+
+
Shares

अमेरिकाले लम्ब्यायो इरानसँगको युद्धविराम अवधि, पाकिस्तानको आग्रहमा आक्रमण स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते ६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन्।
  • ट्रम्पले युद्धविराम विस्तार गर्ने निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको बताएका छन्।
  • इरानले अमेरिकी नाकाबन्दीलाई युद्धको कार्य भन्दै युद्धविराम उल्लंघन भएको बताएका छन्।

९ वैशाख, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम अवधि बढाउने घोषणा गरेका छन् । उनले तेहरानलाई युद्ध अन्त्य गर्न प्रस्ताव ल्याउन थप समय दिन आक्रमण स्थगित गर्ने पनि बताएका छन् ।

मंगलबार गरिएको यो निर्णय पाकिस्तानका मध्यस्थकर्ताको आग्रहमा आएको ट्रम्पले बताएका छन् । यसअघि ट्रम्पले बुधबारसम्म पनि इरान सहमतिमा नआए आक्रमण गर्ने धम्की दिएका थिए ।

उनले युद्धविराम अवधि लम्बिए पनि इरानमाथिको नाकाबन्दी जारी रहेको बताएका छन् । ‘हाम्रो सेनालाई नाकाबन्दी जारी राख्न र अन्य सबै हिसाबले तयार अवस्थामा रहन निर्देशन दिएको छु,’ ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरूको प्रस्ताव प्रस्तुत नभएसम्म र वार्ता निष्कर्षमा नपुगेसम्म युद्धविराम विस्तार गरिनेछ ।’

युद्धविराम कति समयसम्म लम्बिएको हो भन्ने कुरा ट्रम्पले खुलाएका छैनन् ।

युद्धविराम विस्तार ट्रम्प प्रशासनको अचानक निर्णय परिवर्तनको उदाहरण बनेको छ । सामाजिक सञ्जाल पोस्ट गर्नुअघि केही घण्टामै ट्रम्पले युद्धविराम नलम्ब्याउने र इरानमाथि ठूलो आक्रमण गर्ने चेतावनी दिएका थिए ।

त्यसबीच इरानी अधिकारीहरूले अमेरिकाले इरानका बन्दरगाहहरूमा लगाएको नौसैनिक नाकाबन्दीको आलोचना गरेका थिए, जसले बुधबारका लागि तय गरिएको वार्तामा उनीहरूको सहभागिता अनिश्चित बनाएको थियो ।

पछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले युद्धविराम लम्ब्याउने निर्णयका लागि ट्रम्पप्रति धन्यवाद व्यक्त गर्दै इस्लामाबादले द्वन्द्व समाधानका लागि कूटनीतिक पहल जारी राख्ने बताएका छन् ।

‘म आशा गर्दछु कि दुवै पक्षले युद्धविरामको पालना जारी राख्नेछन् र इस्लामाबादमा हुने दोस्रो चरणको वार्ताबाट स्थायी समाधान निकाल्न सक्नेछन्,’ शरीफले एक्समा लेखेका छन् ।

तर नौसैनिक नाकाबन्दी जारी रहेकाले युद्धविराम विस्तारले मात्र इरानलाई वार्तामा ल्याउन पर्याप्त हुन्छ कि हुँदैन भन्ने स्पष्ट छैन ।

युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको वक्तव्यबारे इरानले तत्काल प्रतिक्रिया दिएको छैन । अर्धसरकारी तास्निम समाचार एजेन्सीले तेहरानको धारणा पछि औपचारिक रूपमा सार्वजनिक गरिने जनाएको अलजजिराले लेखेको छ ।

यसअघि मंगलबार नै इरानका विदेशमन्त्री अब्बास अराघचीले बन्दरगाह नाकाबन्दीलाई ‘युद्धको कार्य’ भन्दै विद्यमान युद्धविरामको उल्लंघन भएको बताएका थिए ।

‘इरानलाई प्रतिबन्ध निष्प्रभावी बनाउने, आफ्ना हित रक्षा गर्ने र दबाबको सामना गर्ने तरिका थाहा छ,’ उनले लेखेका छन् ।

‘नेतृत्व विभाजन’ सम्बन्धी ट्रम्पको दाबी ‘गलत बुझाइ’

गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेयता सर्वोच्च नेता आयातोल्लाह अली खामेनीसहित धेरै उच्च अधिकारी मारिएका छन् ।

तर त्यसका बाबजुद तेहरानको सत्ता संरचनामा ठूलो विभाजन देखिएको छैन, जहाँ इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले युद्धको नेतृत्व गरिरहेको छ ।

खामेनीको स्थानमा उनका छोरा मोज्तबा खामेनी आएका छन्, जसले गत महिना नियुक्त भएदेखि सार्वजनिक रूपमा उपस्थिति जनाएका छैनन् ।

तेहरानस्थित अल जजीराका संवाददाता अली हाशेमका अनुसार ट्रम्पले तेहरानको नेतृत्व विभाजित अवस्थामा रहेकाले वार्तामा सहमति जुट्न नसकेको भन्दै आए पनि ‘नेतृत्व विभाजन’ सम्बन्धी ट्रम्पको दाबी ‘गलत बुझाइ’ हुनसक्ने बताएका छन् ।

सम्वाददाता हाशेमले भनेका छन्, ‘पूर्व सर्वोच्च नेता खामेनीको हत्या पछि इरानमा नेतृत्व निकै एकीकृत छ । नयाँ नेता मोज्तबा खामेनी र उनको समूह पछिल्लो १५ वर्षदेखि सँगै काम गरिरहेको टोली हो र अहिले निर्णय केन्द्रमा पनि यही समूह सक्रिय छ ।’

अप्रिल ८ मा इरान र अमेरिकाबीच दुई साता लामो प्रारम्भिक युद्धविराम भएको थियो, तर लेबनानको समावेश र स्ट्रटे अफ होर्मुजको नियन्त्रण जस्ता विषयमा मतभेदका कारण तनाव कायम छ ।

युद्ध अन्त्य गर्न अमेरिका इरानको आणविक कार्यक्रम पूर्ण रूपमा बन्द गर्न, क्षेप्यास्त्र उत्पादन सीमित गर्न र हेज्बोल्लाह तथा हमासजस्ता क्षेत्रीय सहयोगीलाई दिएको समर्थन रोक्नुपर्ने अडानमा छ ।

तर तेहरानले शान्तिपूर्ण प्रयोजनका लागि घरेलु रूपमा युरेनियम समृद्धि गर्ने आफ्नो अधिकारमा अडान लिएको छ । साथै सैन्य क्षमता वा क्षेत्रीय सम्बन्धलाई सम्झौताको हिस्सा बनाउने प्रस्ताव पनि अस्वीकार गरेको छ ।

अर्को विवादित विषय इरानसँग रहेको उच्चस्तरीय समृद्ध युरेनियमको भण्डारण हो । ट्रम्पले इरानले बम आक्रमणमा ध्वस्त स्थलबाट आणविक सामग्री हटाउन सहमति जनाएको दाबी गरेका छन् । तर इरानले यस्तो सामग्री देशबाहिर लैजान नदिने स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?