+
+
Shares

डाँकाचोरी निसानामा विदेशबाट फर्केका महिला, गाडी चढ्नासाथ गलाको सिक्री गायब

पछिल्लो समय भने विदेशबाट फर्केका महिला लक्षित उनीहरूले डाँकाचोरी गर्ने गरेको प्रहरीको भनाइ छ । विदेशबाट फर्केकासँग गरगहना तथा नगद हुने सम्भावना रहेको हुनसक्ने भन्दै निगरानी गर्ने र उनीहरू चढेको गाडी चढेर बसभित्रै स्न्याचिङ हुने गरेको प्रहरीको भनाइ छ ।

नारायण अधिकारी नारायण अधिकारी
२०८३ वैशाख १७ गते १७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वैदेशिक रोजगारीबाट फर्किएकी महिलाको गलामा लगाएको डेढ तोलाको सुनको सिक्री र १० हजार रुपैयाँ चोरी भएको घटनामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरूले समूह बनाएर सार्वजनिक गाडीमा चढेर स्न्याचिङ गर्दै आएको र ८/१० जनाको समूहले भिडभाडमा सिक्री थुत्ने गरेको प्रहरीले जनाएको छ।
  • पक्राउ परेका मध्ये २९ वर्षीय रोशन श्रेष्ठ १३ पटक पक्राउ परेका र मुख्य नाइके रहेको तथा अन्य आरोपितहरू पनि पटक-पटक मुद्दा चलाएका छन्।

१७ वैशाख, काठमाडौं । वैदेशिक रोजगारीमा गएकी एक महिला ८ वैशाखमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झरिन् ।

दिउँसो ३ बजेतिर उनी एअरपोर्टस्थित सडकबाट सार्वजनिक बस चढेर कोटेश्वरतर्फ लागिन् । कोटेश्वर नपुग्दै उनले गलामा लगाएको डेढ तोलाको सुनको सिक्री गायब भयो । १० हजार नेपाली रुपैयाँ रहेको पर्ससहितको धनमाल पनि गायब भयो ।

विदेशबाट कमाएको रकम जोहो गरेर किनेको सिक्री, नगद नै हराएको भन्दै ती महिलाले प्रहरी वृत्त गौशालामा निवेदन दिइन् । प्रहरीमा यस्तै शैलीमा अर्को स्न्याचिङ भएको भन्दै खबर पहिला पनि आएको थियो ।

प्रहरीमा आएका उजुरी तथा गुनासाले थाहा भयो–पछिल्लो समय विदेशबाट फर्केका महिलालाई टार्गेट गरेर स्न्याचिङ हुन थाल्यो । प्रहरी वृत्त गौशालाले जाहेरी लिएर अनुसन्धान अघि बढायो ।

प्राविधिक र म्यानुअल अनुसन्धानपछि विदेशबाट फर्केका महिला लक्षित डाँकाचोरी गर्ने केही व्यक्तिको पहिचान गर्न प्रहरीले सफल भयो । सीसीटीभी फुटेजमा देखिएको हुलिया समेतको आधारमा अनुसन्धान अघि बढाएको प्रहरीले अहिले यो प्रकरणमा संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका–८ घर भएका २९ वर्षीय रोशन श्रेष्ठ, काभ्रेको नमोबुद्ध नगरपालिका–५ का ३० वर्षीय गंगे भनिने गंगाबहादुर तामाङ, काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३५ वर्षीय कर्नेश तामाङ लामा, तेमाल–४ घर भएका २८ वर्षीय सुजन लामा, काभ्रेकै नमोबुद्ध नगरपालिका–५ घर भएका ३१ वर्षीय राम लामा, काभ्रेकै पनौती नगरपालिका–६ का ३१ वर्षीय अमृत भुलन छन् ।

उनीहरूलाई काठमाडौं महानगरपालिका–७ कालोपुलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले बताए । उनीहरूबाट १० हजार रकम र ६ थान मोबाइल समेत बरामद भएको छ । उनीहरूले समूह नै बनाएर सार्वजनिक गाडीमा डाँकाचोरी गर्दै आएको प्रहरीले बताएको छ ।

पछिल्लो समय भने विदेशबाट फर्केका महिला लक्षित उनीहरूले डाँकाचोरी गर्ने गरेको प्रहरीको भनाइ छ । विदेशबाट फर्केकासँग गरगहना तथा नगद हुने सम्भावना रहेको हुनसक्ने भन्दै निगरानी गर्ने र उनीहरू चढेको गाडी चढेर बसभित्रै स्न्याचिङ हुने गरेको प्रहरीको भनाइ छ ।

‘८/१० जनाको समूह गाडीमा चड्ने, भिडभाड भएको जस्तोगरी धकेला धकेल गर्ने त्यही मौकामा गलाको सिक्री थुत्ने, पाकेटमारी गर्ने गरेको देखिएको छ’ गौशाला वृत्तका एक अनुसन्धान अधिकारी भन्छन् ।

लुटपाट गर्ने बेला उनीहरूले कोड भाषा प्रयोग गर्ने गरेको पनि प्रहरीले बताएको छ । आम मान्छेले नबुझुन् भन्नका लागि उनीहरूले आफ्नै कोड भाषा बनाएर पाकेटमारी गर्ने गरेको प्रहरीको भनाइ छ ।

यसरी पाकेटमारी सकेपछि गरगहना बेचर रकम बाँडफाँट गर्ने गरेको पाइएको छ । पक्राउ परेकाहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट डाँका चोरीको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको एसएसपी थापाले बताए ।

१३ पटक पक्राउ पर्दा पनि खुलेन चेत

चोरी आरोपमा पक्राउ परेका ६ जना मध्ये पाँच जना पटके अभियुक्त हुन् । कतिसम्म भने एक जना यसअघि १३ पटकसम्म पक्राउ पर्दै मुद्दा चलेको व्यक्ति रहेको पाइएको छ ।

क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) रेकर्डअनुसार अहिले पक्राउ परेका २९ वर्षीय रोशन श्रेष्ठयसअघि १३ पटकसम्म पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् ।

चोरी, डाँकाचोरीदेखि अभद्र व्यवहार लगायतको कसुरमा उनी पक्राउ पर्दै आएका थिए । पक्राउ पर्दै १३ पटकसम्म मुद्दा चले पनि उनी छुटेपछि फेरि त्यही धन्दामा लागेको देखिएको छ ।

अहिले पक्राउ परेका पाकेटमारी समूहका उनी मुख्य नाइके हुन् ।

अर्का आरोपित गंगे पनि यसअघि ६ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति रहेको पाइएको छ । अर्का प्रतिवादी कर्नेश तामाङविरुद्ध पनि यसअघि ६ पटक मुद्दा चलेको पाइएको प्रहरीले बताएको छ ।

सुजन लामाविरुद्ध २ पटक र राम लामाविरुद्ध १ पटक मुद्दा चलेको भेटिएको छ । पक्राउ परेर पटक-पटक मुद्दा चलाउँदा समेत फेरि छुटेर उनीहरु चोरी, पाकेटमारी तथा डाँकाचोरीमा संलग्न भएको देखिएको छ । उनीहरूले डाँकाचोरीलाई पेसा गरेर चोरीको धन्दा चलाएको प्रहरीले बताएको छ ।

देखिन थाल्यो स्न्याचिङ प्रवृत्ति

अहिले पक्राउ परेका ६ जना मात्रै होइन प्रहरी वृत्त थानकोटले पनि यस्तै शैलीमा स्न्याचिङ गर्ने ६ जनालाई पक्राउ गरेको छ । यो समूहले भने भाडामा घर तथा कोठा खोज्ने निहुँ बनाएर रेकी गर्ने र वृद्धाले गरगहना लगाएको देखेपछि चोरी गर्ने गरेको पाइएको छ ।

मोटरसाइकलमा दुई जना सवार भएर गलाको सिक्री थुत्दै हिँड्ने प्रवृत्ति देखिएको छ ।

दैनिकजसो एउटै शैलीमा लुटपाट हुने गरेको सूचना प्रहरीकोमा आएपछि अनुसन्धान अघि बढाइएको थियो । सो क्रममा प्रहरीले सीसी क्यामेरा फुटेजको आधारमा लुटेरा समूहको पहिचान गरी पक्राउ गरेको हो ।

यसरी लुट्ने समूहले चोरीको मोटरसाइकल प्रयोग गर्ने खुलेको छ । चोरीकै मोटरसाइकलमा दुई जना सवार हुने र पछाडि बस्नेले गरगहना थुतेर भाग्ने गरेको पाइएको छ ।

केही मोटरसाइकलको भने नम्बर प्लेटसमेत परिवर्तन गरेको पाइएको छ । दैनिक योजना बनाएर लुटपाट गर्ने पाइएको छ ।

यो समूहले पछिल्लो एक महिनामा ७ महिलाको गलाको सिक्री थुतेको पाइएको छ । यस्तै शैलीमा चोरी तथा स्न्याचिङ गरेको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोली नै हानेर गत माघमा प्रेम चौधरी समेतका केही व्यक्तिलाई पक्राउ गरेको थियो । त्यतिबेला ६५ तोला सुन समेत बरामद भएो थियो ।

यो समूहले पनि काठमाडौं उपत्यकामा श्रृङ्खलाबद्ध रूपमा चोरी तथा स्न्याचिङको श्रृङ्‍खला चलाएको थियो । यद्यपि उनी पछि धरौटीमा छुटेका थिए ।

ययसअघि वृत्त गौशलाले गत पुसमा सिनामंगल–गौशाला, सामाखुसी रुटका सार्वजनिक बसमा पाकेटमारी गर्ने समूहलाई पक्राउ गरेको थियो । त्यतिबेला चार पाकेटमार पक्राउ परेका थिए ।

उनीहरूले सार्वजनिक बसमा कोड भाषा प्रयोग गर्दै पाकेट मार्ने सिक्री थुत्ने गरेको पाइएको थियो ।

लेखक
नारायण अधिकारी

अधिकारी अनलाइनखबरका लागि सुरक्षा, अपराध विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?