News Summary
Generated by OK AI. Editorially reviewed.- टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ को तेस्रो संस्करण चैत १३ देखि १५ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ।
१६ चैत, काठमाडौं । टीकापुरमा ‘टीकापुर साहित्य महोत्सव २०८२’ (तेस्रो संस्करण) सफलतापूर्वक सम्पन्न भएको छ । टीकापुर साहित्य समाज र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा भएको महोत्सव आइतबार सम्पन्न भएको हो ।
चैत १३ गतेबाट सुरु भएको तीनदिने महोत्सवले भाषा, साहित्य, कला, संस्कृति, शिक्षा, सामाजिक विकासका विविध सन्दर्भ तथा स्थानीय जनजीवनका अनेक आयामलाई समेटिएको आयोजकले जानकारी दिएका छन् ।
महोत्सवका संस्थापक संयोजक महेशविक्रम शाहका अनुसार यो तेस्रो संस्करण ‘थारू साहित्य तथा सांस्कृतिक उत्सव’ को विशेष सोचमा केन्द्रित थियो । नेपालका थारू समुदायको समृद्ध मौलिकता, परम्परा, लोकजीवन, भाषा, साहित्य, कला, संस्कृतिलाई राष्ट्रिय आकर्षण र विमर्शको केन्द्रमा ल्याउने उद्देश्य यस महोत्सवले पूरा गरेको उनको भनाइ छ । ‘हाम्रो यस प्रयासले सुदूरपश्चिम प्रदेशको साहित्यिक र सांस्कृतिक पहिचानलाई थप मजबुत र दिगो बनाउँदै बहुभाषिक-बहुसांस्कृतिक सहअस्तित्वको सन्देश प्रवाह गरेको छ’ शाहले भने ।
महोत्सव अवधिभर २१ वटा विशेष सत्र सञ्चालन गरिएको उनले जानकारी दिए । ती सत्रहरूमा भाषा, साहित्य, कला, सङ्गीत, स्थानीय जनजीवन, इतिहास, पहिचान, राजनीति, समाज र समसामयिक मुद्दाहरूमा गहन छलफल, विचार विमर्श र अन्तर्क्रिया भएको शाहले बताए ।

उनका अनुसार देशका प्रतिष्ठित भाषाविद्, साहित्यकार, कलाकार, सामाजिक चिन्तक, चिकित्सक, पत्रकार, अनुसन्धाता, संस्कृतिविद्, विकासविद्, पर्यटन अभियन्ताहरूको सहभागिता रह्यो।
महोत्सवको पहिलो श्रृंखलामा कर्णाली नदीमा जल विहार र थारू सांस्कृतिक नाचका प्रस्तुति थिए । दोस्रो श्रृंखलामा सडक नाटक प्रस्तुति, लेखन कार्यशाला र प्रदेशस्तरीय कविता महोत्सवका कार्यक्रमहरू सम्पन्न भए ।
महोत्सवको तेस्रो श्रृंखलाअन्तर्गत नाटक मञ्चन, थारू समुदायको लोकसंस्कृति प्रदर्शन, बौद्धिक संवाद, काव्य श्रवण, गजल श्रवण, साङ्गीतिक कार्यक्रमका साथै सुदूरपश्चिमको देउडा प्रस्तुतिसँगै विविध गतिविधिहरू भए । महोत्सवको चौथो श्रृंखलामा थारू लोकसंस्कृतिको महत्त्वपूर्ण सम्पदा लोपोन्मुख ‘रामलीला नाच’ प्रस्तुत गरियो ।
यी कार्यक्रमहरूले टीकापुर साहित्य महोत्सव केवल साहित्यिक जमघट मात्र नभई ‘बहुआयामिक सांस्कृतिक उत्सव’ भएको संयोजक शाहको भनाइ छ ।
यस महोत्सवमा साहित्य, कला र सामाजिक क्षेत्रमा स्थापित-प्रतिष्ठित व्यक्तित्वहरूको ज्ञान, अनुभव, दृष्टिकोण र सिर्जनात्मक यात्राका प्रत्यक्ष संवाद र विमर्शले स्थानीय लाभान्वित भएको उनको दावी छ ।
शाहका अनुसार औपचारिक महोत्सव सुरु हुनु पहिले विभिन्न कार्यक्रमहरू सम्पन्न भइसकेका थिए । चैत ७ गतेदेखि प्रसिद्ध नाटककार अशेष मल्लको अगुवाइमा विभिन्न नाट्य कार्यशाला तथा टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका एवं जानकी गाउँपालिकाका विभिन्न स्थानहरूमा सडक नाटक प्रदर्शन भएका थिए । यसले स्थानीय युवामा रङ्गमञ्चप्रतिको आकर्षण बढाउने र जनतामा चेतना फैलाउने काम गरेको आयोजकले बताएका छन् ।

त्यसैगरी चैत ९, १० र ११ गते साहित्यकारद्वय नीलम कार्की निहारिका र केशव दहालको सहकार्यमा लेखन कार्यशाला सञ्चालन गरिएको थियो । यस कार्यशालाले नयाँ पुस्तामा लेखनप्रति रुचि जगाउँदै सिर्जनशील क्षमता विकास गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ ।
यस महोत्सवमा मुख्य आकर्षण ‘थारू साहित्य तथा संस्कृति’ भएकाले थारू समुदायका मौलिक गीत, नृत्य, संस्कार, संस्कृति, भेषभूषा, जीवनशैली आदिलाई विशेष स्थान दिइएको थियो ।
यससँगै थारू भाषामा सिर्जित तथा थारू विषयवस्तुमाथि लेखिएका साहित्य, मौखिक परम्परा, सांस्कृतिक अभ्यासहरूको संरक्षण तथा प्रवर्द्धनको उद्देश्यले विशेष सत्रहरू आयोजना गरिए ।
यसले थारू समुदायको सांस्कृतिक धरोहरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गरेको दावी आयोजकको छ ।
अहिले स्कुलहरूमा परीक्षा चलिरहेकाले महोत्सवका विभिन्न कार्यक्रमहरूमा स्थानीय शिक्षक विद्यार्थीको सहभागिता कम भएको आयोजकले बताएका छन् ।
आयोजकका अनुसार स्थानीय साहित्यिक समूह, सांस्कृतिक संस्था, बौद्धिक व्यक्तित्व र सर्वसाधारणको सक्रिय सहभागिता रह्यो । यस प्रयासले टीकापुर नगरलाई साहित्यिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास आयोजकको छ।
महोत्सवले स्थानीय पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि वृद्धि तथा सांस्कृतिक जागरणमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको महोत्सवका संस्थापक संयोजक महेशविक्रम शाहले बताए ।
प्रतिक्रिया 4