+

ऐतिहासिक खेलअघि नेपाली टोलीमा कप्तान सहित उल्लेख्य परिवर्तन

२०८३ वैशाख  ४ गते १७:१८ २०८३ वैशाख ४ गते १७:१८

नेपालमा रातको समयमा फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल हुँदैछ । यस खेलका लागि नेपालको टोलीमा उल्लेख्य परिवर्तन समेत भएको छ ।

ऐतिहासिक खेलअघि नेपाली टोलीमा कप्तान सहित उल्लेख्य परिवर्तन

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले यूएईसँग घरेलु मैदानमा पहिलोपटक रातको फ्लडलाइटमा अन्तर्राष्ट्रिय टी-२०आई खेल खेल्दैछ ।
  • टी-२०आई टोलीमा कप्तान दीपेन्द्रसिंह ऐरी चयन भएका छन् भने नियमित कप्तान रोहित पौडेल १५ सदस्यीय टोलीमा परेका छैनन् ।
  • सोमपाल कामी र करण केसी टी-२०आई टोलीबाट बाहिरिएपछि नेपालको पेस बलिङमा अनुभवको कमी देखिनेछ ।

४ वैशाख, काठमाडौं । नेपाली क्रिकेट टोलीले आगामी सोमबार र मंगलबार यूएईसँग घरेलु मैदानमा दुई खेलको टी-२०आई शृंखला खेल्दै छ ।

नेपाली क्रिकेटका लागि यी दुई खेलको शृंखला ऐतिहासिक हुनेछ किनभने नेपालमा रातको समयमा फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल हुँदैछ ।

त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले पहिलोपटक घरेलु मैदानमा अन्तर्राष्ट्रिय खेल खेल्दैछ । यस खेलका लागि नेपाली टोलीमा उल्लेख्य परिवर्तन समेत गरिएको छ ।

टी-२० विश्वकपसम्म नेपाली टोलीको कप्तानी गरेका रोहित पौडेल यी दुई खेलका लागि १५ सदस्यीय टोलीमै परेका छैनन् । कप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाएका छन् । यसअघि दीपेन्द्र उपकप्तान रहँदै आएका थिए ।

रोहित ओडीआई टोलीको कप्तान भने कायमै छन् । दीर्घकालीन योजनाअनुसार नै दुई फरक कप्तान चयन गरिएको नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

‘अहिलेलाई क्यानको निर्णय दीर्घकालीन योजनाअनुसार नै हो । रोहित टी-२०आईको टिममै नपरेको कुरा पनि सेलेक्सन कमिटीकै निर्णय हो । हाललाई ओडीआईको कप्तान चाहिँ रोहित नै हो’ लामाले अनलाइनखबरसँग भने ।

नेपाली क्रिकेटमा पहिलोपटक दुई फर्म्याटको छुट्टाछुट्टै कप्तान चयन भएका हुन् । त्यसमाथि समग्र टिममा नै उल्लेख्य परिवर्तन भएको हो । नियमित कप्तान रोहित पौडेलसहित अनुभवी सिनियर खेलाडी सोमपाल कामी र करण केसी टी-२०आई टोलीबाट बाहिरिएका छन् । नियमित खेलाडी आसिफ शेख पनि समावेश छैनन् ।

पहिलोपटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय खेल

नेपाली क्रिकेट टोलीले हालसम्म विदेशमा मात्रै रातिमा खेल खेलेको छ । नेपालमा भने हालसम्म रातको समयमा अन्तर्राष्ट्रिय क्रिकेट भएको छैन ।

यूएईसँग अब हुने दुई खेल यही कारण ऐतिहासिक हुनेछ, फ्लडलाइटमा पहिलो अन्तर्राष्ट्रिय खेल हुने भएर । यसअघि नेपालको फ्रेन्चाइज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट फ्लडलाइटमा खेलिएको थियो ।

फ्लडलाइटमा खेल त्यसमाथि पनि बाहिरबाट टिम आएर खेल्नु नेपाली क्रिकेटका लागि गर्विलो विषय हो । ‘हामी पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय सिरिज खेल्दै छौं । सरकारले बनाएको संरचनामा पहिलोपटक खेल हुँदैछ, समग्र क्रिकेटको विकासको लागि यो राम्रो हो’ प्रवक्ता लामाले भने, ‘होम ग्राउन्डमा पहिलोपटक रातिमा खेल्दै छौं । नेपाली क्रिकेटकै लागि गर्वको विषय हो ।’

टिमको सन्तुलन कस्तो ?

नेपालको टी-२०आई टोली पहिलेझैं अलराउन्डरले भरिएको छ । १५ सदस्यीय टोलीमा दुई विकेटकिपर ब्याटर समावेश छन् भने प्रपर ब्याटरका रूपमा सन्दीप जोरा मात्र छन् । बाँकी १२ जनामध्ये कप्तान दीपेन्द्रसहित ८ जना अलराउन्डर छन् भने ४ जना बलर छन् ।

बलरमध्ये २ जना स्पीनर छन् भने २ जना पेसर छन् । नेपालको बलिङ विकल्प भने प्रशस्त देखिन्छ । फूल टाइम बलरका रूपमा नन्दन यादव, हेमन्त धामी, सन्दीप लामिछाने र शाहब आलम छन् ।

बाँकी बलिङ विकल्पका रूपमा कप्तान दीपेन्द्रसहित कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, बसिर अहमद, गुल्शन झा, सन्तोष यादव र शेर मल्ल छन् । यीमध्ये आरिफ र गुल्शन मात्र पेस बलिङ विकल्प हुन् ।

आरिफले पछिल्लो समय खासै बलिङ गरेका छैनन् । त्यसकारण प्लेइङ ११ मा गुल्शनले पनि केही ओभर बलिङ गर्ने देखिन्छ । नेपालको प्लेइङ ११ मा पनि पहिलेभन्दा परिवर्तन देखिने पक्का छ ।

ओपनिङमा कुशल भुर्तेल हुनेछन् भने आसिफको अनुपस्थितिमा उनीसँग लोकेश बमले सुरुवात गर्ने सम्भावना छ । लोकेश र साउदमध्ये एकले खेल्नैपर्ने हुन्छ ।

मिडल अर्डरमा कप्तान दीपेन्द्रसहित सन्दीप जोरा, कुशल मल्ल, गुल्शन झा र आरिफ शेखको विकल्प छ । तल्लोक्रममा सन्तोष यादव र शेर मल्लको विकल्प छ ।

नन्दन यादव र हेमन्त धामी दुवै मुख्य पेस बलरका रूपमा रहनेछन् भने सन्दीप लामिछाने र शाहब आलम दुई स्पीनर हुनेछन् ।

सोमपाल र करण हट्दा पेस बलिङमा अनुभवको कमी

नेपाली क्रिकेटमा लामो समयसम्म करण केसी र सोमपाल कामी दुई मुख्य पेस बलरका रूपमा रहँदै आएका थिए । अब हुने टी-२०आई खेलमा यी दुवै खेलाडी देखिने छैनन् ।

नेपाली क्रिकेटमा लामो समयपछि यी दुई पेस जोडीबिनाको खेल हुने भएको छ । सन् २०१४ को टी-२० विश्वकपदेखि सन् २०२६ को टी-२० विश्वकपसम्म नेपाली टोलीको प्रमुख पेस बलरको दर्जा पाएका सोमपाल कामी अबको केही समय ओडीआई टोलीमा मात्र देखिनेछन् ।

यस्तै अर्का सिनियर खेलाडी करण केसी पनि लामो फर्म्याटका लागि मात्र छानिएका छन् । करण र सोमपाल नेपालका लागि सर्वाधिक विकेट लिने शीर्ष पेस बलरहरू हुन् ।

दुवै मुख्य बलर समावेश नहुँदा नेपालको पेस बलिङमा अनुभवको कमी भने पक्कै देखिने भएको छ । नन्दनले नेपालका लागि १६ टी-२० मात्रै खेलेका छन् भने हेमन्तले डेब्यू नै गर्न बाँकी छ ।

नेपालको टी-२०आई टोली : दीपेन्द्रसिंह ऐरी (कप्तान), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, गुलशन झा, लोकेस बम, सन्दीप लामिछाने, नन्दन यादव, सन्तोष यादव, अर्जुन साउद, हेमन्त धामी, साहब आलम, शेर मल्ल

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
प्रतिक भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय