News Summary
Generated by OK AI. Editorially reviewed.- अमेजन एमजीएम स्टुडियोले नयाँ जेम्स बन्ड अभिनेता छनोट प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ।
- नयाँ बन्ड फिल्मको निर्देशन डेनिस भिलेनुभले गर्ने र पटकथा स्टिभन नाइटले लेख्ने घोषणा भइसकेको छ।
- क्यालम टर्नर, जेकब एलोर्डी, ह्यारिस डिकिन्सन लगायतका कलाकार नयाँ बन्डको दौडमा रहेका छन्।
हलिउडको चर्चित जासुसी फिल्म श्रृंखला ‘जेम्स बन्ड’का लागि नयाँ अभिनेता खोज्ने प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ । लामो समयदेखि ‘००७’ को भूमिकामा ड्यानियल क्रेगपछि कसले अभिनय गर्ने भन्ने चर्चा चलिरहेकामा अब अडिसन प्रक्रिया नै अघि बढाइएको हो ।
अमेजन एमजीएम स्टुडियोले विज्ञप्ति जारी गर्दै ‘अर्काे जेम्स बन्डको खोजी सुरु भइसकेको छ’ जनाएको छ । हलिउड म्यागजिन ‘भेराइटी’का अनुसार पछिल्ला केही सातादेखि गोप्य रूपमा अडिसन चलिरहेको छ । स्टुडियोले अहिले नै विस्तृत जानकारी सार्वजनिक नगर्ने भए पनि समय मिल्नेबित्तिकै ‘००७’ का प्रशंसकलाई नयाँ खबर दिने बताएको छ ।
ड्यानियल क्रेग अभिनित अन्तिम बन्ड फिल्म ‘नो टाइम टु डाइ’ रिलिज भएको पाँच वर्ष बितिसकेको छ । त्यसयता नयाँ बन्ड को बन्ने भन्ने विषयमा लगातार अड्कलबाजी भइरहेको थियो । अमेजन एमजीएम स्टुडियोले बन्ड फ्रेन्चाइजको जिम्मा सम्हालेको पनि १५ महिना भइसकेको छ ।
यसअघि नै स्टुडियोले नयाँ बन्ड फिल्मको निर्देशन ‘ड्युन’का निर्देशक डेनिस भिलेनुभले गर्ने र कथापटकथा ‘पिकी ब्लाइन्डर्स’का सर्जक स्टिभन नाइटले लेख्ने घोषणा गरिसकेको छ ।
‘भेराइटी’का अनुसार नयाँ बन्ड कलाकार छनोटको जिम्मा हलिउडकी चर्चित कास्टिङ निर्देशक निना गोल्डले सम्हालिरहेकी छन् । उनले ‘प्याडिङ्टन’, ‘स्टार वार्स’, ‘जुरासिक पार्क’ र ‘मम्मा मिया !’ जस्ता चर्चित फिल्म शृङ्खलामा काम गरिसकेकी छन् ।
नयाँ जेम्स बन्डको दौडमा अहिले केही चर्चित कलाकारको नाम अगाडि आएको छ ।
३६ वर्षीय ब्रिटिश अभिनेता क्यालम टर्नर अहिले सट्टेबाजी बजारका मुख्य दाबेदार मानिएका छन् । उनले ‘फ्यान्टास्टिक बिस्ट्स’ फिल्म शृङ्खलामा अभिनय गरेका थिए भने ‘द क्याप्चर’का लागि बाफ्टा मनोनयन पनि पाएका थिए । उनी पप गायिका डुआ लिपाका प्रेमीका रूपमा पनि चर्चित छन् ।
अष्ट्रेलियन अभिनेता जेकब एलोर्डीको नाम पनि बलियो रूपमा चर्चामा छ । ‘युफोरिया’ सिरिज र ‘साल्टबर्न’ फिल्मबाट चर्चित बनेका उनले यस वर्ष ‘फ्रान्केन्स्टाइन’मा अभिनय गरेबापत ओस्कार मनोनयन समेत पाएका थिए ।
२९ वर्षीय अभिनेता ह्यारिस डिकिन्सन पनि सम्भावित सूचीमा छन् । उनी आउँदै गरेको ‘बिटल्स’ बायोपिकमा जोन लेननको भूमिकामा देखिने भएका छन् । उनले ‘मालेफिसेन्ट’, ‘द किङ्स म्यान’ र ‘वेयर द क्राउडाड्स सिङ’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् ।
‘सुपरम्यान’ र ‘द विचर’बाट चर्चित अभिनेता हेन्री काभिललाई पनि प्रशंसकले लामो समयदेखि बन्डको रूपमा हेर्न चाहिरहेका छन् । ड्यानियल क्रेग चयन हुँदा उनी अन्तिम चरणसम्म पुगेका थिए भन्ने चर्चा थियो । तर अहिले ४३ वर्ष पुगिसकेकाले उनी यो भूमिकाका लागि उमेरका हिसाबले उपयुक्त रहन्छन् कि रहँदैनन् भन्ने बहस भइरहेको छ ।
‘किक–एस’, ‘क्रेभेन द हन्टर’ र ‘२८ इयर्स लेटर’ जस्ता फिल्मबाट परिचित आरोन टेलर-जोनसन पनि दाबेदारमध्ये एक हुन् । त्यस्तै ‘डाइभर्जेन्ट’ फिल्म शृङ्खलाबाट चर्चित बनेका थियो जेम्सको नाम पनि चर्चामा छ ।
यद्यपि, निर्माता टोलीले अहिलेसम्म चर्चामा नआएको कुनै नयाँ अनुहारलाई पनि छनोट गर्न सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । नयाँ अभिनेता चयन भएपछि उनी जेम्स बन्डको ६४ वर्षे इतिहासमा आधिकारिक रूपमा यो भूमिका निभाउने सातौँ कलाकार हुनेछन् ।
गत महिना आयोजित ‘सिनेमाकन’ कार्यक्रममा अमेजन एमजीएम स्टुडियोकी फिल्म प्रमुख कोर्टने भालेन्टीले बन्ड चयन प्रक्रिया निकै सावधानी र सम्मानका साथ अघि बढाइरहेको बताएकी थिइन् ।
उनले भनिन्, ‘हामी सबैका लागि बन्डको नयाँ अध्याय दर्शकमाझ ल्याउनु जीवनकै ठूलो सपना हो । त्यसैले हामी यसलाई निकै जिम्मेवारीका साथ लिइरहेका छौँ ।’ नयाँ फिल्म बन्ड शृङ्खलाको २६औँ आधिकारिक फिल्म हुनेछ । तर यसको कथा, अन्य कलाकार र रिलिज मितिबारे अहिलेसम्म कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
पटकथाकार स्टिभन नाइटले हालै बाफ्टा टिभी अवार्डका क्रममा बीबीसीसँग कुरा गर्दै स्क्रिप्ट लेखन ‘अत्यन्त राम्रो रूपमा अघि बढिरहेको’ बताएका थिए । उनले ‘फिल्म सार्वजनिक भएपछि दर्शकले निकै मन पराउनेमा म हजार प्रतिशत विश्वस्त छु’ भनेका छन् ।
फिल्मको निर्माण एमी पास्कल र डेभिड हेम्यानले संयुक्त रूपमा गर्नेछन् । एमी पास्कल पछिल्ला ‘स्पाइडर-म्यान’ फिल्मकी निर्माता हुन् भने डेभिड हेम्यान ‘ह्यारी पोटर’का सबै आठ फिल्मका निर्माता मानिन्छन् ।
प्रतिक्रिया 4