३ वैशाख, काठमाडौं । स्वीकृति नलिइकन आयोजना गर्न लागिएको आईभीएफ सम्बन्धी कार्यक्रममा पुगी नेपाल मेडिकल काउन्सिलले छानबिन गरेको छ । काठमाडौंस्थित याक एण्ड यति होटलमा हुन लागेको कार्यक्रममा अनुगमन तथा छानबिन गरिएको नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. सतिसशकुमार देवले जानकारी दिए ।
एआरटी रेन्बो आईभीएफको आयोजनामा बिहीबार चिकित्सा शिविर तथा परामर्श कार्यक्रम हुने भनी प्रचार गरिएको थियो । भारतीय चिकित्सकहरूको संलग्नतामा शिविर सञ्चालन गरिएको थियो ।
विदेशी चिकित्सक संलग्न हुने कुनै पनि स्वास्थ्य सेवा, परामर्श कार्यक्रम वा शिविर सञ्चालन गर्नुअघि नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।
कुनै स्वीकृति नलिई कार्यक्रम गर्न लागेको जानकारी पाएपछि काउन्सिलले शिविर रोक्न भनी जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई पत्राचार गरेको थियो ।
उक्त शिविर सञ्चालन हुने कुरा सामाजिक सञ्जालमार्फत थाहा पाएपछि यसलाई गम्भीर रूपमा लिँदै बिहीबार स्थलगत अनुगमन तथा आवश्यक छानबिन गरिएको डा. देवले बताए । उनका अनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंसँग समन्वय गरी छानबिन गरिएको हो ।
उक्त कार्यक्रममा संलग्न भारतीय चिकित्सकहरू डा.जयदीप मल्ह्रोत्रा र डा.नरेन्द्र मल्ह्रोत्रासँग छलफल गरिएको डा. देवले जानकारी दिए।
उनीहरूले कार्यक्रम सञ्चालनसम्बन्धी आवश्यक कानुनी प्रक्रियाको बारेमा पर्याप्त जानकारी नभएको भनी क्षमायाचना गरेका छन् । साथै भविष्यमा नेपाल मेडिकल काउन्सिलका प्रचलित कानुनी प्रावधानहरूको पूर्णपालना गर्ने प्रतिबद्धता समेत जनाएको डा.देवले जानकारी दिए ।
आगामी दिनमा यस्ता कार्यक्रम गर्दा प्रचलित ऐन, नियमावली तथा आचारसंहिताको पूर्ण पालना गर्न चिकित्सक तथा सम्बन्धित संस्थाहरूलाई काउन्सिले आग्रह गरेको छ ।
प्रतिक्रिया 4