११ वैशाख, काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा पुन: प्रतिष्ठानकै स्वामित्वमा कायम राख्ने सरकारको निर्णयप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
२१ भदौ २०७५ को मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । बिहीबारको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जस्थित शीतल निवाससँगै जोडिएको प्रहरी एकेडेमीको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय उल्ट्याएको थियो ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् सरकारबाट भएको उक्त निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
सरकारले १० वैशाखमा प्रतिष्ठानको ११४ रोपनी ३ आना क्षेत्रफलको जग्गा पुन: पूर्ववत् रूपमा प्रतिष्ठानकै स्वामित्वमा कायम रहने निर्णय गरेको थियो ।
‘नेपाल सरकारबाट भएको निर्णय नेपाल प्रहरी संगठनका लागि अत्यन्त महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि हो,’ महानिरीक्षक कार्कीले फेसबुकमा लेखेका छन्, ‘निर्णयले नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, दीर्घकालीन भौतिक पूर्वाधार विकास तथा व्यावसायिक दक्षता अभिवृद्धिमा दूरगामी सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।’
उनले आगामी दिनहरूमा समेत नेपाल प्रहरीको संस्थागत सुदृढीकरण, पेशागत क्षमता तथा मनोबल अभिवृद्धि एवं प्रभावकारी सेवा प्रवाहका लागि सरकारबाट निरन्तर अभिभावकत्व प्राप्त भइरहने अपेक्षा पनि व्यक्त गरेका छन् ।
प्रतिक्रिया 4