News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौंका एक विद्यार्थीमा दुई–तीन वर्षअघि सुरु भएको हात काँप्ने र मांसपेशी कमजोर हुने समस्या पछि हिरायामा रोग पुष्टि भयो।
उच्च माध्यमिक तहमा अध्ययनरत काठमाडौंका एक विद्यार्थीले करिब दुई–तीन वर्षअघि एउटा सानो तर अनौठो समस्या अनुभव गर्न थाले ।
गेम खेल्दा किबोर्ड थिच्ने क्रममा आफ्नो हात आफैं काँप्ने । सुरुमा उनले यसलाई सामान्य थकान, कमजोरी वा धेरै समयसम्म मोबाइल–कम्प्युटर चलाउँदा हुने समस्या ठानेर बेवास्ता गरे ।
तर समयसँगै समस्या बिस्तारै बढ्दै गयो । हातको काप्ने मात्र होइन, उनको एउटा हात क्रमशः दुब्लो देखिन थाल्यो ।
लेखाइ बिग्रियो, अक्षरहरू पहिले जस्तो स्पष्ट रहेनन्, र दायाँ हातले पहिले जस्तो बल प्रयोग गर्न नसक्ने अवस्था आयो । कलम समात्ने, बटन लगाउने वा किबोर्ड टाइप गर्ने जस्ता साना काम पनि गर्न कठिन हुन थाल्यो । पढाइको व्यस्तता, परीक्षा र आफ्नै लापरवाहीका कारण उनले यो समस्यालाई लामो समयसम्म गम्भीर रूपमा लिएनन् ।
‘आफैं ठीक हुन्छ’ भन्ने सोचले त्यति चासो देखाएनन् । अन्ततः जब अभिभावकले उनको हातमा आएको परिवर्तन देखे र अस्पताल लगे, तब मात्र जाँचपछि उनलाई ‘हिरायामा रोग’ भएको पुष्टि भयो ।
यो एक दुर्लभ तर गम्भीर खालको स्नायु सम्बन्धी रोग हो ।
हिरायामा रोग कस्तो स्वास्थ्य समस्या ?
हिरायामा रोग किशोरावस्थामा देखिने एक प्रकारको स्नायु सम्बन्धी समस्या हो, जसले मुख्यतः हात र पाखुराको मांसपेशीलाई असर गर्छ । यो समस्या घाँटीभित्रको स्पाइनल कर्डमा सुरु हुन्छ । जब घाँटी अगाडि झुक्छ, स्पाइनल कर्ड तन्किन्छ र त्यसमा दबाब पर्छ ।
यही कर्डबाट हाततर्फ जाने स्नायु निस्कने भएकाले त्यहीँ क्षति हुँदा हातका मांसपेशी कमजोर र सुक्दै जान्छन् । यसलाई ‘किशोरावस्थामा देखिने माथिल्लो हातको मांसपेशी क्षय रोग’ पनि भनिन्छ ।
यो रोग प्रायः २० वर्षभन्दा कम उमेरका युवाहरूमा देखिन्छ र विशेषगरी केटाहरूमा यसको जोखिम बढी हुन्छ । यसको सुरु हुने तरिका बिस्तारै हुने भएकाले धेरैजसो अवस्थामा बिरामी वा अभिभावकले गम्भीर रूपमा लिँदैनन् ।
यस रोगमा मुख्य रूपमा मांसपेशी सुक्दै जाने र कमजोरी बढ्दै जाने समस्या देखिन्छ । समयसँगै प्रभावित हातको आकार र शक्ति दुवै घट्न सक्छ।
किन हुन्छ हिरायामा रोग ?
हिरायामा रोगको कारण पूर्णरूपमा स्पष्ट नभए पनि विशेषज्ञहरूका अनुसार यसको सम्बन्ध किशोरावस्थामा हुने तीव्र शारीरिक विकाससँग जोडिएको छ।
यस उमेरमा मेरुदण्ड र स्पाइनल कर्डको विकास समान रूपमा नहुँदा समस्या उत्पन्न हुन सक्छ । विशेषगरी घाँटी अगाडि झुकाउँदा स्पाइनल कर्ड तन्किने र पछाडितिर सर्ने हुँदा त्यसमा दबाब पर्छ । यही दबाबका कारण स्नायुमा बिस्तारै क्षति पुग्छ ।
यसरी बारम्बार हुने सानो–सानो क्षतिले समयसँगै हातको मांसपेशीलाई कमजोर बनाउँदै लैजान्छ । यही कारणले यो रोग प्रायः तीव्र शारीरिक वृद्धि हुने किशोरावस्थामा बढी देखिन्छ ।
के–के हुन्छन् लक्षण ?
हिरायामा रोगका लक्षणहरू सुरुमा सामान्य देखिए पनि समयसँगै स्पष्ट हुँदै जान्छन् । सबैभन्दा पहिले देखिने लक्षण भनेको हात काँप्नु हो । विशेषगरी औंला सिधा पार्दा काँपाइ बढी देखिन्छ । यससँगै हातको सानो औंलातर्फको भागमा मांसपेशी घट्दै जान्छ, जसले गर्दा हात असन्तुलित वा ढल्किएको जस्तो देखिन सक्छ ।
त्यस्तै, लेखाइ बिग्रनु, सानो–सानो काम गर्न गाह्रो हुनु, वस्तु समात्दा बल कम लाग्नु र खेलकुदमा प्रदर्शन घट्ने जस्ता अन्य लक्षण देखिन्छ । चिसोमा लक्षण झन् स्पष्ट देखिन्छ भने गर्मीयाममा केही सुधार भएको जस्तो महसुस हुन सक्छ ।
धेरैजसो अवस्थामा यो समस्या एक हातमा बढी देखिन्छ, तर केही बिरामीहरूमा दुवै हात प्रभावित हुन सक्छन् ।
सतहमा नआएको यो समस्या
नेपालको सन्दर्भमा यस्ता लक्षणहरूलाई प्रायः सामान्य कमजोरी, पोषणको कमी वा अभ्यासको अभाव भनेर बेवास्ता गरिन्छ । कतिपयको हकमा यो समस्या हो भनेर किटान गर्न नसक्दा पनि यो सतहमा आइपुग्दैन । किशोरहरू आफैं पनि यस्ता समस्या लुकाउने गर्छन् । यही कारणले धेरैजसो केसमा रोग पहिचान ढिलो हुन्छ, जसले दीर्घकालीन असरको जोखिम बढाउँछ ।
कसरी गरिन्छ पहिचान ?
सामान्य जाँचले मात्र यो रोग पत्ता लगाउन कठिन हुँदा विशेष जाँच आवश्यक हुन्छ ।घाँटीको एमआरआई, विशेषगरी घाँटी झुकाएर गरिने एमआरआई, यो रोग पहिचान गर्न सबैभन्दा महत्वपूर्ण परीक्षण हो । यसले स्पाइनल कर्डमा भएको असामान्य परिवर्तन देखाउँछ ।
यसका साथै, मांसपेशी र स्नायुको कार्यक्षमता मूल्याङ्कन गर्न (इलेक्ट्रोमायोग्राफी) र नर्भ कन्डक्सन स्टडी पनि गरिन्छ । यी परीक्षणहरूले स्नायु प्रणालीको अवस्था स्पष्ट रूपमा बुझ्न मद्दत गर्छन् ।
यदि समयमै यी परीक्षणहरू गरिएन भने रोग पहिचानमा ढिलाइ हुन सक्छ ।
उपचार कसरी हुन्छ ?
हिरायामा रोगको उपचार मुख्यतः रोगको प्रगति रोक्ने र लक्षण नियन्त्रण गर्नेमा केन्द्रित हुन्छ । घाँटीको बेल्ट लामो समयसम्म लगाउनु उपचारको मुख्य आधार हो । यसले घाँटी झुक्दा स्पाइनल कर्डमा पर्ने दबाब कम गर्छ ।
फिजियोथेरापीमार्फत हातको मांसपेशी मजबुत बनाउने प्रयास गरिन्छ, जसले दैनिक काम गर्न सहज बनाउँछ । केही अवस्थामा स्नायु पोषणका औषधिहरू पनि दिइन्छन्, तर तिनको प्रभाव सीमित हुन सक्छ । यदि रोग गम्भीर अवस्थामा पुगेको छ वा अन्य उपाय प्रभावकारी नभएमा शल्यक्रिया पनि विकल्प हुनसक्छ ।
हिरायामा रोगको एउटा विशेषता भनेको यसको ‘सेल्फ लिमिटिङ’ प्रकृति हो । यसको अर्थ केही समयपछि यसको वृद्धि आफैं रोकिन सक्छ ।
सामान्यतया २ देखि ५ वर्षभित्र रोगको वृद्धि थामिन्छ । तर यसको अर्थ रोग पूर्णरूपमा निको हुन्छ भन्ने होइन । यदि सुरुमै उपचार गरिएन भने हात स्थायी रूपमै कमजोर हुन सक्छ । यसले दीर्घकालीन असर पार्न सक्छ ।
दीर्घकालीन असर के हुन सक्छ ?
यदि समयमै उपचार गरिएन भने हातको स्थायी कमजोरी, मांसपेशी सुक्ने समस्या, दैनिक काममा कठिनाइ, पेशागत क्षमतामा कमी र विशेषगरी हातको प्रयोग बढी हुने काम गर्ने व्यक्तिहरूका लागि यो समस्या गम्भीर बन्न सक्छ ।
किन सचेत हुनु आवश्यक छ ?
हिरायामा रोग दुर्लभ भए पनि यसको असर गम्भीर हुन सक्छ । त्यसैले, हात काँप्ने, मांसपेशी घट्दै जाने, लेखाइ बिग्रने, हात कमजोर हुने जस्ता लक्षण देखिएमा तुरुन्त स्नायु रोग विशेषज्ञसँग परामर्श लिनु आवश्यक हुन्छ ।
प्रतिक्रिया 4