+
+
Shares

कान्स रेडकार्पेटमा हिमाली छुर्पी प्रवर्धन गर्दै नेपाली दम्पती

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ४ गते १२:५६
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली उद्यमी दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा खनालले कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा घरपालुवा जनावरप्रतिको प्रेम र जिम्मेवारीको सन्देश दिएका छन्।
  • खनाल दम्पत्तीले रेड कार्पेटमा गुमाएको कुकुर 'मोगली'को सम्झनामा प्रेम, वफादारी र आत्मीयताको प्रतीक पहिरन लगाएका थिए।
  • उनको ब्रान्ड 'डग्सी च्यू'ले हिमाली छुर्पीलाई विश्वका ३० भन्दा बढी देशमा पुर्‍याउँदै वार्षिक २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार गरिरहेको छ।

काठमाडौं । विश्वकै प्रतिष्ठित चलचित्र महोत्सवमध्ये एक कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा यसपटक नेपाली उद्यमी दम्पत्ती भूपेन्द्र खनाल र स्नेह शर्मा खनालले घरपालुवा जनावरप्रतिको प्रेम र जिम्मेवारीको सन्देश दिएका छन् ।

मोरङको उर्लाबारीका खनाल दम्पत्ती कुकुरलाई खुवाइने हिमाली छुर्पी उत्पादन गर्ने अन्तर्राष्ट्रिय ब्रान्ड ‘डग्सी च्यू’का संस्थापक हुन् । उनीहरूले रेड कार्पेटमा आफूहरूले हुर्काएर गुमाएको कुकुर ‘मोगली’को सम्झनामा प्रेम, वफादारी र आत्मीयताको प्रतीक झल्किने विशेष पहिरन लगाएका थिए ।

भूपेन्द्र खनालले आफूले लगाएको पोशाकमा नेपाली मौलिकता, भारतीय शैली र पेरिसको डिजाइनलाई समेटिएको बताए । ‘यो केवल फेसन होइन, हाम्रो पहिचान, संस्कृति, प्रेम र यहाँसम्म आइपुग्दाको यात्राको अभिव्यक्ति हो,’ उनले भने ।

एक समय भारतमा सामाजिक सञ्जाल विश्लेषण कम्पनी सञ्चालन गरेका खनाल पछिल्लो एक दशकदेखि हिमाली छुर्पी उद्योगमा सक्रिय छन् । सन् २०१५ मा स्थापना भएको ‘डग्सी च्यू’ले नेपाल र भारतका हिमाली भेगमा उत्पादन हुने छुर्पीलाई ‘हिमालयन याक च्यू’का रूपमा विश्व बजारमा पुर्‍याइरहेको छ ।

हाल यो ब्रान्ड ३० भन्दा बढी देशमा फैलिएको छ । कम्पनीका अनुसार वार्षिक करिब २६० करोड भारतीय रुपैयाँ बराबरको कारोबार भइरहेको छ । प्राकृतिक र स्वस्थ पोषण दिने उद्देश्यले उत्पादन गरिएको छुर्पी विश्वभरका लाखौँ घरपालुवा जनावर पाल्ने परिवारसम्म पुगेको कम्पनीले जनाएको छ ।

सह-संस्थापक स्नेह शर्माले कान्समा सहभागितालाई घरपालुवा जनावरको हेरचाह, पोषण र कल्याणबारे विश्वभर बढ्दो सचेतनाको प्रतीक भएको बताइन् । ‘हिमालयमा जन्मिएको ब्रान्ड कान्सको रेड कार्पेटसम्म पुग्नु हाम्रो लागि अत्यन्त विशेष क्षण हो,’ उनले भनिन् ।

पछिल्ला वर्षहरूमा घरपालुवा जनावरलाई परिवारकै सदस्यका रूपमा हेर्ने प्रवृत्ति बढ्दो छ । त्यससँगै उनीहरूको स्वास्थ्य, पोषण र कल्याणबारे विश्वव्यापी बहस पनि तीव्र बनेको छ । खनाल दम्पत्तीको कान्स उपस्थितिलाई त्यही सन्देशको प्रतीकात्मक प्रस्तुति मानिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?