+
+
Shares

चर्चामा छ गीत, गुमनाम छन् गायक

सेतो फूल जो आफैंमा निश्चल हुन्छ । पवित्र हुन्छ । त्यसमाथि बनाइएको यो गीत निकै संवेदशील छ । ओजिलो र ओसिलो पनि छ । 

सापेक्ष सापेक्ष
२०८३ वैशाख ११ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गीतमा पुरुषको भावना र फूलप्रति प्रेमलाई चित्रण गरिएको छ र राकेशले क्रमिक रूपमा आफ्ना अन्य गीतहरू पनि रिलिज गर्ने तयारी गरिरहेका छन्।

‘अन्त कि मलाई खासै बाहिर आउन मन पर्दैन होउ । पर्सनल रिजनहरू नि छ । बादमा भने आउने रहर छ ।’

गतसोमबार साँझ ह्वाट्सएपमार्फत कुराकानी गर्दा राकेश लुवागुनले आफ्नो बेदना सुनाए, पुरै दार्जीलिङ/सिक्किम लवजमा । त्यसबेला उनी सिक्मिको नाम्चीबाट बोल्दै थिए । र त्यो कुराकानीको जड थ्यो, ‘सेतो फूल’ ।

सेतो फूल, हुन त एउटा गीत हो । रिलिज भएको एक महिना जति भइसकेको छ । तर, यो एउटा कैफियत बन्दै गइरहेको छ । कारण यो गीत कसले गाए ? को हो गायक ? कस्तो छ गायक ? बिल्कुलै मतलब देखिँदैन । कम्तीमा सञ्जालमा देखिएका प्रतिक्रियाहरूले त्यस्तै भन्छ ।

तर, हिसाब कसले गर्ने ? यो गीतले कतिलाई रुवायो ! कतिलाई भावुक बनायो ! कारण, मर्माहित पार्ने यो गीत यति हलुको छ कि यसले थपक्कै बसिरहेको मनलाई उडाएर कताकता लैजाने ताकत राख्छ । सुन्दै जाँदा स्मृतिमा ढकेलेर मिठो यातना लिने ल्याकत लाग्छ ।

यो स्तरको प्रतिफल मिल्ने सायदै राकेश सोचेका थिए । बेलायतबाट एक जना श्रोताले उनको नम्बर पत्ता लगाएर फोन गरेरै ‘बधाई’ दिए । खासै सक्रिय नहुने उनको सामाजिक सञ्जालमा बधाई ओइरिए । कता कता, अहिलेसम्म लुकेर बसिरहेको मनलाई पोखिएको श्रोताहरूको भावनाले झटारो हाने ।

तर, केही महिनाअघि मात्र सम्म पनि एकसुरले हिँडिरहेको यो दुनियाँको उनलाई फिटिक्कै मतलब थिएन । उनले पनि मतलब राख्थेनन् । भलै त्यो कुनै बदलाको कुरो थिएन । बस्, उनलाई शहरको कृत्रिमता मन पर्दैनथ्यो । बरु उनी यो तामझाम, नक्कली देखावटीभन्दा पर रहेर एकलव्य बनेरै संगीतमै झुमिरहेका भेटिन्थे ।

प्रकाश र राकेश ।

 

एकसुरमा आफ्नै लालित्यमा रमाइरहेका हुन्थे । हार्मोनियम बजाउँदै दिनहरू कटाइरहेका हुन्थे । परावर्तित भएका आफ्नै आवाजहरूसँग झुमिरहन्थे । बिल्कुलै निस्फिक्री भएर मौनमौजी तरिकाले ।

उनको त्यो स्व-रोमाञ्चकतालाई प्रकाश बस्नेतले नजिकबाट नियाल्ने मौका पाएका थिए ।

सञ्जालमा प्रकाश हाँस्यव्यङ्ग्य गर्ने व्यक्ति रूपमा चिनिन्छन् । तर, उनी कति गहिरा रहेछन् बल्ल देखिँदैछ । किनकि ‘सेतो फूल’ त उनले जन्माएका हुन् । अर्थात्, यो गीतको शब्द, गीतको भिडियो कथा उनै प्रकाशले लेखेका हुन् । यसैले पनि राकेश नेपथ्यमै बसिरहे । त्यो नितान्त उनको वैयक्तिक रुचि हो ।

राकेश-प्रकाश लामो समयदेखिका चिनजानका दाइभाइ हुन् । राकेशले प्रकाशलाई ‘भाइ’ भनेर सम्बोधन गर्छन् । कुनै समय कलाकारको खोजी गरिरहेका राकेशले त्यसै सन्दर्भमा प्रकाशलाई भेटेका थिए ।

कुरो ८-१० वर्षअघिको हो ।

राकेशले इभेन्ट सम्बन्धीको कम्पनी-क्लब चलाउँथे । त्यसबाट उनले विभिन्न कलाकारहरूलाई ठाउँठाउँमा कार्यक्रम गराउन लैजाने गर्थे । यता प्रकाश अभिनय गर्नेदेखि कार्यक्रम सञ्चालन गर्न माहिर थिए । यसरी त्यसै बहानामा उनीहरूको भेट भएको थियो । त्यसबेलैसँगै उनीहरू मिलेर भारतको दिल्लीसम्म कार्यक्रम गर्न समेत पुगेका थिए ।

त्यो बीचमा राकेशले गीत गाएको प्रकाशले दर्जनौं पटक देखे । सुने । तर, स्वर राम्रो हुँदाहुँदै पनि/सार्वजनिक कार्यक्रम गर्ने भए पनि आफ्नो गायकीलाई लिएर राकेश त्यति खुल्न चाहँदैन थिए । जुन कुरा प्रकाशलाई फिटिक्कै मन पर्दैन थियो । प्रकाश ‘राकेश’ पनि बाहिर आउनुपर्छ भन्ने पक्षमा थिए ।

त्यसैले प्रकाशले निरन्तर राकेशलाई आफ्नो गीतहरू निकाल्न भनिरहे । कर गरिरहे । यतिसम्म कि एक दिन प्रकाशले राकेशलाई खुलेरै भन्दिए- म त तपाईंलाई गाउन उचालिरहन्छु । जबसम्म उचाल्छु, तबसम्म तपाईं मभन्दा माथि जानुहुन्न।

तर, राकेशले कुरा टारिरहन्थे । क्याफे चलाउनु छ भनेर बहाना बनाइरहे । पढ्नु छ भनेर उम्किरहे ।

तर, प्रकाशको कर देखि राकेश भागिरहन सकेनन् । उनको बहानामा एक वर्षअघि प्रकाशले बनाएको सर्ट फिल्म ‘नसुनिने आवाज’मा संलग्न ‘तिमीबाट नै’ ब्रेक लाग्यो । प्रकाशको उक्त फिल्मका लागि राकेशले पहिलो पटक गीत गाए । तर, त्यो गीत धेरै सामू पुग्न सकेन ।

उक्त सर्ट फिल्म आएको केही समयअघि फेरि प्रकाश ‘सेतो फूल’को खेस्रा शब्दहरू लिएर राकेशसामु पुगे । त्यसलाई राम्रो गीत बनाउने प्रकाशको चाहना थियो । त्यो चाहना यति तीव्र थियो कि राकेशले नाइँ भन्न सकेनन् । त्यसपछि गीतका शब्दहरू राखेर राकेशले धुन बनाउन लागि परे ।

एक हप्ता बित्यो । दुई हप्ता बित्यो । पुरै एक महिना बित्यो । डेमो रेकर्डिङका लागि स्टुडियो जाने दिन नै आयो । तर, प्रकाशलाई धुनहरू चित्त बुझेन । उनले अहिलेको गीतको केही आंशिक धुन लिएर डीएन स्टुडियो पुगे । त्यहाँ दिनेश दाहाल भेटिए । जो आफैंमा स्टुडियो सञ्चालक र राम्रा कम्पोजर पनि हुन् । उनैलाई प्रकाशले आफूले बनाएको खेस्रा धुन सुनाए । त्यसमा दिनेशले थप मेहनत गरे । दुवैले मिलेर खेस्रा शब्दमा केही तलमाथि गरे । धुनहरूङ्गा काम गरे ।

त्यसपछि ?

त्यसपछि अहिलेको ‘सेतो फूल’ तयार भयो । र, राकेशको नाममा दोस्रो नेपाली गीतको रूपमा दर्ज हुन पुग्यो ।

प्रकाशका अनुसार यो गीतमा फूललाई लिएर पुरुषको भावना कहिएको छ । जुन कुरा भिडियोमा पनि देख्न सकिन्छ । के केटाले फूल पाउन मृत्यु नै रोज्नु पर्ने हो ? यो प्रश्नमा डुब्दै जाँदा उनले सुरुमा कथा लेखेका थिए । पछि त्यसैमा आधारित भएर गीतका शब्दहरू लेखेका थिए ।

उनी केटाहरूलाई पनि उत्तिकै मात्रामा फूलहरू मन पर्ने, केटाहरू पनि फूलहरूको सौन्दर्यमा डुब्न सक्ने कुरा सुनाउन चाहन्थे । त्यसमाथि सतो फूल त उनको प्रिय फूल नै हो ।

अनि फूल, प्रेम र सम्झनाको कथा कहने यो गीतको म्युजिकल फिल्म पनि उस्तै जबरजस्त छ ।

सेतो फूल जो आफैंमा निश्चल हुन्छ । पवित्र हुन्छ । त्यसमाथि बनाइएको यो गीत निकै संवेदशील छ । ओजिलो र ओसिलो पनि छ । यसले एउटा गह्रौं भावना गाउँछ । सुन्दै जाँदा मुटु छेड्छ । उस्तै परे हृदयहरू टुक्राटुक्रा बनाउँछ ।

र, यतिको गतिविधि भइसकेपछि पनि राकेश के चुप बस्छन् त  ?

अँह, अब उनी विस्तारै खुल्ने छन् । पहिल्यै तयार बनाएका केही गीतहरू क्रमिक रूपमा रिलिज गर्ने छन् ।

तर उनी सदा गुनगुनाइरहने छन्:

सम्झनाका फूल तिमीलाई
यादहरू पनि
साँची राख माया मेरा
म टाढा भए पनि

याद बोकेर हिँडेका बादल
झरी रूपमा तिमीलाई भिँजाउलान्

तिमी एक्लै हिँड्दा
यी फूलहरूले मेरा सम्झनालाई फेरि फर्काउलान्
सँगै काटेका ती पलहरूले
ती आँसु फेरि पोखिएलान्

फेरि फुल्छन् यी फूलहरू
टिपेर शेरमा सजाउनू
मेरा याद आए भने
मलाई सेतो फूल चढाउनू

मायाका कुरा बाँकी छन्
तिमी आउनू, म त्यहीँ फर्खिउँला
सम्झनाका फूलहरू तिमीलाई
अनि सेतो फूल मलाई

लेखक
सापेक्ष

सापेक्ष अनलाइनखबरमा कला, मनोरञ्जन विधामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?