News Summary
Generated by OK AI. Editorially reviewed.- परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान र बौद्धिक बहस अपरिहार्य भएको बताए।
- खनालले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा, डिजिटल अर्थतन्त्रमार्फत युवाको विश्व बजारमा पहुँच र महामारीमा खोप सुनिश्चितता कूटनीतिक प्राथमिकता भएको स्पष्ट पारे।
- उनले एनसीडब्लुएले ट्रयाक टू डिप्लोमेसीमार्फत अनौपचारिक र बौद्धिक संवादको पुलको काम गर्नुपर्नेमा जोड दिए।
२५ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स (एनसीडब्लुए) को वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सिमित नरहेको बताए ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू नेपालको कूटनीतिक प्राथमिकता रहेको बताए ।
‘आजको बदलिँदो परिस्थितिमा नेपालले आफ्नो सार्वभौमसत्ता अक्षुण्ण राख्दै विश्व बजारमा आफ्नो अर्थतन्त्रलाई एकीकृत गर्नुपर्ने चुनौती छ । यस्तो अवस्थामा एनसीडब्लुएजस्ता स्वतन्त्र र गैर–राजनीतिक थिंक ट्याङ्कको भुमिका अझै महत्वपूर्ण भएको छ । अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सीमित छैन,’ उनले भने ।
मन्त्री खनालले वर्तमान विश्वले जलवायु संकट, विश्वव्यापी आपूर्ति शृङ्खलामा अवरोध र ऊर्जा सुरक्षाजस्ता बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको उनले बताए ।
परराष्ट्रमन्त्री खनालले औपचारिक कुटनीतिले कतिपय संवेदनशील विषयहरूमा तत्काल संवाद अगाडि बढाउन नसक्ने अवस्थामा ‘ट्रयाक टू डिप्लोमेसी’ (दोस्रो तहको कूटनीति) मार्फत अनौपचारिक र बौद्धिक संवाद चलाउन एनसीडब्लुएले पुलको काम गर्नुपर्नेमा जोड पनि दिए ।
‘वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको सुरक्षा र मर्यादा, डिजिटल अर्थतन्त्रमार्फत नेपाली युवाको विश्व बजारमा पहुँच र महामारीका समयमा खोप तथा औषधिको सुनिश्चितता जस्ता विषयहरू हाम्रा कूटनीतिक प्राथमिकता हुन्,’ उनले भने ।
सन् १९४८ मा स्थापित यस संस्थाले नेपालको कुटनीतिक विकासक्रममा एक सचेत पहरेदारको रूपमा कार्य गर्दै आएको मन्त्री खनालले उल्लेख गरे ।
प्रतिक्रिया 4