई ‘लोकतन्त्र र प्रविधिको अग्निपरीक्षा’ भनेर वर्णन गरेका छन् । डिजिटल माध्यमहरू लोकतन्त्रलाई सशक्त बनाउन पनि सक्छन् र कमजोर पनि पार्न सक्छन् भन्ने द्विविधालाई पुस्तकले अत्यन्त सन्तुलित रूपमा प्रस्तुत गरेको छ । यस सन्दर्भमा लेखकले डिजिटल साक्षरता, सूचना सुरक्षा नीति र नागरिक चेतनाको विकासलाई अपरिहार्य तत्वका रूपमा जोड दिएका छन् ।
नेपाल जस्तो विकासशील लोकतन्त्रका लागि यो पुस्तक विशेष रूपमा सान्दर्भिक छ । लेखकले आफ्नो अनुभव र अवलोकनका आधारमा नेपालमा निर्वाचन प्रणाली सुधारका लागि महत्त्वपूर्ण सुझावहरू दिएका छन् ।
निर्वाचन आयोगको संस्थागत स्वायत्तता, राजनीतिक दलभित्र आन्तरिक लोकतन्त्रको अभाव, निर्वाचन खर्चको अनियन्त्रित वृद्धि, तथा मतदाताको सचेतनामा देखिएको कमजोरी जस्ता विषयहरू पुस्तकमा गहिरो विश्लेषणका साथ प्रस्तुत गरिएको छ ।
लेखकले नेपाल र अन्तर्राष्ट्रिय अभ्यासबीच तुलना गर्दै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ परिष्कृत गर्न सकिने सम्भावनाहरू पनि देखाएका छन् । पुस्तकले विशेषगरी नेपालमा देखिने राजनीतिक अस्थिरता, बारम्बार हुने सरकार परिवर्तन, र निर्वाचनपछिको जनअपेक्षा र यथार्थबीचको खाडललाई पनि संकेत गर्दछ ।
यसले निर्वाचन केवल सरकार गठनको प्रक्रिया मात्र नभई राजनीतिक स्थायित्व, नीति निर्माण र शासन प्रणालीको गुणस्तरसँग प्रत्यक्ष रूपमा जोडिएको देखाउँदछ । लेखकले लोकतन्त्रलाई निरन्तर सुधार हुँदै जाने प्रक्रियाका रूपमा प्रस्तुत गर्दै यसमा नागरिक सहभागिता, संस्थागत सुधार र पारदर्शिताको आवश्यकता अपरिहार्य रहेको निष्कर्ष निकालेका छन् ।
पुस्तकले लोकतन्त्र र निर्वाचनका समकालीन चुनौतीहरूलाई गहिरो विश्लेषणात्मक दृष्टिले अध्ययन गरेको छ । लेखकले पुस्तकको मूल उद्देश्य नै लोकतन्त्रका विविध आयामहरू, निर्वाचन प्रक्रियामा देखापरेका समस्या तथा विश्वव्यापी राजनीतिक प्रवृत्तिहरूको मूल्यांकन गर्नु रहेको स्पष्ट गरेका छन् । विशेषगरी, वर्तमान विश्वमा देखिएका लोकतान्त्रिक अभ्यासका कमजोरीहरूलाई उजागर गर्दै ‘उन्नत लोकतन्त्र’ नै यसको विकल्प र सुधारको मार्ग हो भन्ने निष्कर्ष पुस्तकले प्रस्तुत गरेको छ ।
पुस्तकमा पारदर्शी, स्वच्छ र स्वतन्त्र निर्वाचनलाई लोकतन्त्रको आधारभूत स्तम्भका रूपमा चित्रण गरिएको छ । लेखकले निर्वाचन प्रणालीमा देखिएका विकृति, राजनीतिक हस्तक्षेप तथा जनविश्वासमा आएको गिरावटलाई गम्भीर रूपमा विश्लेषण गर्दै सुधारका आवश्यक उपायहरूबारे चर्चा गरेका छन् ।
अन्तिम अध्याय विशेष रूपमा महत्वपूर्ण छ । जसमा सन् २०२४ मा विश्वका ७६ देशमा भएका निर्वाचनहरूको अध्ययन गरिएको छ । उक्त निर्वाचनहरुको तथ्यको आधारमा लेखकले विश्वव्यापी लोकतान्त्रिक सहभागिताको वर्तमान अवस्था र यसको चुनौतीहरूलाई उजागर गरेका छन् ।
पुस्तकले दक्षिणपन्थी लोकप्रियतावादको उदय र यसले लोकतन्त्रमा पारेको प्रभावलाई पनि गहिरो रूपमा विश्लेषण गरेको छ । यसले कतिपय देशहरूमा लोकतान्त्रिक संस्थाहरू कमजोर हुँदै गएको र जनमतमा ध्रुवीकरण बढ्दै गएको पक्षलाई स्पष्ट रूपमा देखाएको छ ।
साथै, लेखकले लोकतन्त्रलाई अझ सुदृढ, उत्तरदायी र जनमुखी बनाउने आवश्यकता औँल्याएका छन् । पुस्तकको अर्को महत्वपूर्ण पक्ष भनेको विश्वका विभिन्न वैचारिक ‘वाद’ हरूको समीक्षा हो । लेखकले विभिन्न राजनीतिक प्रणालीहरूको कमजोरीहरू देखाउँदै अन्तत: लोकतन्त्र नै सबैभन्दा स्वीकार्य र व्यवहारिक प्रणाली हो भन्ने निष्कर्ष प्रस्तुत गरेका छन् ।
तर, वर्तमान चुनौतीहरूलाई ध्यानमा राख्दै लोकतन्त्रलाई सुधार र पुन:संरचना गर्नुपर्ने आवश्यकता पनि पुस्तकले जोड दिएको छ । लेखकले लोकतन्त्रलाई केवल राजनीतिक प्रणाली मात्र नभई नागरिक र राज्यबीचको निरन्तर संवादका रूपमा बुझ्नुपर्ने सुझाव दिएका छन् ।
नागरिकको अपेक्षा, निर्वाचनको स्वरूप र लोकतान्त्रिक अभ्यास कस्तो हुनुपर्छ भन्ने विषयमा २० वटा महत्वपूर्ण सुझावहरू प्रस्तुत गरिएको छ, जुन नीति निर्माता, अनुसन्धानकर्ता तथा सामान्य पाठक सबैका लागि उपयोगी छन् ।
अन्त्यमा यो पुस्तक कम्तीमा दश वटा महत्वपूर्ण कारणले संग्रहणीय बनेको छ । पहिलो, पुस्तकले लोकतन्त्रका सैद्धान्तिक आदर्शहरू र व्यवहारिक यथार्थबीच देखिने गहिरो अन्तरलाई अत्यन्त रोचक, सूक्ष्म र आलोचनात्मक ढंगले उजागर गरेको छ ।
सिद्धान्तमा सुन्दर देखिने लोकतन्त्र व्यवहारमा किन अपेक्षित रूपमा कार्यान्वयन हुन सक्दैन भन्ने प्रश्नलाई यसले सरल तर प्रभावकारी शैलीमा प्रस्तुत गरेको छ, जसले पाठकलाई सोच्न बाध्य बनाउँछ ।
दोस्रो, निर्वाचनसँग सम्बन्धित विविध गतिविधिहरू जस्तै प्रचार शैली, राजनीतिक गठबन्धन निर्माण, मतदाताको व्यवहार र मनोविज्ञानलाई पुस्तकले जीवन्त र यथार्थपरक ढंगले चित्रण गरेको छ ।
यसले निर्वाचन केवल औपचारिक प्रक्रिया मात्र नभई शक्ति, रणनीति र जनभावनासँग जोडिएको जटिल सामाजिक अभ्यास हो भन्ने कुरा स्पष्ट पार्छ ।
तेस्रो, वर्तमान राजनीतिक तथा सामाजिक अवस्थाको गहिरो प्रतिबिम्ब पुस्तकमा पाइन्छ । विशेषगरी नेता र मतदाता बीचको सम्बन्ध, विश्वासको निर्माण र त्यसको क्षय, तथा राजनीतिक संवादको वास्तविक अवस्थालाई सूक्ष्म रूपमा चित्रण गरिएको छ, जसले समाजको यथार्थ चित्र प्रस्तुत गर्दछ ।
चौथो, लोकतन्त्र र निर्वाचनसँग सम्बन्धित जटिल सैद्धान्तिक, व्यवहारिक र प्रणालीगत पक्षहरूलाई पुस्तकले अत्यन्त सरल, आकर्षक र सहज भाषामा समेटेको छ । कठिन राजनीतिक अवधारणाहरूलाई सामान्य पाठकले पनि बुझ्न सक्ने गरी प्रस्तुत गर्नु यसको महत्वपूर्ण विशेषता हो, जसले यसको पहुँचलाई व्यापक बनाएको छ ।
पाँचौं, निर्वाचन प्रक्रियाको गहिरो र साहसिक विश्लेषण पुस्तकको अर्को बलियो पक्ष हो । यसले केवल प्रक्रियागत पक्ष मात्र होइन, त्यससँग जोडिएका सामाजिक, मनोवैज्ञानिक र नैतिक आयामहरूलाई उजागर गरेको छ ।
साथै, नागरिक सचेतना अभिवृद्धि गर्ने खालका सामग्रीहरू समावेश गरी यसले लोकतान्त्रिक अभ्यासलाई अझ जिम्मेवार बनाउन प्रेरित गर्छ ।
छैटौं, पुस्तकले लोकतन्त्र र निर्वाचनका विसंगत पक्षहरूलाई खुलेर उल्लेख गर्दै सुधारका सम्भावित दिशाहरूको पनि संकेत गरेको छ । विद्यमान कमजोरीहरूको आलोचनामात्र होइन, भविष्यका लागि आवश्यक संरचनात्मक र नीतिगत खाकाको कल्पना समेत यसले प्रस्तुत गरेको छ, जसले यसलाई दूरदर्शी बनाएको छ ।
सातौं, ‘लोकतन्त्र किन विचित्र बन्दैछ ?’ वा ‘निर्वाचन किन अस्वाभाविक बन्दैछ ?’ जस्ता प्रश्नहरू उठाउँदै पुस्तकले पाठकको जिज्ञासा बढाउने, आलोचनात्मक चेत जगाउने र उत्तर खोज्ने बौद्धिक वातावरण निर्माण गरेको छ । यसले लोकतान्त्रिक अभ्यासप्रति सतही बुझाइभन्दा गहिरो विश्लेषणतर्फ डोर्याउँछ ।
आठौं, पुस्तकको प्रस्तुति शैली अत्यन्त सरल, मौलिक र सर्वसाधारणदेखि बौद्धिक पाठकसम्म सबैका लागि उपयोगी छ । राजनीतिक चेतना अभिवृद्धि गर्ने सामग्रीहरू सहज भाषामा प्रस्तुत गरिएकाले यो पुस्तक विभिन्न वर्ग, उमेर र पृष्ठभूमिका पाठकका लागि समान रूपमा उपयोगी बन्न पुगेको छ ।
नवौं, निर्वाचनको समयमा राजनीतिक दलहरूले जनतामा जगाउने आशा, देखाउने आकर्षक तर कहिलेकाहीँ कृत्रिम तमासा, र निर्वाचनपछि क्रमश: कमजोर हुँदै जाने भरोसाको गहिरो विश्लेषण पुस्तकमा गरिएको छ । यसले पाठकलाई राजनीतिक यथार्थप्रति सचेत बनाउँदै आलोचनात्मक दृष्टिकोण विकास गर्न प्रेरित गर्छ, जसका कारण पुस्तक केवल पढ्ने सामग्री मात्र नभई सोच्ने र प्रश्न गर्ने माध्यम समेत बनेको छ ।
दशौ, पुस्तकले लोकतन्त्रप्रति विश्वास गर्ने व्यक्तिहरूमा उत्साह प्रदान गर्दछ । यसले पाठकलाई लोकतान्त्रिक मूल्य, निर्वाचन प्रणाली र समकालीन राजनीतिक अभ्यासबारे गहिरो बुझाइ प्रदान गर्छ, जसले उनीहरूलाई थप सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्छ ।
यसैगरी राजनीतिक दलहरुलाई यसले निर्वाचन रणनीति निर्माणमा सहयोग पुर्याउने विभिन्न विश्लेषणात्मक दृष्टिकोणहरू प्रस्तुत गर्दछ । त्यस्तै, मतदाताहरूका लागि कुन आधारमा मतदान गर्ने भन्ने विषयमा स्पष्टता प्रदान गर्दै सूचित निर्णय लिन मद्दत गर्छ ।
लोकतन्त्रलाई कसरी पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन सकिन्छ भन्ने बारेमा व्यावहारिक बुझाइ दिन्छ । यसले अनुसन्धानकर्ता, विद्यार्थी तथा पर्यवेक्षकहरूलाई पनि लोकतान्त्रिक प्रक्रिया र निर्वाचन प्रणालीबारे शिक्षा दिने महत्वपूर्ण स्रोतको रूपमा काम गर्छ ।
लेखक दिनेश थपलियाको यो कृति केवल निर्वाचनसम्बन्धी संस्मरण वा अनुभवको संग्रह मात्र होइन, बरु लोकतन्त्रको बहुआयामिक विश्लेषण गर्ने एक गम्भीर बौद्धिक दस्तावेज हो । यसले निर्वाचनलाई समाज, अर्थतन्त्र, प्रविधि र संस्कृति सबैसँग जोडेर हेर्ने व्यापक दृष्टिकोण प्रस्तुत गर्दछ ।
पुस्तकको सबैभन्दा महत्वपूर्ण सन्देश भनेको लोकतन्त्र कुनै स्थिर, पूर्ण वा अन्तिम प्रणाली होइन; यो निरन्तर सुधार, संघर्ष र पुनर्निर्माण हुँदै जाने प्रक्रिया हो । यस प्रक्रियामा चुनौतीहरू अनिवार्य हुन्छन्, तर तिनै चुनौतीहरूले लोकतन्त्रलाई अझ परिष्कृत र उत्तरदायी बनाउँछन् ।
अत:, यो पुस्तक समाजशास्त्र, राजनीतिशास्त्र, सार्वजनिक प्रशासन, नीति अध्ययन र लोकतान्त्रिक अभ्यासका विद्यार्थी, शोधकर्ता, नीति–निर्माता तथा सामान्य पाठक सबैका लागि उपयोगी र प्रेरणादायी सामग्री हो ।
यसले निर्वाचनलाई केवल राजनीतिक घटना नभई मानव समाजको गहिरो संरचनात्मक यथार्थको रूपमा बुझ्न मद्दत गर्दछ । लोकतन्त्रको भविष्यबारे चिन्तन गर्न चाहने जो कोहीका लागि यो कृति एक महत्वपूर्ण सैद्धान्तिक र व्यवहारिक मार्गदर्शक बन्न सक्छ ।
पुस्तकको नाम : वित्रिको लोकतन्त्र: गजबको निर्वाचन
लेखक: दिनेश थपलिया
प्रकाशक: सांग्रिला बुक्स
मुल्य: ७५० । पेज: ३४६ ।
प्रतिक्रिया 4