+
+
Shares

जगदम्बा होल्डिङ्सले भन्यो : कानुनी प्रक्रिया मान्छौँ, आवश्यक परे सुधारात्मक कदम चाल्छौँ

अध्यक्ष सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा क्रममा पक्राउ परेपछि जगदम्बा होल्डिङ्सले भन्यो : अनुसन्धान जारी छ, अन्तिम न्यायिक निर्धारण भइसकेको छैन, त्यसैले हतारमा निष्कर्ष ननिकालिदिनुहोला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३ गते १२:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जगदम्बा होल्डिङ्सले सम्पत्ति शुद्धीकरण अनुसन्धानमा कानुनी र नियामकीय प्रक्रियालाई सम्मान गर्ने जनाएको छ।
  • अध्यक्ष सुलभ अग्रवाल पक्राउ परेपछि होल्डिङ्सले अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।
  • कम्पनीले आर्थिक विकासमा योगदान र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ गर्ने योजना रहेको जनाएको छ।

३ वैशाख, काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा होल्डिङ्सले सरकारका निकायले गरिरहेको अनुसन्धानका विषयमा कानुनी र नियामकीय प्रकृयालाई सम्मान गर्ने बताएको छ । सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धानका क्रममा अध्यक्ष सुलभ अग्रवाल पक्राउ परेपछि होल्डिङ्सले यस्तो विज्ञप्ति जारी गरेको हो ।

विभिन्न सञ्चार माध्यममा उल्लिखित आर्थिक कारोबार तथा सम्बन्धित विषयहरू हाल सम्बन्धित नियामक तथा अनुसन्धान निकाय समक्ष बिचाराधीन अवस्थामा रहेको र यो प्रक्रियामा पूर्ण सहयोग गर्ने होल्डिङ्सले जनाएको छ । तर कानुनी प्रक्रियाको अन्तिम निष्कर्ष नआएसम्म अपुष्ट जानकारीमा आधारित हतारो निष्कर्ष ननिकाली धैर्यता र संयमता अपनाइदिनुहुन पनि होल्डिङ्सले सरोरकारवालालाई अनुरोध गरेको छ ।

‘कानुनको शासनमा दृढ विश्वास राख्ने एक जिम्मेवार संस्थाको नाताले जगदम्बा होल्डिङ्सले जारी कानुनी तथा नियामकीय प्रक्रियालाई पूर्ण सम्मान गर्दै, सम्बन्धित निकायहरूले माग गरेका सम्पूर्ण कागजात, तथ्यांक तथा सूचना उपलब्ध गराई पूर्ण सहयोग गर्ने आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दछौं’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस चरणमा अनुसन्धान प्रक्रिया अझै जारी रहेको र कुनै अन्तिम निष्कर्ष निर्धारण नभइसकेको उसले जनाएको छ । ‘सत्यतथ्य स्थापना गर्ने अधिकार न्यायिक तथा कानुनी प्रक्रियामा नै निहित छ र सोही प्रक्रियाबाट आउने जुनसुकै निष्कर्षलाई हामी पूर्ण सम्मान गर्नेछौँ । प्रचलित कानुनअनुसार कुनै कमजोरी वा त्रुटि देखिएमा, आवश्यक सुधारात्मक कदम चाल्न र कानुन बमोजिम जिम्मेवारी वहन गर्न हामी प्रतिबद्ध छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।

दशकौंदेखि जगदम्बा होल्डिङ्सका पोर्टफोलियो कम्पनीहरूले नेपालको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको कम्पनीले उल्लेख गरेको छ । औद्योगिक लगानी, आफ्ना पोर्टफोलियो कम्पनीहरूमा हजारौं रोजगारी सिर्जना, औद्योगिक तथा व्यावसायिक पूर्वाधार विस्तार, तथा राष्ट्रिय कर राजस्व तथा संकलनमा सार्थक योगदानका माध्यमबाट होल्डिङ्सले मुलुकलाई योगदान गरेको जनाएको छ ।

‘हालको परिस्थितिबाट उत्पन्न भएका चिन्ताप्रति हामी पूर्णतः संवेदनशील छौँ र व्यवसायिक सञ्चालनको निरन्तरता सुनिश्चित गर्न तथा सम्पूर्ण सरोकारवालाहरूको हित संरक्षण गर्न हामी बैंकहरू, नियामक निकाय र सम्बन्धित सरकारी संस्थाहरूसँग नजिकबाट समन्वय गरिरहेका छौँ’ उसले भनेको छ ।

सुशासन, पारदर्शिता र नैतिक व्यावसायिक आचरण आफ्ना प्रमुख मूल्य मान्यता रहेको र यी मापदण्डहरूलाई अझ सुदृढ बनाउन दृढसंकल्पित रहेको पनि होल्डिङ्सले जनाएको छ । आवश्यक परेमा समूहभित्र रहेका सम्पूर्ण संस्थाहरूमा आन्तरिक नियन्त्रण प्रणाली तथा प्रक्रियाहरूमा सुधार गर्दै, सुदृढ आन्तरिक नियन्त्रण तथा अनुपालन संयन्त्र लागू गर्ने पनि कम्पनीले जनाएको छ ।

‘यस कठिन र संवेदनशील समयमा हाम्रा साझेदार, लगानीकर्ता, कर्मचारी, ग्राहक तथा शुभचिन्तकहरूले देखाउनुभएको विश्वास र धैर्यप्रति हामी हार्दिक आभार व्यक्त गर्दछौं’ होल्डिङ्सले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?