+
+
Shares
नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन :

४० देशबाट २०० बढी नेपाली साहित्यकार कोलोराडोमा जमघट हुने

नेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झन्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकारहरू सहभागी हुने अनुमान गरिएको बताए।

नातिबाबु भट्ट नातिबाबु भट्ट
२०८३ वैशाख ६ गते १२:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन मे २२ देखि २५ सम्म कोलोराडोमा आयोजना हुने जानकारी अनेसास अध्यक्ष सर्वज्ञ वाग्लेले दिएका छन्।
  • सम्मेलनका लागि झन्डै ५० हजार डलर खर्च हुने र होटल डुरी इन प्लाजा चार दिनका लागि बुक गरिएको अनेसास बोर्ड सभापति पदम विश्वकर्माले बताए।
  • विश्वका झन्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकार सम्मेलनमा सहभागी हुने अनेसास महासचिव राजु सिटौलाले जानकारी दिए।

६ वैशाख, कोलोराडो । नवौँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको तयारी तीव्र रूपमा अगाडि बढेको शनिबार कोलोराडोमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

आयोजक संस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय समितिका अध्यक्ष सर्वज्ञ वाग्लेले पत्रकार सम्मेलनमा सम्मेलन मे २२ देखि २५ सम्म सञ्चालन हुने जानकारी दिँदै सबैलाई सहभागी हुन अनुरोध गरे।

अध्यक्ष वाग्लेले नेपाली भाषा र साहित्यको संवर्द्धन, संरक्षण एवं विश्वव्यापीकरणमा योगदान पुर्‍याउँदै आएको अनेसासले डायस्पोराको युवा पुस्तालाई नेपाली भाषा–साहित्यसँग जोड्न विभिन्न गतिविधि र कार्यक्रम गर्दै आएको बताए। उनले भने, ‘अनेसासले सबै उमेर समूहका स्रष्टालाई एउटै थलोमा राखेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिका लागि चिन्तन र विमर्श गर्न हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएको छ। यो सम्मेलन त्यसै सोचको निरन्तरता हो।’

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बोर्ड अफ ट्रस्टी (बीओटी) का सभापति पदम विश्वकर्माले सम्मेलन आयोजनाका लागि झन्डै ५० हजार डलर खर्च हुने अनुमान गरिएको बताए। उनले सम्मेलनका लागि कोलोराडोको वेस्टमिन्स्टरस्थित ‘होटल डुरी इन प्लाजा’ चार दिनका लागि बुक गरिएको जानकारी दिए।

नेपाली र अङ्ग्रेजी साहित्यका लेखकहरूको जमघट रहने सम्मेलनमा दुवै भाषाका स्रष्टाहरूबीच साहित्यका विविध विषयमा छलफल हुने सभापति विश्वकर्माले बताए। उनले सम्मेलनमा नेपालभित्रका विभिन्न भेग र भाषाका स्रष्टाहरूको समेत सहभागिता रहने जानकारी दिए।

‘नेपाली भाषा र साहित्यसँगै विभिन्न जाति र समुदायको मातृभाषाप्रति हाम्रो उच्च सम्मान छ, तिनको जगेर्ना र विश्वव्यापीकरणमा अनेसासले जोड दिँदै आएको छ,’ उनले भने, ‘भाषिक विविधता र त्यही विविधतामा हुर्किएको नेपाली समाजको प्रतिबिम्ब सम्मेलनमा देख्न र महसुस गर्न पाइनेछ।’

सन् २००९ मा सुरु भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनको यो नवौँ शृङ्खला हो। यसअघि आठौँ शृङ्खला दुई वर्षअघि युरोपको पोर्चुगलमा सम्पन्न भएको थियो।

अनेसासका महासचिव राजु सिटौलाले सम्मेलनमा विश्वका झन्डै ४० मुलुकबाट दुई सयभन्दा बढी साहित्यकारहरू सहभागी हुने अनुमान गरिएको बताए। नेपालसहित विभिन्न मुलुकका थुप्रै साहित्यकारहरूले सम्मेलनमा सहभागी हुने प्रतिबद्धता जनाइसकेको सिटौलाले सुनाए। ‘सम्मेलनमा नेपाली साहित्यका विषयमा मात्र चर्चा गरिने छैन, विश्वका पछिल्ला चर्चित साहित्यिक कृति र स्रष्टाका बारेमा समेत विमर्श हुनेछ,’ उनले भने, ‘यसले युवा पुस्तालाई उत्कृष्ट साहित्यिक कृति सिर्जनाका लागि उत्प्रेरित गर्ने विश्वास छ।’

अनेसास केन्द्रीय समितिको आयोजनामा सञ्चालन हुने यस सम्मेलनको संयोजन अनेसास कोलोराडो च्याप्टरले गरिरहेको छ। च्याप्टर अध्यक्ष किरण अधिकारीले सम्मेलनका लागि मूल समितिसँगै नौ वटा उपसमिति गठन भई तयारी भइरहेको जानकारी दिए।

उनले सम्मेलनका लागि आवश्यक बजेट विश्वका विभिन्न मुलुकका स्रष्टाका साथै कोलोराडोस्थित नेपाली समुदायका विभिन्न संघसंस्था र सहयोगीहरूबाट जुट्ने विश्वास व्यक्त गरे। ‘हामीले सहयोगका लागि आग्रह गरेका विभिन्न संघसंस्था र व्यक्तिहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ,’ अधिकारीले भने, ‘नेपाली भाषा, साहित्य र संस्कृतिको संवर्द्धनका लागि आयोजना भइरहेको यो सम्मेलन सबैको सहयोगले भव्य रूपमा सफल हुनेछ।’

प्रकाशन समितिका संयोजक एवं अनेसास कोलोराडो च्याप्टरका महासचिव पुष्पराज पौडेलले सम्मेलनको अवसरमा अनेसासका गतिविधि र स्रष्टाका बारेमा चर्चा गरिएको स्मारिका प्रकाशन गर्न लागिएको जानकारी दिए।

नेपाली सांस्कृतिक केन्द्र ‘नेपाली घर’ मा आयोजित पत्रकार सम्मेलनलाई क्यालिफोर्नियामा रहेका केन्द्रीय अध्यक्ष वाग्लेले जुममार्फत सम्बोधन गरेका थिए। जानकारी अनुसार चार दिनसम्म चल्ने सम्मेलनको अन्तिम दिन सहभागीहरूलाई कोलोराडोका विभिन्न पर्यटकीय र ऐतिहासिक क्षेत्रको भ्रमण गराउने कार्यक्रम तय गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?