+

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

२०८३ वैशाख  ७ गते ६:४१ २०८३ वैशाख ७ गते ६:४१
झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

७ वैशाख, विराटनगर । झापा-११ फुटबल क्लबले ३८औं संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाले यसअघि २०७१ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो ।

उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँमा चित्त बुझायो ।

झापाको जितमा राजेश दाहाल र दिवस उराउले गोल गरे । सम्राटकातर्फबाट सौरभ तामाङले एक सान्त्वना गोल फर्काए ।

प्रतिस्पर्धात्मक फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ८१औं मिनेटमा झापाका राजेश दाहालले गोल गर्दै टोलीलाई अग्रता दिलाए । झापाले अग्रता लिएको ६ मिनेट बित्न नपाउँदै दिवस उराउले गोल गर्दै टोलीको जित निश्चित गरे । खेलको इन्जुरी समयमा सम्राटका सौरभ तामाङले गोल गर्दै २–१ गोलले अन्तर बनाएका थिए । फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ झापाका राजेश दाहाल घोषित भए ।

सम्राट स्पोर्टिङका अशोक खवास प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए । उनले नगद ५१ हजार रुपैयाँ पाए ।

विजेता तथा उपविजेता टोलीलाई कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्ट, कोशी प्रदेशको वन, पर्यटन तथा बातवरण मन्त्री भिम पराजलुली, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला र विराट गोल्डकप फुटबल ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले पुरस्कार वितरण गरेका थिए ।

चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित ८ टिमको सहभागिता थियो ।

विराट गोल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय