News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आगामी तीन वर्षमा निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुनः परिभाषित गर्ने बताएका छन्।
- श्रेष्ठले निजी क्षेत्रलाई सहकार्यकर्ता मान्ने वातावरण बनाउन नीति, बजेट, ऐन–कानुन निर्माणमा आवाज सुनिने प्रणाली विकास गर्ने बताए।
- उनले निजी सम्पत्ति सुरक्षा, विवाद समाधान सुधार र लगानी प्रवर्द्धनका लागि ६ स्तम्भ र ६० पहल सहित विस्तृत कार्यक्रम तयार पारेको उल्लेख गरे।
२१ वैशाख, काठमार्डौं । नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष तथा वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो आगामी तीन वर्षे कार्यकालमा निजी क्षेत्र र सरकारबीचको सम्बन्ध पुन: परिभाषित गर्ने बताएका छन् ।
महासंघको ६०औं वार्षिक साधारणसभाका अवसरमा उनले यस्तो बताएका हुन् । महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत: आगामी कार्यकालको नेतृत्वमा जाने विधानको प्रावधान छ ।
सरकारले निजी क्षेत्रलाई साक्षी होइन, सहकार्यकर्ता मान्ने वातावरण बनाउन निरन्तर पहल गर्ने समेत श्रेष्ठले बताए । ‘नीति निर्माणमा, बजेट निर्माणमा, ऐन–कानुन निर्माणमा र अन्तर्राष्ट्रिय वार्तामा निजी क्षेत्रको आवाज सुनिने र प्रतिविम्बित हुने प्रणाली विकास गर्ने छु,’ उनले भने ।
उनले आफ्नो कार्यकालमा निजी क्षेत्रप्रतिको धारणामा परिवर्तन ल्याउन काम गर्ने बताए । ‘उद्यमी भनेको शोषक होइन, सम्पत्ति निर्माता हो, व्यवसायी भनेको कर छली गर्ने होइन, राज्यलाई कर तिर्ने सहयात्री हो, यो सत्य समाजमा स्थापित गर्न महासंघले व्यवस्थित अभियान चलाउने छ,’ उनले भने ।
निजी सम्पत्ति, व्यावसायिक हक र लगानीको सुरक्षा सुनिश्चित गर्न पैरवी गर्ने उनले बताए । ‘व्यावसायिक विवादलाई फौजदारी अपराधका रूपमा हेर्ने प्रवृत्ति, अग्रिम धरौटीको सुविधाको अभाव र विवाद समाधानको ढिलो प्रक्रिया, यी समस्या समाधानमा महासंघ अग्रसर रहने छ,’ उनले भने ।
उनले नेपालमा निजी लगानी बढाउन ठोस पहल गर्ने समेत बताए । ‘देशभित्रको लगानी सक्रिय बनाउने, स्वदेशी पूँजीलाई उत्पादनशील क्षेत्रमा लगाउने र विदेशी लगानीलाई सहज बनाउने नीतिगत वातावरण निर्माणका लागि सरकारसँग नियमित संवाद गर्ने छु,’ उनले भने ।
आगामी कार्यकालमा जिल्ला, नगर उद्योग वाणिज्य संघ, वस्तुगत र क्षेत्रगत संघहरूको कामलाई बढी प्रभावकारी बनाउने श्रेष्ठले बताए । महासंघ केन्द्रमा मात्र होइन, हरेक जिल्लामा, हरेक प्रदेशमा आफ्ना सदस्यहरूको आवाज बन्ने भन्दै उनले महासंघ सचिवालयलाई व्यावसायिक, सक्षम र सेवामुखी बनाउने घोषणा गरे ।
‘आजको आवश्यकता तत्काल राहतमात्र होइन, दीर्घकालीन संरचनागत सुधार पनि हो,’ उनले भने, ‘आगामी तीन वर्षको कार्यकालका मैले ६ स्तम्भ, ६० पहल’ को एक विस्तृत कार्यक्रम तयार पारिसकेको छु ।’
उनका अनुसार राष्ट्रिय सदस्य सञ्जाल र सेवा उत्कृष्टता, आर्थिक सुधार र सुशासन, प्रतिस्पर्धात्मकता र वृद्धि, विकास सहयोग र निजी क्षेत्र विकास, श्रम–सिप–उत्पादकत्वमा सुधार र निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण यी ६ स्तम्भ अन्तर्गत ६० ठोस पहल समावेश छन् ।
जिल्ला, वस्तुगत र सम्बद्ध सदस्यहरूको सेवामा छुट्टै डेस्क, महासंघ सचिवालयको व्यावसायिक रूपान्तरण, व्यापार–अर्थतन्त्र–कानुन–अनुसन्धान शाखा स्थापना, महासंघ नेतृत्वमा निजी विधेयक, औद्योगिक क्षेत्र विकास, करार उत्पादन र क्षेत्रीय मूल्य शृङ्खला, व्यावसायिक विवादको गैरअपराधीकरण तथा निजी सम्पत्ति र व्यावसायिक अधिकार बडापत्र यी सबै यस कार्यक्रमका मुख्य आधारस्तम्भ हुन् ।
प्रतिक्रिया 4