News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौँको ट्यंगःमा रहेको विष्णु चित्रकार र रवि चित्रकारको घर भूमिगत राजनीतिक जीवनको महत्वपूर्ण केन्द्र थियो।
- २०३२ जेठ १४ र १५ गते विराटनगरमा 'कोअर्डिनेसन केन्द्र' गठन भयो जसमा मुकुन्द न्यौपाने, झलनाथ खनाल, माधव नेपाल लगायत सदस्य थिए।
- विष्णु चित्रकारले नेपालभाषा आन्दोलनलाई निरन्तरता दिएर युनिकोडमा मूल अक्षरहरू समावेश गर्ने अभियान र साहित्यिक कार्यहरू गर्दै आएका थिए।
काठमाडौँको ट्यंगःमा एउटा घर थियो। मेरो भूमिगत राजनीतिक जीवनको समयमा सबैभन्दा बढी आवतजावत हुनेमध्ये एक थियो, त्यो घर।
माधवकुमार नेपाल (भूमिगत नाम– विवेक र रञ्जन) लाई पार्टीको जिम्मेवार नेताको हैसियतमा धेरैपल्ट भेटेकी छु, त्यो घरमा। झलनाथ खनाल (पङ्कज) लाई धेरैपल्ट देख्थेँ। जीवराज आश्रित (कुशल) लगायत केही जिम्मेवार नेताहरूसँग पनि भेट हुन्थ्यो। कुनैकुनै दिन भूमिगत महिलाहरूसँग पनि भेट भइरहन्थ्यो, त्यो घरमा।
एक दिन जीवराज आश्रितले ‘माथिल्लो नेता’ भनेर एक जनासँग त्यही घरमा चिनापर्ची गराउनुभयो। अग्लो शरीर, गोरो वर्ण, चस्मा लगाएका भद्रजस्ता लाग्ने ती नेता थिए, सीपी मैनाली। सीपी तत्कालीन नेकपा मालेका महासचिव हुनुहुन्थ्यो।
एक दिन म त्यो घरमा अनौठो दृश्य देखेँ। एउटा मान्छे उभिएको जस्तो, तर टाउको थिएन। मलाई केही डर लाग्यो। भूतप्रेतको विश्वास त थिएन। नजिक गएर जाँचपरख गर्दा थाहा पाएँ, ती मान्छे मुकुन्द न्यौपाने रहेछन्, शीर्षासन योग गरिरहनुभएको। पछि भेटेर दुवै जना खुब हास्यौँ। त्यो घर धेरै नेताहरूका लागि ‘सेल्टर’ थियो।
एक दिन सात वर्षजतिको एउटा केटोले अनेक प्रश्न गरेर कुनै अर्को मानिसलाई हैरान पारिरहेको देखेँ। ती बालकले कम्युनिस्ट पार्टी, विश्व कम्युनिस्ट आन्दोलन, कम्युनिस्ट देशहरूको सङ्ख्या, पुँजीवादी देशहरूको सङ्ख्या र समाजवादी मुलुकका नामहरूजस्ता प्रश्नहरू गरिरहेका थिए। यसरी प्रश्नहरूको ओइरो लगाउने त्यो बालक ऋषि देवकोटा ‘आजाद’ का छोरा सुवास रहेछन्।
आजादलाई पञ्चायती शासकले हत्या गरेका थिए। बुबाको हत्यापछि आमा गोमा देवकोटा पूर्णकालीन हुने निर्णयमा पुगेपछि सुवास देवकोटालाई त्यो घरमा राखिएको थियो। त्यो बेलासम्म त्यो बालकलाई बाबु मारिएको थाहा थिएन। बालमस्तिष्कमा असर नपरोस् भनेर बाबु मारिएको सूचना उनलाई दिइएको थिएन।
नेपालको राजनीतिक स्वतन्त्रता तथा अधिकारका आन्दोलनहरूमा ठुलो योगदान गरेको छ, त्यो घरले। भूमिगत नेताहरूलाई सेल्टर, राजनीतिक बैठकहरू सञ्चालन, भूमिगत कार्यकर्ताहरूका लागि गाँसबासको व्यवस्था, सूचनाहरू आदानप्रदान गर्ने, डकुमेन्टहरू सुरक्षित गर्नेदेखि लिएर अनेकौँ जिम्मेवारीहरू निर्वाह गरेको छ, त्यो घरले। यसो पनि भन्न सकिन्छ, सङ्घर्षका धेरै कथाहरू, सम्झनाहरू र इतिहासहरूको रचना गरेको छ, त्यो घरले।
त्यो घर र त्यस्तै हजारौँ घरहरूको योगदान नभएको भए सायद अहिलेका पुस्ताले पनि बोल्ने, लेख्ने र अभिव्यक्ति स्वतन्त्रताको माग राखिरहेको हुँदो हो। जुन स्वतन्त्रता नहुँदा त्यो बेला बोलेको वा लेखेकै भरमा हजारौँ आन्दोलनकारीहरूले जेल–नेल भोगेका थिए।
र, त्यो घर थियो– विष्णु चित्रकार र रवि चित्रकारको। विष्णु र म कुनै बेला एउटै पार्टी कमिटीमा थियौँ। म ललितपुर जिल्ला कमिटी सचिवको जिम्मेवारीमा थिएँ भने विष्णु चित्रकार भक्तपुरको। दुवै जना उपत्यका पार्टी समन्वय कमिटीका सदस्य थियौँ।
माले बन्नुपूर्वको ‘कोअर्डिनेसन केन्द्र’ स्थापनाका लागि पनि विष्णुले महत्त्वपूर्ण भूमिका खेलेका थिए। लोकतन्त्र प्राप्तिपछि उदाएका राजनीतिकर्मीहरूले त्यो बेला पार्टी निर्माणका लागि भोगिएका जटिलताहरू, त्याग र बलिदानका बारेमा अनुभूतिसम्म पनि गर्न सकेका छैनन् भन्नु अत्युक्ति नहोला।
पद जिम्मेवारी वहन गर्ने एउटा माध्यम थियो। पदका लागि कोही पनि लालायित थिएनन्। पदहरू जिम्मेवारीसित जोडिन्थे, जिम्मेवारीहरू चुनौती, त्याग र बलिदानसित जोडिन्थे।
बाटोघाटो, टेलिफोनको सुविधा नभएको बेला पार्टीको पूर्वसङ्गठनका रूपमा रहेको ‘कोअर्डिनेसन केन्द्र’ (कोके) निर्माणको एउटा रोचक प्रसङ्ग पनि विष्णुसँग जोडिएको छ।
२०३० सालतिरको कुरा हो। काठमाडौँको प्याफलमा ‘केबी चित्रकार एन्ड कम्पनी’ नामको अडिट कम्पनी थियो, विष्णुको दाजुको। त्यसले विराटनगरको नेपाल बैङ्कको अडिट गर्ने ठेक्का पाएको थियो। त्यो बेला माधव नेपाल त्यही बैङ्कमा काम गर्थे। अडिट गर्न विष्णु चित्रकार र मिलन तुलाधर बैङ्कमा गएको बेला माधव नेपालसँग चिनाजानी भयो।
मिलनको मामाको छोरा भगवानरत्न तुलाधर नेकपा अधीनको युथ कम्युनिस्ट लिगको २०१५ सालमा केन्द्रीय अध्यक्ष थिए। यही सम्बन्धले मिलन पनि वामपन्थी विचारधाराबाट प्रभावित थिए। अडिटको सिलसिलामा तीन जनाबिच वामपन्थी विचारधारा बोक्ने साथीका रूपमा चिनाजानी भयो।
२०३१ जेठ १४ गते तत्कालीन झापा जिल्ला कमिटी र मोरङ क्रान्तिकारी कम्युनिस्ट सङ्गठन (माले) मिलेर एक अपिल निकाले। झापाको नेतृत्व सीपी मैनाली र मोरङको नेतृत्व रामचन्द्र यादव (एक्स) ले गर्दथे। माधव नेपाल मोरङको सङ्गठनसँग आबद्ध भएका थिए।
त्यस ‘अपिल समूह’ लाई सङ्गठनको रूप दिन सीपीले उपत्यका वा त्यसवरिपरिका व्यक्तिलाई पनि ‘कोके’मा सामेल गर्न माधव नेपाललाई खटाए। माधवले मिलन तुलाधरको नाम प्रस्ताव गरे। तर मिलन कहाँ छन् थाहा थिएन।
विष्णुले मिलन दोलखाको सुस्पा क्षमावतीमा पढाउँदै गरेको जानकारी पाए। त्यो बेला चिनियाँ सांस्कृतिक क्रान्तिको प्रभावले सहरका शिक्षित युवाहरू गाउँमा काम गर्न प्रेरित गरिन्थे। त्यहीअनुसार मिलन पनि गाउँमा पढाउन पुगेका थिए।
मिलनलाई भेट्न माधव दोलालघाटसम्म गाडीमा गए। त्यहाँबाट हिँडेर बाह्रबिसे हुँदै पिस्करको उकालो चढेर कालिन्चोक भई क्षमावती पुगे। मिलनले माधवलाई पिस्करमा अमृत बोहरा भन्ने मान्छे पनि छन् भनी जानकारी गराए।
माधव नेपाल अमृतलाई भेट्न पिस्कर पुगे। तर त्यही बेला अमृत काठमाडौँ झरेको भएर भेट हुन सकेन। पार्टी निर्माणका लागि ०३१ सालको चैत महिनामा माधव नेपाल फेरि मिलनलाई भेट्न पुगे। तर भर्खरै प्रेमविवाह भएकाले पूर्णकालीन हुन नसक्ने जवाफ मिलनले दिए। त्यो बेला कोकेको सदस्य हुने सबै पूर्णकालीन हुनुपर्ने प्रावधान थियो।
२०३२ जेठ १४ र १५ गते विराटनगरमा ‘कोअर्डिनेसन केन्द्र’को गठन भयो। जसमा मुकुन्द न्यौपाने, झलनाथ खनाल, रामचन्द्र यादव, मणिलाल राई, गोविन्द न्यौपाने, माधव नेपाल, सीपी मैनाली र अमृत बोहरा सदस्य बने। २०३३ सालमा जिल्लास्तरको मान्यता दिनेगरी उपत्यका कोअर्डिनेसन कमिटी निर्माण भयो र त्यसमा विष्णु पनि सदस्य रहे।
पछि उपत्यकाका तीनवटै जिल्लामा जिल्लास्तरको छुट्टाछुट्टै कमिटी बने। २०३५ सालमा नेकपा माले स्थापनापछि उपत्यका क्षेत्रीय स्तरको कमिटी बन्यो। २०३७ सालदेखि विष्णुले भक्तपुरको जिम्मा लिए। उनले २०४३ सालमा ललितपुर पार्टी जिल्ला सचिवका रूपमा जिम्मा लिए। पञ्चायतको समयमा उनको घरमा मदन भण्डारीलगायत अरू नेताहरू आवतजावत गर्ने भनी खुफिया रिपोर्टमा समेत उल्लेख थियो।
तर २०४६ को आन्दोलनबाट प्रजातन्त्र स्थापना भएपछि भने पार्टी राजनीतिको स्वरूप बदलियो। पार्टी पुनर्गठनमा विष्णु कुनै पनि कमिटीमा रहनुभएन। पञ्चायतकालीन कठिन परिस्थितिमा पार्टीलाई हुर्काउन सम्पूर्ण रूपले सङ्घर्षमा होमिएका विष्णुजस्ता कार्यकर्ता अब पार्टीलाई चाहिएन। पार्टी अफिसको टेबलवरिपरि बसेर फाईंफुईं गर्ने, चाप्लुसी गर्ने, शीर्ष नेतालाई रिझाउन मन पराउने, पदलाई सुविधाका रूपमा लिने, शक्तिको रवाफ गर्नेहरूको प्रभुत्व रहँदै गयो।
कति नेतामा त भूमिगत जीवन बिताएको नाममा पार्टीको माथिल्लो भूमिका, सांसद, मन्त्री र सरकारका पदहरूमा कब्जा जमाइराख्ने प्रवृत्ति हावी हुँदै गयो। कार्यकर्ताहरूमा पद र सुविधा पाए पार्टीमा टिक्ने र नपाए पार्टी परित्याग गर्ने प्रवृत्ति हावी हुँदै गयो। त्यो राजनीतिक वातावरणमा विष्णु र विष्णुजस्ता व्यक्तिहरू पार्टी सम्पर्कबाट टाढा हुँदै गए।
तर विष्णु अरूभन्दा फरक थिए। पार्टीले सम्पर्क नगर्दा पनि उनले कहीँकतै आफ्ना लागि गुनासो गर्दै हिँडेको थाहा पाइनँ। बरु उनी नेपालभाषाको विकास, भाषिक अधिकार र अरू समाज कल्याणको बाटोमा सक्रिय भइरहे।
हुन त विष्णु २०२२ सालदेखि नै नेपालभाषा आन्दोलनमा थिए। पार्टीको सक्रिय जीवनबाट टाढा भएपछि पनि उनले भाषा क्षेत्रको आफ्नो सक्रियतालाई निरन्तरता दिए। उनले युनिकोडमा नेपालभाषाका मूल अक्षरहरू समावेश गर्ने अभियान, नेपालभाषालाई सरकारी मान्यता दिने आन्दोलन, नेपालभाषालाई गुगल अनुवाद गर्ने काम, नेपालभाषाको व्याकरणलाई बलियो गर्न विभिन्न पुस्तकहरू लेखन कार्यलाई निरन्तरता दिए।
नेपालभाषाको अनुसन्धानमा सहयोग गर्न सामाजिक यथार्थमा टेकेर नेपालभाषामा कथा (बाखँ), निबन्ध (च्वखँ), कविता (चिनाखँ) र लेख–रचना (च्वसु) हरू निरन्तर प्रकाशित गरे। उनका ती साहित्यहरूमा सामाजिक यथार्थ, अन्याय, विद्रोह, प्रगतिशील चेतना रहने गरेको भाषाका लेखकहरू बताउँछन्। उनले नेपालभाषालाई अन्तर्राष्ट्रिय साहित्यमा जोड्न अथक योगदान गरे।
उनी ‘जगतसुन्दर ब्वनेकुथि’ का संस्थापक, नेपालभाषा शिक्षण कक्षा सञ्चालक बनी नेपालभाषा, साहित्यिक र सामाजिक संस्थाहरूमा नेतृत्व गरेको विषयमा भाषाप्रेमीहरू गौरव गर्दछन्। राजनीतिक इतिहासमा मात्र होइन, ‘नेपालभाषा मंका: खलः’, ‘नेवा: देय् दबू’, ‘नेवाः ग्वहाली पुचः’, ‘आदिवासी नेवाः राजनीतिक अभियान हामा पुचः’, ‘नेपालभाषा एकेडेमी’, ‘चित्रकार पुँ समाज’ जस्ता संस्थाहरूको इतिहासमा पनि उनको नाम लेखिएको छ।
त्यो घरका एक होनहार छोरा, पार्टीका एक सक्रिय सदस्य, लोकतान्त्रिक आन्दोलनमा अथक योगदान दिने विष्णु चित्रकारको मुस्ताङको लोमान्थाङ यात्राका सिलसिलामा दिवङ्गत भएको खबरले उनलाई चिन्ने, उनका बारेमा बुझ्ने, उनीसँग काम गर्ने धेरैको मन रोएको छ।
हार्दिक श्रद्धाञ्जली– विष्णु चित्रकार !
प्रतिक्रिया 4