News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक दिनको पहिलो बैठकको एकघण्टा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गरिनेछ।
- प्रश्न सोध्न चाहने सदस्यले प्रश्न, सम्बन्धित मन्त्री र नियम ४७ को हकमा सदस्यको नाम उल्लेख गरी सूचना दिनुपर्नेछ।
- मौखिक उत्तरका लागि दैनिक २० र लिखित उत्तरका लागि ५० भन्दा बढी प्रश्न सूचीमा राखिने छैन र क्रम दर्ताक्रम अनुसार निर्धारण हुनेछ।
८ वैशाख, काठमाडौं । संसद्को प्रत्येक बैठकमा प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने भएको छ ।
प्रतिनिधिसभा नियमावलीकोल नियम ४१ मा प्रश्न उत्तर समयसम्बन्धी व्यवस्था छ ।
उपनियम १ मा भनिएको छ, ‘सभामुखले अन्यथा आदेश दिएमा बाहेक प्रत्येक दिनको पहिलो बैठकको एकघण्टा प्रश्नोत्तरको लागि निर्धारण गरिनेछ ।’
प्रश्न उत्तरको समय समाप्त भएपछि बैठकको कार्यसूचीबमोजिमको अन्य कारबाही प्रारम्भ हुनेछ ।
नेपाल सरकारको कार्यक्षेत्र एवं उत्तरदायित्वभित्रको सार्वजनिक महत्त्वको कुनै पनि विषयमा बैठकमा प्रश्न सोध्न सकिनेछ ।
सभाको अधिवेशन प्रारम्भ भएपछि प्रश्न दर्ता गर्न सकिनेछ ।
बैठकमा प्रश्न सोध्न चाहने कुनै सदस्यले खुलाउनुपर्ने विषयहरू समेत नियमावलीमा व्यवस्थित गरिएको छ ।
(क) सोध्न खोजेको प्रश्न,
(ख) प्रश्नसँग सम्बन्धित मन्त्री,
(ग) नियम ४७ को हकमा सम्बन्धित सदस्य ।
(२) प्रश्नको सूचनामा एक जनाभन्दा बढी सदस्यले हस्ताक्षर गरेको भए पहिलो हस्ताक्षर गर्ने सदस्यले उपनियम (१) बमोजिम सूचना दिएको मानिनेछ ।
तर पहिलो हस्ताक्षर गर्ने सदस्य अनुपस्थित भएमा क्रमानुसारको सदस्यलाई कायम गर्न बाधा पर्ने छैन ।
प्रतिनिधिसभा नियमावलीअनुसार एउटै विषयमा एकभन्दा बढी सदस्यले प्रश्नको सूचना दिएमा दर्ताक्रमको पहिलो प्रश्नलाई मात्र कायम गरिनेछ ।
तर प्रश्नकर्ता सबै सदस्यको नाम सभामुखले सभामा पढेर सुनाउनेछन् ।
प्रश्न मौखिक उत्तर दिने र लिखित उत्तर दिने गरी दुई किसिमका हुनेछन् ।
कुनै अभिलेख, तथ्यांक आदि उल्लेख गरी दिनुपर्ने उत्तर लिखित रूपमा दिनुपर्नेछ ।
मन्त्रालयबाट जवाफ प्राप्त भएपछि प्रत्येक दिन मौखिक तथा लिखित उत्तरका निमित्त रहेका प्रश्नको छुट्टाछुट्टै सूची तयार गरिनेछ र त्यस्तो सूचीमा अस्वीकार नगरिएका सबै प्रश्न समावेश गरिनेछ ।
तर एकदिनमा मौखिक उत्तर सम्बन्धी २० वटा र लिखित उत्तर सम्बन्धी ५० भन्दा बढी प्रश्न सूचीमा राखिने छैन । सो सूचीमा एक सदस्यको दुईवटा भन्दा बढी मौखिक उत्तरका प्रश्न समावेश गरिने छैन ।
लिखित उत्तर दिने प्रश्नको क्रम प्राप्त समय र विषय बमोजिम निर्धारण हुनेछ । मौखिक उत्तर दिने प्रश्नको क्रमको निर्धारण दर्ताक्रमानुसार गरिनेछ ।
प्रतिक्रिया 4