News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौं महाधिवेशनमा ३ सय ८७ संस्थाका १ हजार ६६३ प्रतिनिधि नयाँ नेतृत्व चयनका लागि पोखरामा भेला भएका छन्।
- वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला र हरिप्रसाद शरणबीच अध्यक्ष पदका लागि कडा प्रतिस्पर्धा भइरहेको छ र सिटौलाले अनलाइन टिकेटिङ, जीपीएस प्रणाली र क्यासलेस प्रणालीलाई प्राथमिकता दिएका छन्।
- महासंघको ८६ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि विभिन्न पदमा मतदान जारी छ र वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायत पदमा धेरै उम्मेदवार प्रतिस्पर्धामा छन्।
२९ वैशाख, पोखरा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको चुनावी प्रतिस्पर्धा पोखरामा जारी छ । महासंघको नयाँ नेतृत्व चयन गर्न ३ सय ८७ संस्थाका १ हजार ६६३ प्रतिनिधि पोखरामा छन् ।
२७ गतेदेखि सुरु भएको सातौं महाधिवेशनले देशभरका यातायात व्यवसायीसँग सम्बन्धित प्रालि, कम्पनी, समितिहरूको छाता संगठन महासंघको नयाँ नेतृत्व चयन गर्नेछ ।
नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज) र अर्का वरिष्ठ उपाध्यक्ष हरिप्रसाद शरणबीच कडा प्रतिष्पर्धा देखिएको छ। मंगलबार सिटौलाको पक्षमा कांग्रेस, एमाले, माओवादीको समेत सहमति गराउने प्रयास भएको थियो । तर, एउटा समूहले असहमति जनाउँदा असफल हुन पुगेको छ ।
अध्यक्षका लागि पूर्वअध्यक्ष विजय स्वाँर र योगेन्द्र कर्मचार्यले फरक फरक पात्र बनाउन चाहेका थिए । तर, कांग्रेसबाट सिटौलाकै नाम अगाडि आएपछि एउटा समूह असन्तुष्ट बनेको छ र पुराना ३ दल एकै ठाउँ उभिने प्रयास पनि असफल बनेको हो ।
सिटौला र केसीसँगै अध्क्षमा बलेफी गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्री र सानोकाजी प्रजापति पनि अध्यक्षका आकांक्षी थिए । तर, सिटौला र केसीबीच कडा टक्कर हुने देखिएको हो ।
यसअघिका सरकारसँग पनि निकट रहेर काम गरेका र विभिन्न कार्यकारी पदमा रहेर काम गरेका सिटौलाले बिगतका आफूले गरेको काम र नेतृत्व क्षमताका कारणले पनि आफू रोजाइमा पर्ने बताउँछन् ।
हिजोका ऐन कानुनको प्रभावकारी कार्यान्वयन गर्न नेतृत्व गर्ने र अब प्रविधिमैत्री यातायात क्षेत्र बनाउन भूमिका खेल्ने सिटौलाको भनाइ छ ।
‘अनलाइन टिकेटिङ, जीपीएस सिस्टम जडान, क्यासलेस गरी यी ३ एजेन्डालाई असाध्यै प्राथमिकतामा राखेको छु,’ सिटौलाले अनलाइनखबरसँग भने, ‘मजदुरदेखि व्यवसायीसम्मका सामाजिक सुरक्षाको विषय पनि प्राथमिकतामा छन् ।’
सामाजिक सुरक्षाको व्यवस्था आए पनि प्रभावकारी ढंगले कार्यान्वयन हुन नसकेको उनको भनाइ थियो । यसका लागि आफ्नो नेतृत्वले काम गर्ने सिटौलाले दाबी गरे ।
बिमा नीतिमा अहिले ठूलो समस्या रहेको उनले बताए । दुर्घटना बिमाको विषय क्षतविक्षत भएको र दुर्घटना न्यूनीकरणका लागि बिमालाई राज्यले व्यवस्थित नगरी नहुने सिटौलाको भनाइ छ ।
राज्यसँग बिमा नीति ल्याउने र प्रभावकारी ढंगले कार्यान्वयन गर्ने काममा आफू लाग्ने उनले बताए । दुर्घटनापछि बिमा कम्पनीबाट अत्यन्त ठूलो र झन्झटिलो वातावरण बनेको सिटौलाको भनाइ छ ।
‘बिमा कम्पनीको ज्यादतिका विषयमा म लड्ने छु । दुर्घटनापश्चात मृतक परिवारले ५ लाख र घाइतको लागि ३ लाख दिने व्यवस्था छ । ३ लाख बिमा कम्पनीबाट आउँछ र घाइतेको उपचारमा १ करोडसम्म लाग्ने, खर्च गर्नुपर्ने अवस्था छ,’ सिटौलाले भने, ‘दुर्घटनाका मृतकलाई बिमाले ५ लाख दिन्छ तर सडकमा आएर २० लाखको डिमान्ड हुन्छ । यस्ता नमिलेका कुरालाई मिलाउन मेरो उम्मेदवारी हो ।’
सडक व्यवस्थापन र पूर्वाधार निर्माणलाई व्यवस्थित र मर्यादित बनाउन आफ्नो उम्मेदवारी भएको सिटौलाको भनाइ छ ।

लामो समयदेखि यातायात क्षेत्र र महासंघमा काम गरेको तर कार्यकारी पदमा बसेकाहरूले अहिलेसम्म गरेको रजगज तोड्नका लागि आफूले उम्मेदवारी दिएको केसीको भनाइ छ ।
आफू महासंघका लामो समय सक्रिय रहे पनि कार्यकारी पदमा बसेर काम नगरेको तर यहाँ पदमा हुने कसरी काम गरे भन्ने नजिकबाट नियालेको उनको भनाइ छ ।
सार्वजनिक यातायात क्षेत्रमा बिमाको ठूलो समस्या रहेको आफूले त्यो समाधान गर्ने केसीले बताइरहेका छन् । अहिलेको सरकारसँग मिलेर यातायात क्षेत्रको समस्या हल गर्न आफूले योजना बनाइसकेको केसीको भनाइ छ ।
महासंघले सरकारसँग ठिक ढंगले समन्वयन गर्न नसक्दा अहिलेसम्म पनि पुरानै ऐनमा चल्नुपरेको र यातायात क्षेत्रको समस्या विद्यामान रहेको केसीले बताए । दुर्घटना न्यूनीकरण, आयात, रुट परमिट नीतिका रहेर आफूले काम गर्न चाहेको केसीले बताइरहेका छन् ।
केसीले रास्वपानिकटको साथ खोजिरहेको देखिन्छ भने उनले गत आम चुनावको जस्तै नारा बनाएका छन्, ‘चुपचाप, हरिशरण केसी (हुस)लाई छाप ।’
महासंघको ८६ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ । तर, ८४ पदमा चुनाव हुने निर्वाचन अधिकृत योगेन्द्र केसीले जानकारी दिए ।
अध्यक्षमा सिटौला र केसीको ठक्कर हुँदा अन्य पदाधिकारीका सबै पदमा पनि मतदान भइरहेको छ । वरिष्ठ उपाध्यक्ष ३ जना चाहिनेमा ६ जनाको उम्मेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्षमा पोखराबाटै २ जना उम्मेदवार छन् । पोखराका ऐनकुमार साइ र केदार पौडेसहित गोकर्णप्रसाद पराजुली, सानुकाजी प्रजापति, सुनील कुँवर र राजेन्द्र रिजाल छन् ।
महासचिवमा ३ जनाको प्रतिस्पर्धा छ । डेकनाथ गौतम, शम्भुप्रसाद रिजाल र ज्ञानेन्द्र श्रेष्ठबीच प्रतिस्पर्धा भइरहेको हो । कोषाध्यक्षमा किरणकुमार खड्का, राजेन्द्र आचार्य र राजेशकुमार श्रेष्ठ प्रतिस्पर्धामा उत्रिएका छन् ।
७ उपाध्यक्षका लागि १३ जना प्रतिस्पर्धामा छन् भने ३ जना सचिवका लागि ६ जना मैदानमा छन् । उपमहासचिवमा ५ जना चुनावी प्रतिस्पर्धामा छन् । नेतृत्वसहित नयाँ कार्यसमितिका लागि पोखरा इभेन्ट सेन्टरमा रामलक्ष्मणको विद्युतीय मेसिनबाट मतदान भइरहेको छ ।
प्रतिक्रिया 4