+
+
Shares

एक दर्जन सडक आयोजनालाई ४४ अर्ब ३३ करोड बराबर बहुवर्षीय स्रोत सहमति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ९ गते १३:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय योजना आयोगले १३ सडक आयोजनाका लागि ४४ अर्ब ३३ करोड रुपैयाँ बराबर बहुवर्षीय स्रोत सहमति सिफारिस गरेको छ।
  • हुलाकी राजमार्गमा ६९ पुल, १० कल्भर्ट र १५० किलोमिटर सडक निर्माणका लागि २९ अर्ब ७ करोड १९ लाख स्रोत सहमति सिफारिस भएको छ।
  • काठमाडौं उपत्यका मेट्रो रेलको विस्तृत अध्ययनका लागि ३२ करोड ३७ लाख रुपैयाँ बराबर स्रोत सहमति सिफारिस गरिएको छ।

९ वैशाख, काठमाडौं । राष्ट्रिय योजना आयोगले एक दर्जन सडक आयोजनाका लागि ४४ अर्ब ३३ करोड रुपैयाँ बराबर बहुवर्षीय स्रोत सहमति दिन सिफारिस गरेको छ ।

आयोगको ४ वैशाखको बैठकले सो निर्णय गरेको हो । आयोगका अनुसार भौतिक पूर्वाधार मन्त्रालयबाट माग भए अनुसार कुल ४४ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ लागतका १३ आयोजनाका लागि यस्तो सिफारिस गरी अर्थ मन्त्रालयमा पठाइएको छ ।

आयोगका अनुसार हुलाकी राजमार्गमा पुलहरूसमेत ७ वटा सडक खण्ड निर्माण गर्न २९ अर्ब ७ करोड १९ लाख रुपैयाँ बराबरको स्रोत सहमति सिफारिस भएको छ । चालु आर्थिक वर्षका लागि यो आयोजनामा ३ अर्ब ४६ करोड रुपैयाँ बराबर बजेट विनियोजन भएको छ । यस आयोजना अन्तर्गत ६९ वटा पुल, १० कल्भर्ट, १५० किलोमिटर सडक निर्माणको योजना छ ।

उता, डुम्रे–बेशीशहर–चामे–मनाङ सडक योजनाका लागि ६८ करोड रुपैयाँ बराबरको स्रोत सहमति सिफारिस आयोगले गरेको छ । यस आयोजनामा चालु आवमा ३८ करोड ५४ लाख बजेट राखिएको छ ।

कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक अन्तर्गत छुसाङ पुलदेखि घमीसम्म ४०.२० किलोमिटर सडक निर्माणलाई ३ अर्ब १५ करोड स्रोत सहमति सिफारिस गरिएको छ । यस आयोजनामा चालु आवमा ६८ करोड १३ लाख बजेट विनियोजन गरिएको छ ।

आयोगका अनुसार तमोर कोरिडोर (सुभाङखोला–दोभान–ओलाङचुङगोला) सडक अन्तर्गत इलाडाँडा–ओलाङचुङगोला सडकलाई ५२ करोड स्रोत सहमतिको सिफारिस भएको छ ।

यो आयोजनालाई चालु आवमा २० करोड ५७ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ । मिर्चैया कटारी घुर्मी सडक अन्तर्गत सिमलटारदेखि बेतिति ३०.५ किलोमिटर सडकका लागि ३ अर्ब ९४ करोड स्रोत सहमतिको सिफारिस भएको छ । यस आयोजनालाई चालु आवमा १ अर्ब ३ करोड बराबर बजेट विनियोजन भएको छ ।

खाँदबारी–किमाथांका सडक अन्तर्गत दोभान–बरुण सडक खण्डलाई २ अर्ब ४३ करोड बराबर स्रोत सहमतिको सिफारिस भएको योजना आयोगले जनाएको छ । सोही आयोजनाको खाँदबारी–किमाथांका सडकलाई १ अर्ब ५९ करोड बराबरको स्रोत सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको छ ।

सालझण्डी–सन्धीखर्क सडक आयोजनालाई ८९ करोड ४९ लाख, सडक डिभिजन चरिकोटलाई विभिन्न तीन आयोजनालाई क्रमशः १० करोड १५ लाख, २५ करोड २८ लाख र ८६ करोड ३८ लाख बराबर स्रोत सहमतिको सिफारिस गरिएको छ ।

काठमाडौं उपत्यका मेट्रो रेलको विस्तृत अध्ययन/सम्भाब्यता अध्ययनका लागि ३२ करोड ३७ लाख बराबर स्रोत सहमतिको सिफारिस भएको छ । गोरखा सडक योजना अन्तर्गत ५१ करोड बराबरको बहुवर्षीय स्रोत सहमतिका लागि सिफारिस भएको योजना आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?