+

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

२०८३ वैशाख  १५ गते १३:११ २०८३ वैशाख १५ गते १३:११

यो रोग प्रायः २० वर्षभन्दा कम उमेरका युवाहरूमा देखिन्छ र विशेषगरी केटाहरूमा यसको जोखिम बढी हुन्छ ।

Shares
‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंका एक विद्यार्थीमा दुई–तीन वर्षअघि सुरु भएको हात काँप्ने र मांसपेशी कमजोर हुने समस्या पछि हिरायामा रोग पुष्टि भयो।

उच्च माध्यमिक तहमा अध्ययनरत काठमाडौंका एक विद्यार्थीले करिब दुई–तीन वर्षअघि एउटा सानो तर अनौठो समस्या अनुभव गर्न थाले ।

गेम खेल्दा किबोर्ड थिच्ने क्रममा आफ्नो हात आफैं काँप्ने । सुरुमा उनले यसलाई सामान्य थकान, कमजोरी वा धेरै समयसम्म मोबाइल–कम्प्युटर चलाउँदा हुने समस्या ठानेर बेवास्ता गरे ।

तर समयसँगै समस्या बिस्तारै बढ्दै गयो । हातको काप्ने मात्र होइन, उनको एउटा हात क्रमशः दुब्लो देखिन थाल्यो ।

लेखाइ बिग्रियो, अक्षरहरू पहिले जस्तो स्पष्ट रहेनन्, र दायाँ हातले पहिले जस्तो बल प्रयोग गर्न नसक्ने अवस्था आयो । कलम समात्ने, बटन लगाउने वा किबोर्ड टाइप गर्ने जस्ता साना काम पनि गर्न कठिन हुन थाल्यो । पढाइको व्यस्तता, परीक्षा र आफ्नै लापरवाहीका कारण उनले यो समस्यालाई लामो समयसम्म गम्भीर रूपमा लिएनन् ।

‘आफैं ठीक हुन्छ’ भन्ने सोचले त्यति चासो देखाएनन् । अन्ततः जब अभिभावकले उनको हातमा आएको परिवर्तन देखे र अस्पताल लगे, तब मात्र जाँचपछि उनलाई ‘हिरायामा रोग’ भएको पुष्टि भयो ।

यो एक दुर्लभ तर गम्भीर खालको स्नायु सम्बन्धी रोग हो ।

हिरायामा रोग कस्तो स्वास्थ्य समस्या ?

हिरायामा रोग किशोरावस्थामा देखिने एक प्रकारको स्नायु सम्बन्धी समस्या हो, जसले मुख्यतः हात र पाखुराको मांसपेशीलाई असर गर्छ । यो समस्या घाँटीभित्रको स्पाइनल कर्डमा सुरु हुन्छ । जब घाँटी अगाडि झुक्छ, स्पाइनल कर्ड तन्किन्छ र त्यसमा दबाब पर्छ ।

यही कर्डबाट हाततर्फ जाने स्नायु निस्कने भएकाले त्यहीँ क्षति हुँदा हातका मांसपेशी कमजोर र सुक्दै जान्छन् । यसलाई ‘किशोरावस्थामा देखिने माथिल्लो हातको मांसपेशी क्षय रोग’ पनि भनिन्छ ।

यो रोग प्रायः २० वर्षभन्दा कम उमेरका युवाहरूमा देखिन्छ र विशेषगरी केटाहरूमा यसको जोखिम बढी हुन्छ । यसको सुरु हुने तरिका बिस्तारै हुने भएकाले धेरैजसो अवस्थामा बिरामी वा अभिभावकले गम्भीर रूपमा लिँदैनन् ।

यस रोगमा मुख्य रूपमा मांसपेशी सुक्दै जाने र कमजोरी बढ्दै जाने समस्या देखिन्छ । समयसँगै प्रभावित हातको आकार र शक्ति दुवै घट्न सक्छ।

किन हुन्छ हिरायामा रोग ?

हिरायामा रोगको कारण पूर्णरूपमा स्पष्ट नभए पनि विशेषज्ञहरूका अनुसार यसको सम्बन्ध किशोरावस्थामा हुने तीव्र शारीरिक विकाससँग जोडिएको छ।

यस उमेरमा मेरुदण्ड र स्पाइनल कर्डको विकास समान रूपमा नहुँदा समस्या उत्पन्न हुन सक्छ । विशेषगरी घाँटी अगाडि झुकाउँदा स्पाइनल कर्ड तन्किने र पछाडितिर सर्ने हुँदा त्यसमा दबाब पर्छ । यही दबाबका कारण स्नायुमा बिस्तारै क्षति पुग्छ ।

यसरी बारम्बार हुने सानो–सानो क्षतिले समयसँगै हातको मांसपेशीलाई कमजोर बनाउँदै लैजान्छ । यही कारणले यो रोग प्रायः तीव्र शारीरिक वृद्धि हुने किशोरावस्थामा बढी देखिन्छ ।

के–के हुन्छन् लक्षण ?

हिरायामा रोगका लक्षणहरू सुरुमा सामान्य देखिए पनि समयसँगै स्पष्ट हुँदै जान्छन् । सबैभन्दा पहिले देखिने लक्षण भनेको हात काँप्नु हो । विशेषगरी औंला सिधा पार्दा काँपाइ बढी देखिन्छ । यससँगै हातको सानो औंलातर्फको भागमा मांसपेशी घट्दै जान्छ, जसले गर्दा हात असन्तुलित वा ढल्किएको जस्तो देखिन सक्छ ।

त्यस्तै, लेखाइ बिग्रनु, सानो–सानो काम गर्न गाह्रो हुनु, वस्तु समात्दा बल कम लाग्नु र खेलकुदमा प्रदर्शन घट्ने जस्ता अन्य लक्षण देखिन्छ । चिसोमा लक्षण झन् स्पष्ट देखिन्छ भने गर्मीयाममा केही सुधार भएको जस्तो महसुस हुन सक्छ ।

धेरैजसो अवस्थामा यो समस्या एक हातमा बढी देखिन्छ, तर केही बिरामीहरूमा दुवै हात प्रभावित हुन सक्छन् ।

सतहमा नआएको यो समस्या

नेपालको सन्दर्भमा यस्ता लक्षणहरूलाई प्रायः सामान्य कमजोरी, पोषणको कमी वा अभ्यासको अभाव भनेर बेवास्ता गरिन्छ । कतिपयको हकमा यो समस्या हो भनेर किटान गर्न नसक्दा पनि यो सतहमा आइपुग्दैन । किशोरहरू आफैं पनि यस्ता समस्या लुकाउने गर्छन् । यही कारणले धेरैजसो केसमा रोग पहिचान ढिलो हुन्छ, जसले दीर्घकालीन असरको जोखिम बढाउँछ ।

कसरी गरिन्छ पहिचान ?

सामान्य जाँचले मात्र यो रोग पत्ता लगाउन कठिन हुँदा विशेष जाँच आवश्यक हुन्छ ।घाँटीको एमआरआई, विशेषगरी घाँटी झुकाएर गरिने एमआरआई, यो रोग पहिचान गर्न सबैभन्दा महत्वपूर्ण परीक्षण हो । यसले स्पाइनल कर्डमा भएको असामान्य परिवर्तन देखाउँछ ।

यसका साथै, मांसपेशी र स्नायुको कार्यक्षमता मूल्याङ्कन गर्न (इलेक्ट्रोमायोग्राफी) र नर्भ कन्डक्सन स्टडी पनि गरिन्छ । यी परीक्षणहरूले स्नायु प्रणालीको अवस्था स्पष्ट रूपमा बुझ्न मद्दत गर्छन् ।

यदि समयमै यी परीक्षणहरू गरिएन भने रोग पहिचानमा ढिलाइ हुन सक्छ ।

उपचार कसरी हुन्छ ?

हिरायामा रोगको उपचार मुख्यतः रोगको प्रगति रोक्ने र लक्षण नियन्त्रण गर्नेमा केन्द्रित हुन्छ । घाँटीको बेल्ट लामो समयसम्म लगाउनु उपचारको मुख्य आधार हो । यसले घाँटी झुक्दा स्पाइनल कर्डमा पर्ने दबाब कम गर्छ ।

फिजियोथेरापीमार्फत हातको मांसपेशी मजबुत बनाउने प्रयास गरिन्छ, जसले दैनिक काम गर्न सहज बनाउँछ । केही अवस्थामा स्नायु पोषणका औषधिहरू पनि दिइन्छन्, तर तिनको प्रभाव सीमित हुन सक्छ । यदि रोग गम्भीर अवस्थामा पुगेको छ वा अन्य उपाय प्रभावकारी नभएमा शल्यक्रिया पनि विकल्प हुनसक्छ ।

हिरायामा रोगको एउटा विशेषता भनेको यसको ‘सेल्फ लिमिटिङ’ प्रकृति हो । यसको अर्थ केही समयपछि यसको वृद्धि आफैं रोकिन सक्छ ।

सामान्यतया २ देखि ५ वर्षभित्र रोगको वृद्धि थामिन्छ । तर यसको अर्थ रोग पूर्णरूपमा निको हुन्छ भन्ने होइन । यदि सुरुमै उपचार गरिएन भने हात स्थायी रूपमै कमजोर हुन सक्छ । यसले दीर्घकालीन असर पार्न सक्छ ।

दीर्घकालीन असर के हुन सक्छ ?

यदि समयमै उपचार गरिएन भने हातको स्थायी कमजोरी, मांसपेशी सुक्ने समस्या, दैनिक काममा कठिनाइ, पेशागत क्षमतामा कमी र विशेषगरी हातको प्रयोग बढी हुने काम गर्ने व्यक्तिहरूका लागि यो समस्या गम्भीर बन्न सक्छ ।

किन सचेत हुनु आवश्यक छ ?

हिरायामा रोग दुर्लभ भए पनि यसको असर गम्भीर हुन सक्छ । त्यसैले, हात काँप्ने, मांसपेशी घट्दै जाने, लेखाइ बिग्रने, हात कमजोर हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्नायु रोग विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ ।

हात काँप्ने हिरायामा
डा. नरेन्द्र लामिछाने
लेखक
डा. नरेन्द्र लामिछाने
अकुपञ्चर विशेषज्ञ

अकुपञ्चर विशेषज्ञ डा. लामिछाने हाल पोखरीस्थित गण्डकी आयुर्वेद अस्पतालमा कार्यरत छन्। अकुपञ्चरमा एमडी गरेका उनको नेपाल आयुर्वेद मेडिकल काउन्सिल दर्ता नम्बर ६६६ रहेको छ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण

रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण

के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

के राति फल खानु हानिकारक हुन्छ ? जानौं वास्तविकता

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?

हाम्रो शरीरमा हुन्छन् विभिन्न प्रकारका बोसो, कुनको काम के ?

एआईबाट स्वास्थ्य सल्लाह लिनु सही कि गलत ? अनुसन्धानमा यस्तो देखियो

एआईबाट स्वास्थ्य सल्लाह लिनु सही कि गलत ? अनुसन्धानमा यस्तो देखियो

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?