News Summary
Generated by OK AI. Editorially reviewed.- गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सिलेन्स सेन्टर काठमाडौंले जितेको छ।
- फाइनलमा एन्जलस स्पोर्ट्स एकेडेमीलाई ३६ रनले हराउँदै सीईसी च्याम्पियन बनेको हो।
- विजेता सीईसीले १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता एन्जलसले ४१ हजार रुपैयाँ पाएको छ।
९ वैशाख, काठमाडौं । गौरीशंकर सुपर लिग यू–१७ ब्वाइज क्रिकेट प्रतियोगिताको उपाधि क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाडौंले जितेको छ । बुधबार भएको फाइनलमा एन्जलस स्पोर्ट्स एकेडेमीलाई ३६ रनले हराउँदै सीईसी च्याम्पियन बनेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सीईसीले २० ओभरमा सबै विकेट गुमाउँदै १०५ रन बनाएको थियो । टोलीका लागि दिनेश बोहराले १० बलमा २ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक २७ रन बनाए । बुद्धिमान विष्टले १९ रन र कप्तान प्रसिद्ध जैशीले १७ रनको योगदान दिए । एन्जलसका धिरज यादव र प्रह्लाद गौतमले २–२ विकेट लिए ।
१०६ रनको लक्ष्य पछ्याएको एन्जलस १८.२ ओभरमा ६९ रनमै अलआउट भयो । विशाल ऐयरले २१ रन बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।
सीईसीका दिनेश बोहराले ब्याटिङसँगै बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । अनिकेत सिंहले २ विकेट लिएर साथ दिए ।
फाइनल खेलमा क्यानका सचिव पारस खड्का प्रमुख अतिथि थिए । राखेप सदस्य जगत टमाटा, समाजसेवी केदार खड्का र गौरीशंकर गाउँपालिकाकी उपाध्यक्ष उमा मगर शेर्पाको पनि उपस्थिति थियो । विजेता र उपविजेतालाई अतिथिहरूले पुरस्कार वितरण गरे ।
एन्जलसका सन्दीप साउद प्लेयर अफ द टूर्नामेन्ट चुनिए भने उत्कृष्ट ब्याटर जोय थापा र उत्कृष्ट बलर साईमन पन्त घोषित भए । उत्कृष्ट प्रदर्शन गरेका साउदले ब्याट पुरस्कार प्राप्त गरे ।
उपाधि विजेता सीईसी काठमाडौंले ट्रफी, मेडलसहित १ लाख १ हजार रुपैयाँ नगद पुरस्कार जित्यो भने उपविजेता एन्जलसले ४१ हजार रुपैयाँ प्राप्त गर्यो ।

प्रतिक्रिया 4