News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहको सरकारले काठमाडौंका सुकुम्बासी बस्तीमा डोजर चलाएर हजारौं नागरिकको सम्पत्ति नष्ट गरेको छ।
- सिंगापुरका पूर्वप्रधानमन्त्री ली क्वान युले सार्वजनिक आवास, महिला सशक्तीकरण, शिक्षा र औद्योगिकीकरणमा काम गरेर आर्थिक विकास गरेका थिए।
- नेपाल अहिले प्रगतिको लीपथ समात्ने वा मुगाबे जस्तो दुर्गतिको बाटो समात्ने दोबाटोमा छ भन्ने चिन्ता व्यक्त गरिएको छ।
के बालेन नेपालका ली क्वान यु बन्लान्? एउटा युट्युब भिडियोको यो शीर्षकले प्रधानमन्त्री बालेन्द्र शाहमाथि धेरै मनिसहरूले राखेको अपेक्षालाई प्रतिनिधित्व गर्छ ।
‘ब्रेकिङ न्युजः काठमाडौंका केही ब्याङ्क नष्ट गरिएको छः #भोटब्याङ्क ।’ एक पत्रकारले वैशाख १२ गते फेसबुकमा लेखेका छन् । यो वाक्यले बालेन सरकारका भक्तहरूको मनोविज्ञान प्रतिनिधित्व गर्छ ।
यी दुवै विषयमा मिहीन विश्लेषण गर्ने हो भने आज बालेन्द्र सरकारको मात्र नभई नेपालको आम मनोविज्ञानबारे पनि धेरै कुरा बुझ्न सकिन्छ ।
जुन बेला ली क्वान युले सिंगापुरमा सत्ताको बागडोर सम्हालेका थिए, त्यहाँको समाज विपन्न मात्र हैन, कंगाल, विभाजित र लथालिंग थियो । बेलायती उपनिवेशले त्यो टापुलाई एउटा जलसेनाको अड्डा बनाएको थियो । बाँकी उद्यम त्यहाँ शुन्यप्राय थियो । जातीय विविधताबीच खास गरी मलाय मुस्लिम समुदायका मानिस र चीनियाँ मुलका मानिहरूबीचको बेमेल सतहमुनि छँदै थियो ।
सन् १९६३ र १९६५ को बीचमा जब सिंगापुर टापु मलेसियाको हिस्सा थियो, मलाय र चीनियाँ समुदायबीच फैलिएको साम्प्रदायिक दंगामा ३६ जनाको मृत्यु भयो र कम्तीमा ५५० जना घाइते भए ।
न उद्योगको जग । न व्यापारको स्थापित सञ्जाल । न खेती गर्नलाई ठूलो भूगोल । न कुनै प्राकृतिक संशाधनको चिट्ठा । न समाजमा मेलमिलाप र सहिष्णुता । चीन र इण्डोनेसियाजस्ता शक्तिशाली छिमेकीहरूका कारण न भूराजनीतिक अनुकुलता । यस्तो प्रतिकुल अवस्थामा सिंगापुरको नेतृत्वमा पुगेका थिए ली ।
तर सिंगापुर बेलायतकै स्वशासित क्षेत्र रहँदा सन् १९५९ को चुनाव जितेर सिंगापुर प्रान्तका प्रधानमन्त्री भएपछि नै लीले शहरी पुनर्जागरणका चार खम्बामा काम गर्न शुरु गरेका थिएः सार्वजनिक आवास, महिलाहरूको सशक्तीकरण र श्रम बजारमा प्रवेश, शिक्षाको बिस्तार र औद्योगिकीकरण ।
सडकमा खाली खुट्टा व्यापार गरेर दुई पैसा कमाउनेहरूलाई उनले शुरुमा व्यापारको वैकल्पिक व्यवस्था गरेर सडकबाट हटाएका थिए ।
त्यसैले जब उनी १९६५ मा स्वतन्त्र सिंगापुरका प्रधानमन्त्री बने, उनको लडाइँ कुनै नागरिकसित थिएन । सडकमा कुनै व्यापारीलाई कुटपिट र लछारपछार पार्नु थिएन । डोजर लिएर कुनै गरीबको झुप्रो भत्काउन जानु थिएन ।
औद्योगिकीकरणसँगै मजदुर र उद्योगीबीचका टकराव र हडतालहरू बढ्नु अपेक्षित थियो । तर लीले सिंगापुरमा ट्रेड युनियन, रोजगारदाताहरूको छाता संस्था र जनशक्ति मन्त्रालयको एक साझा संयन्त्र बनाएकाले गत ६० वर्षमा त्यहाँ ठूला हडतालहरू विरल भएका छन् ।
छिटपुट हडताल र विरोध प्रदर्शन हुँदा लीको सरकारले त्यसलाई दमन गरेको र त्यस प्रयोजनका लागि कानुनी व्यवस्थाहरू गरेको साँचो हो । तर समानान्तर रुपमा हडतालको अवस्था आउनै नदिन नीति निर्माणको बेलादेखि विवाद किनारा लगाउनेसम्मका काममा ट्रेड युनियनको सक्रिय सहभागिता स्थापित भएको छ ।
परिणामः ली क्वान युले सत्ता सम्हालेदेखि उनका उत्तराधिकारीहरूले चलाइरहेको आजको सिंगापुरसम्म कम्तीमा आर्थिक रुपमा न्युनतम घर्षणसहितको कुनै पनि नागरिकले हार्नु नपर्ने अर्थव्यवस्था सिर्जना भएको छ । राजनीतिक व्यवस्था कति लोकतान्त्रिक छ भन्ने अलग बहसको पाटो त छँदैछ ।
काठमाडौंको मेयर छँदा बालेन्द्र शाहले फुटपाथका साना व्यापारीहरूलाई जुन निर्ममताका साथ लखेटे, त्यसले नै कुनै दिन उनी ली क्वान युको बाटो हिंड्न सक्नेछन् भन्नेमा गम्भीर संशय उत्पन्न गरेको थियो ।
अहिले सुकुम्बासी बस्तीमा डोजर चलाएर जसरी हजारौं नागरिकहरूले दशकौंदेखि श्रम गरेर जम्मा पारेको सम्पत्ति नष्ट गरिदिएका छन्, केहीलाई आत्महत्याको अवस्थामा समेत धकेलेका छन्, गरीबलाई झन् गरीब बनाइदिएका छन्, त्यसले सिंगापुरका ली क्वान यु हैन कुनै सहारा–दक्षिणको अक्षम र क्रुर तानाशाहलाई सम्झाइदिएको छ ।

लीले सत्तामा पुग्नासाथ पहिलो प्राथमिकतामा सार्वजनिक आवासलाई यसै राखेका थिएनन् । देशको विकास र समृद्धि मूलतः नागरिकहरूकै काँध चढेर आउने हो । तिनको काँध बलियो बनाउन तिनलाई सुरक्षा चाहिन्थ्यो । त्यसका लागि चाहिन्थ्यो सुरक्षित आवास ।
यो नांगो आँखाले देखिने सत्य हो । बालेन्द्र शाह र रास्वपाका समर्थकहरूलाई पनि यो कुरा थाहा छ । तर विडम्बना के छ भने पछिल्ला दशकमा सामाजिक सञ्जालकेन्द्रित ‘ब्रेनवास’ उद्योगले उनीहरूको मनोविज्ञान यस्तो बनाइदिएको छ कि उनीहरू आँखै अगाडिको यथार्थ पनि स्वीकार्न तयार छैनन् ।
त्यसैले उनीहरू अनाहक ज्यान गुमाएका रविन तामाङ र इन्द्रबहादुर राईहरूमा फगत् भोट बैंक देख्छन् । सार्वभौम नागरिक त के, एउटा ज्यान बचाउनु पर्ने मानिस पनि देख्दैनन् ।
सिंगो जीवन अभाव र भोकमरीको संघारमा बिताएका नागरिकलाई सिधै नष्ट गर्नुपर्ने भोटबैंक भन्न मिल्दैन । त्यसैले तिनीहरू एकाध बदनियतपूर्ण ‘हुकुमबासी’हरूका उदाहरणलाई अतिरञ्जना गर्छन् र राज्यले युगौंदेखि उत्पीडन र हिंसा गरेका विपन्न र दलितहरूको सिंगो समुदायबाट तिनले मानवीय गरिमा छिन्छन् ।

जसरी हिटलरले यहुदीहरूलाई साङ्ग्ला भन्थे। जसरी भारतको सत्तारुढ दलका शीर्ष नेता अमित शाहले अल्पसंख्यकहरूलाई धमिरा भन्छन्।
जति बुझिन्छ, बालेन्द्र शाहको इस्पाती आत्ममुग्धताका कारण उनले एकाध सल्लाहकारबाहेक कसैका कुरा सुन्दैनन् । हामी आलोचकका कुरा त किन पो सुनुन् र, रविन र इन्द्र बहादुरहरूलाई नष्ट गर्नुपर्ने भोटबैंक मान्ने भक्तका कुरा पनि सुन्दैनन् ।
तर उनको वरिपरि जुन देवत्वकरणको ढाल सिर्जना भइरहेको छ, त्यसले उनलाई सिंगापुरका ली क्वान यु हैन जिम्बाब्वेका रोबर्ट मुगाबे बनाउने दिशामा लैजाने जोखिम छ ।
१९८० मा स्वतन्त्र जिम्बाब्वेका पहिलो कार्यकारी प्रमुख बनेर उदाएका मुगाबेले कुनै बेला अफ्रिकाको अन्न भण्डार भनिने देशलाई भोकमरीको स्थितिमा पुर्याएका थिए। महंगी कति बढेको थियो भने, कुनै बेला त्यहाँ ट्रिलियन (सय खरब) डलरको नोट छापिन्थ्यो जसको अन्तर्राष्ट्रिय मुल्य ०.४ अमेरिकी डलर हुन्थ्यो ।
त्यसभन्दा पनि डरलाग्दो कुरा, मानिसहरूको अमानवीकरण र अपराधीकरणमा जसरी बालेन्द्र-भक्तहरू लागी परेका छन्, त्यसले समाजलाई र सिंगो देशलाई फासीवादको अँध्यारो सुरुङतिर लैजाने जोखिम छ ।
त्यसैले अहिले नेपाली समाज र देश एउटा दोबाटोमा छः लीपथ समातेर प्रगति गर्ने वा मुगाबेपथ समातेर दुर्गतिको ओरालो झर्ने ।
बालेन्द्र शाहको सरकारले सिंगापुरको बाटो लाग्ने धेरै सिंढीहरू भत्काइसकेको छ । यस्तै ज्यादतीपूर्ण शासन अरु केही महिना चल्ने हो भने त्यो बाटो सम्भवतः सधैंका लागि बन्द हुन सक्नेछ ।
लियो टल्स्टायले अन्ना करेनिना उपन्यासको शुरुमा भनेका छन्ः सबै सुखी परिवार उसै किसिमले सुखी हुन्छन्, हरेक दुखी परिवार आफ्नै किसिमले दुखी हुन्छ ।
नेपाली समाजले पनि ओरालो बाटो समात्यो भने त्यो न दुरुस्त जिम्बाब्वेको जस्तो हुनेछ, न अघिल्लो शताब्दीका इटली वा जर्मनीको जस्तो ।
तर पनि त्यो दुर्घटनाले सिर्जना गर्ने अवसाद र पीडा उस्तै हुनेछ । जसरी इन्द्र बहादुर राईको कथा ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’मा बर्माबाट लखेटिंदा बाटैमा ज्यान गुमाउनेहरूको पीडा र काठमाडौंको बस्ती उजाडिंदा बाग्मती किनारमा मृत फेला परेका इन्द्रबहादुर राईको पीडा उस्तै थियो ।
यो दोबाटोबाट अघि बढ्दा कुनचाहिं बाटो समात्ने, त्योचाहिं प्रचण्ड बहुमतसहित चुनाव जितेको रास्वपाले छिट्टै निर्णय लियोस् ।
प्रतिक्रिया 4