४ जेठ, काठमाडौं । मण्डला थिएटरमा मञ्चन भइरहेको हास्यप्रधान नाटक ‘ग्रान्ड रिहर्सल’को प्रदर्शन अवधि एक हप्ता थप गरिएको छ । दर्शकको उत्साहजनक उपस्थितिका कारण नाटकको सो आगामी जेठ १० गतेसम्मका लागि लम्ब्याइएको मण्डला थिएटरले जनाएको छ।
बेलायतका हेनरी लुइस, जोनाथन सेयर र हेनरी शिल्ड्सद्वारा लिखित नाटकबाट प्रेरित यो नाटक गत वैशाख ११ गतेदेखि मण्डलामा नियमित मञ्चन भइरहेको छ । रंगकर्मी अनुप न्यौपाने र उमेश तामाङले यस नाटकलाई नेपाली परिवेशमा रूपान्तरण गरी स्थानीय स्वाद दिएका हुन् ।
‘नाटकभित्रको नाटक’को शैलीमा तयार पारिएको यस नाटकको निर्देशन उमेश तामाङले गरेका छन् । नाटकमा अनुप न्यौपाने, मिलन कार्की, सुदीप खतिवडा, रुजा राउत लगायतको अभिनय रहेको छ।
करिब १ घण्टा ३० मिनेटको यो नाटक सोमबारबाहेक हरेक दिन साँझ ५:३० बजे मञ्चन हुँदै आएको छ । त्यस्तै, शनिबार दिउँसो १:३० बजे अतिरिक्त सोको समेत व्यवस्था गरिएको छ। दर्शकको उच्च मागलाई सम्बोधन गर्दै नाटकको अवधि थप गरिएको थिएटर प्रशासनले उल्लेख गरेको छ।
प्रतिक्रिया 4