+
+
Shares

डर र त्रास सिर्जना भएकोमा सुकुमवासीसँग रञ्जु दर्शनाले मागिन् माफी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते ७:४५

१२ वैशाख, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ की सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शनाले थापाथलीस्थित अव्यवस्थित बस्ती हटाउने क्रममा छोटो सूचनाका कारण सिर्जना भएको डर र त्रासप्रति सुकुमवासीहरूसँग माफी मागेकी छन्।

शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले अव्यवस्थित बस्तीलाई व्यवस्थित बनाउने सरकारी कदम सुखद भए पनि विकल्प र स्पष्ट जानकारीविना छोटो समयमै काम अघि बढाउँदा असली सुकुमवासीहरू अन्योल र त्रासमा परेको बताएकी छन्।

‘असली सुकुमबासीहरूले निकै कम सूचनामा के कसो गर्ने होला भनेर सोच्न नभ्याउँदै अब के होला भन्ने अन्योलतामा रहनुपरेको छ। यो कार्य निकै कम समयमा भएको छ,’ उनले लेखेकी छन्, ‘म यहाँहरू सबै सँग यो डर र त्रासको लागि माफी माग्न चाहन्छु।’

सांसद दर्शनाले सुकुमवासी र ‘हुकुमवासी’ छुट्ट्याएर असली सुकुमवासीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने आफ्नो स्पष्ट धारणा रहेको बताएकी छन्। दशकौँसम्म सुकुमवासीलाई भोट बैंक (अङ्कगणित) को रूपमा मात्रै प्रयोग गर्नु र आधारभूत सुविधाबाट वञ्चित राखिराख्नुलाई उनले अपराधको संज्ञा दिएकी छन्।

‘काम त गर्नै पर्ने थियो कि आज कि भोलि तर पहिले सुकुमवासी र हुकुमवासी छुट्टाएर गर्दा ठिक हुनेथियो,’ उनले भनेकी छन्, ‘दुःखी, पीडित सुकुमवासीको कहाँ व्यवस्थापन हुने, स्पष्ट जानकारी दिँदा डर र त्रासको सट्टा आड र भरोसा हुन्थ्यो राज्यप्रति।’

दर्शनाले प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष आफूले मन्त्रिपरिषद्को चैत १३ को बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको बुँदा नम्बर ९१ पहिला कार्यान्वयन गर्न अनुरोध गरेको समेत खुलाएकी छन्। यद्यपि, आफ्नै पार्टी नेतृत्वको सरकार भएकाले टिम स्पिरिटमा काम गर्नुपर्ने र आफ्नो रायअनुसार नहुँदैमा रुवाबासी गर्नुको अर्थ नहुने उनले बताएकी छन्।

उनले सुकुमवासीहरूलाई आश्वस्त पार्दै लेखेकी छन्, ‘तपाईंको लागि सुरक्षित बास मिलाउन सरकार छ। हुनैपर्छ।’
सांसद दर्शनाले सुरक्षा निकायलाई संयमित भएर कार्य गर्न विशेष अपिल गरेकी छन्। उनले भनेकी छन्, ‘भिडन्त होइन भिड शान्त, बल होइन बुद्धि, त्रास होइन, भरोसा र हटाउने मात्र होइन, व्यवस्थापन गर्ने ।’

आगामी दिनमा सुकुमवासीहरूलाई ‘आफ्नै लालपुर्जा भएको नागरिक’ को रूपमा भेट्ने आशा सांसद दर्शनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?