+
+
Shares

‘बचत पासबुक’ छ, सहकारी संस्था नै छैन 

राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अनुसार हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था, सन्ध्या बचत तथा ऋण सहकारी संस्था र प्रस्पर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता छन्, तर संस्था तथा सञ्चालककै अत्तोपत्तो नभएको अवस्था छ ।

भुवन पौडेल भुवन पौडेल
२०८३ वैशाख ११ गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाम्रो प्यासिफिक, सन्ध्या र प्रस्पर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा बचत फिर्ताका लागि निवेदन दिएका छन्।
  • प्राधिकरणले ती संस्थाको ठेगाना र सञ्चालकको कुनै जानकारी पाउन नसकेको र बचत फिर्ता गर्ने अनुमान गर्न नसकिने जनाएको छ।
  • ती ३ संस्थाका बचतकर्ताले करिब ८ करोड रुपैयाँभन्दा बढी रकम फिर्ता माग गरेका छन् र प्राधिकरणले मन्त्रालयमा समस्याग्रस्त घोषणा सिफारिस गरेको थियो।

११ वैशाख, काठमाडौं । हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्था, सन्ध्या बचत तथा ऋण सहकारी संस्था र प्रस्पर बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरू राष्ट्रिय सहकारी नियमन प्राधिकरण आएर  बचत फिर्ताका लागि निवेदन दिएका छन् ।

बचतकर्ताले निवेदन दिएपछि प्राधिकरणले ती संस्थाको ठाउँ-ठेगाना र सम्पर्क व्यक्तिहरू खोज्यो । तर, संस्था तथा सञ्चालककै कुनै जानकारी प्राप्त नभएको प्राधिकरणका एक उच्च अधिकारीले बताए ।

‘संस्था तथा सञ्चालककै केही जानकारी तथा विवरण पाउन सकिएन,’ ती अधिकारीले भने, ‘बचत पासबुक लिएर प्राधिकरण र सहकारी बचकर्ता संरक्षण राष्ट्रिय अभियानको सम्पर्कमा आएको हुनाले उनीहरूले भने अनुसार स्थानमा पुगी स्थानियसँग सोधपुछ गरेर संकलन गरिएको विवरणका आधारमा मात्र प्रतिवेदन तयार पारिएको छ ।’

त्यस्ता संस्थाका बचतकर्तालाई कसरी र कति बचत फिर्ता गर्ने भन्ने अनुमान समेत गर्न सकिने अवस्था नभएको ती अधिकारीले बताए ।

सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत दुरुपयोग तथा कर्जा अपचलन गरेर बचत फिर्ता नदिएका समस्या लामाे समयदेखि दोहोरिरहेका छन् । तर, यी तीन संस्थाको सन्दर्भमा भने फरक खालको ठगी देखिएको छ ।

तर, संस्थाको सञ्चालक र ठेगाना पाइएन भनेर बचतकर्ताको बचत फिर्ता गराउने जिम्मेवारीबाट पन्छिन नमिल्ने सरोकारवालाहरू बताउँछन् ।

संस्थाको केही न केही विवरण हुने भएकाले त्यसका आधारमा कारबाही गरेर बचतकर्ताको बचत फिर्ता गर्न सकिने पूर्वसचिव गोपीनाथ मैनालीले बताए ।

संस्थाको ठेगाना, दर्ता नाम, दर्ता गर्दाका सञ्चालक केही त विवरण नहुने भन्ने कुरा हुँदैन,’ मैनालीले भने, ‘त्यस्तो विवरण केही पनि छैन भने त्यो संस्थागत ठग होइन, व्यक्तिगत ठगी हो ।’

संस्था छाडिसकेको भनेर पूर्व सञ्चालक वा संस्थाका अधिकारीलाई मुक्ति दिएको खण्डमा यस्ता समस्या समाधान नै गर्न नसकिने उनको भनाइ छ ।

सहकारी क्षेत्रको समस्या सम्बोधन गर्न विगतदेखिका सञ्चालकलाई पनि जिम्मेवार बनाउनुपर्ने उनी सुझाउँछन् ।

संस्थाको कार्यालय स्थानान्तरण भएको हुन सक्ने उनले बताए । ‘संस्था भाग्दै भाग्दैन, व्यक्ति भाग्यो होला, त्यसमा प्राधिकरणले खोज्नुपर्‍यो, प्राधिकरणले काम गर्ला जस्तो नै लाग्दैन,’ उनले भने ।

प्राधिकरणले निर्देशिका जारी गरेर बस्न नमिल्ने उनको भनाइ छ । सकारीलाई दर्तामा समेत ल्याउन नसकेको संस्थाले सम्पर्कमा नै नभएका संस्थाबाट बचतकर्तालाई बचत फिर्ता दिलाउला भन्ने अपेक्षा गर्न नसकिने उनको तर्क छ ।

केही महिनाअघि प्राधिकरणले १६ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सिफारिस गरेको थियो ।

मन्त्रालयले प्रक्रिया नपुगेकाले समस्याग्रस्त घोषणा गर्न नमिल्ने भन्दै फिर्ता गरेको थियो । कुनै पनि विवरण नभएका ती सहकारी संस्था त्यही सूचीभित्रका हुन् । संस्था समस्याग्रस्त घोषणा हुनुपर्ने भए पनि विवरण पर्याप्त नभएपछि मन्त्रालयले फिर्ता गरेको प्राधिकरणका ती अधिकारीको भनाइ छ ।

‘मन्त्रालयले फिर्ता गरेको छ, संस्थाको थप विवरण पाउने अवस्था छैन,’ ती अधिकारीले भने, ‘मन्त्रालयले फिर्ता गरेपछि कसरी सुल्झाउने भन्ने अन्योल छ ।’

समस्याग्रस्त घोषणा गर्ने सन्दर्भमा कार्यक्षेत्र र संस्था दर्ता भएको निकायबाट प्रक्रिया सुरु गर्ने ती १६ सहकारीको फाइल सम्बन्धित निकायमा फाइल पठाएको उनले बताए ।

प्राधिकरणले मन्त्रालयमा पठाएको विवरण अनुसार हाम्रो प्यासिफिक बचत तथा ऋण सहकारी संस्थाका ४ जना बचतकर्ताले करिब ४९ लाख ८३ हजार रुपैयाँ बचत फिर्ता माग गरेका छन् ।

उक्त संस्थाले बचतकर्तालाई दिएको बचत पासबुक अनुसार संस्थाको ठेगाना काठमाडौ महानगरपालिका वडा नम्बर १३ छ । उक्त संस्था धेरै समय पहिले समस्यामा परेको र बाँकी सबै बचतकर्ताको रकम फिर्ता गरेर संस्था नै खारेज भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका एक सदस्यले बताए ।

त्यसैगरी सन्ध्या बचत तथा ऋण सहकारी संस्थाका ४८ बचतकर्ताले २ करोड ९८ लाख ६१ हजार रुपैयाँ माग दाबी गर्दै प्राधिकरणमा निवेदन दिएका छन् ।

प्राधिकरणले सोही आधारमा समस्याग्रस्त घोषणा गर्ने सिफारिस गरेको थियो । बचतकर्ताले पाएको बचत पासबुक अनुसार संस्थाको ठेगाना काठमाडौं महानगरपालिका वडा नम्बर ३१ छ । त्यसभन्दा बढी विवरण प्राधिकरणले तयार गरेको फाइलमा छैन ।

अर्को प्रस्पर बचत तथा ऋण सहकारी संस्थाका १ सय ३० बचतकर्ताले ५ करोड १४ लाख ४८ हजार रुपैयाँ माग दाबी गर्दै प्राधिकरणमा निवेदन दिएका छन् ।

बचकर्ताले आफूले बचत फिर्ता नपाएको र बचत जम्मा गरेको प्रमाण बचत पासबुक सहित प्राधिकरण पुगेका थिए । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ मा कार्यालय भएको भनिएको संस्था तथा सञ्चालकको खोजी प्राधिकरण र अभियानले संयुक्त रूपमा गर्दा कुनै पनि थप जानकारी पाउन नसकेपछि स्थानीयलाई सोधेर फाइल तयार गरेर प्राधिकरणका ती अधिकारीको भनाइ छ । त्यस आधारमा फाइल तयार गरेर मन्त्रालय पठाइए पनि फिर्ता आएको ती अधिकारी बताउँछन् ।

लेखक
भुवन पौडेल

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत पौडेल बैंक, वित्तीय तथा नेपाल धितोपत्र बजारमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?