News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेनको राजनीतिक शैली पहिलेदेखि नै खुलेआम र इमानदार रहेको उनका समर्थकले बताएका छन्।
- समाजमा राजनीतिक अतिवाद र ध्रुवीकरण बढ्दै गएपछि संवाद र विवेक कमजोर हुँदै गएको लेखकले उल्लेख गरेका छन्।
- लेखकले मिडिया र सार्वजनिक स्पेसमा नैतिक पूँजी भएका व्यक्तिहरूलाई स्थान दिनुपर्ने र बहस बहुआयामिक बनाउनुपर्ने आग्रह गरेका छन्।
हाम्रा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) केही गतिविधिहरू केही दिनदेखि नियालिरहँदा मनबाटै तीन पक्षलाई बधाई दिन मन लाग्यो । ल, बधाई छ ओलीजी, प्रचण्डजी अनि देउवाजी !
तपाईंहरूको राजनीतिले नेतृत्वप्रतिको जनताको अपेक्षा यति तल झारिदिएको छ कि अब अराजकता, अनुशासनहीनता, आक्रामकता र असंवेदनशीलता पनि ‘सुशासन’ जस्तो देखिन थालेको छ ।
अनि अहिलेका प्रधानमन्त्रीलाई म कत्ति पनि दोष दिन चाहन्नँ । उहाँ पहिलेदेखि नै आफ्नो शैलीलाई लिएर इमानदार हुनुहुन्थ्यो । उहाँको भाषा, राजनीतिक व्यवहार, संवेदनशीलताको स्तर; यी कुनै कुरा नयाँ थिएनन् । जे थियो, खुलेआम थियो । हाम्रो आँखाको अगाडि थियो । जे हुनुहुन्थ्यो, त्यही देखिनुहुन्थ्यो । नभएको शालीनता, सहिष्णुता वा राजनीतिक परिपक्वताको देखावटी आवरण ओढेर आफूलाई अर्को पात्रका रूपमा बेच्ने प्रयास उहाँले कहिल्यै गर्नुभएन ।
त्यसैले अहिले उहाँलाई ‘यस्तो किन ?’ भनेर प्रश्न गर्नु कताकता आफैँलाई मूर्ख बनाउनुजस्तै लाग्छ । किनकि उहाँले ढाँट्न खोज्नुभएको थिएन । हामीले सबै कुरा खुला आँखाले देख्यौँ । अनि त्यसपछि पनि यही विकल्प रोज्यौँ ।
त्यसैले समस्या म हाम्रो प्रधानमन्त्रीमा देख्दिनँ ।
समस्या त म यो समाजमा देख्छु, जहाँ यस्तो शैलीलाई अब ‘स्वीकार्य’ मात्र होइन, ‘आशाजनक’ जस्तो मान्न थालिएको छ । र, समस्या म त्यो राजनीतिक पुस्तामा देख्छु, जसले वर्षौँदेखि निराशा, ढोङ, अवसरवाद र स्तरहीनताको राजनीति सामान्य बनायो ।
निरन्तरको सत्ता खेल, नैतिक विघटन, संस्थामाथिको अविश्वास र जनतालाई मतदाताको रूपमा मात्र हेर्ने संस्कृतिले समाजलाई यस्तो बिन्दुमा ल्याइपुर्यायो, जहाँ ‘कम खराब’ विकल्पलाई स्वीकार गर्नुपर्ने बाध्यता बन्यो । किनकि अर्को पक्षले त तल झर्न बाँकी केही नै राखेन ।

तर अहिलेको अझ पेचिलो प्रश्न अर्कै छ । हाम्रो समाज जुन गतिमा अतिवादतर्फ धकेलिँदै छ, त्यो अत्यन्त चिन्ताजनक छ ।
आज मानिसहरू विचारभन्दा पनि पक्ष रोज्न बाध्य भइरहेका छन् । आलोचना गर्नुअघि ‘तिमी कुन पक्षको ?’ भनेर सोधिने अवस्था बन्दै जाँदा समाज बिस्तारै ध्रुवीकृत हुँदै गएको छ । पुरानालाई मात्र दोष दिए नयाँ पक्षको अतिवाद छुट्छ । नयाँलाई मात्र दोष दिए पुरानो राजनीतिक पुस्ताले बनाएको संरचनात्मक विफलता ओझेलमा पर्छ । जबसम्म हामी यी दुवै पक्षलाई एउटै सन्दर्भमा राखेर हेर्दैनौँ, तबसम्म बहस एकआयामिक बन्छ । र, त्यस्तो एकआयामिक बहसले समाजलाई झन् धेरै विभाजित बनाउँछ ।
अतिवादी समाजले बिस्तारै आफ्नो संवेदना गुमाउँछ । सही–गलत छुट्याउने क्षमता गुमाउँछ । आफूलाई सही प्रमाणित गर्न कुनै पनि स्तरमा झर्न तयार हुन्छ । त्यस्तो समाजमा संवाद हराउँछ, रिस र आवेगले ठाउँ लिन्छ । आलोचना शत्रु बन्छ । असहमति देशद्रोहजस्तो देखिन थाल्छ ।
र फेरि हाम्रो समाज अहिले यस्तो ‘मोरल क्यापिटल’ (नैतिक पूँजी) को खडेरीबाट गुज्रिरहेको छ; विशेषतः पुराना राजनीतिक दलहरूको नैतिक विश्वसनीयता यति कमजोर भइसकेको छ कि उनीहरूले उठाएका जायज प्रश्नहरूसमेत अब राजनीतिक हल्लाजस्ता सुनिन थालेका छन् । विरोध गर्नेहरूको मोरल क्यापिटल समाप्त भएपछि उनीहरूको विरोधमा जनताले अर्थ देख्न छाड्छन् । परिणामतः सही कुरा पनि गलतजस्तो देखिन थाल्छ ।
जब समाजमा विश्वसनीय आवाजहरू कमजोर हुन थाल्छन्, त्यतिबेला मिडिया र सार्वजनिक स्पेसको भूमिका अझ महत्त्वपूर्ण बन्छ । त्यसैले अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको सन्तुलित विश्लेषण, विवेक र नैतिक पूँजी हो । समाजमा नैतिक विश्वसनीयता भएका मानिसहरूलाई सार्वजनिक बहसको केन्द्रमा ल्याउन आवश्यक छ ।
राजनीति शक्ति र सङ्गठनको खेलमा सीमित भइरहँदा लोकतन्त्रको आत्मा कमजोर हुँदै जान्छ । त्यसैले समाजले फेरि नैतिक आधार भएका शिक्षक, बुद्धिजीवी, सामाजिक अभियन्ता र सार्वजनिक जीवनमा इमानदार देखिएका व्यक्तिहरूका लागि सार्वजनिक स्पेस निर्माण गर्नुपर्छ ।
अनि मिडिया जगत्, विभिन्न प्लेटफर्म, सार्वजनिक माध्यम र सार्वजनिक स्पेस भएका सबैप्रति एउटा आग्रह छ- कृपया सचेत रूपमा उच्च मोरल क्यापिटल भएका मानिसहरू खोज्नुस्, उनीहरूलाई स्पेस दिनुस् र बहसलाई एकपक्षीय होइन, बहुआयामिक बनाउन सहयोग गर्नुस् ।
अहिले यस्तो वातावरण बनिरहेको छ, जहाँ एउटा पक्षको पीडा, रिस वा तर्क मात्र देखाइँदा अर्को पक्षले आफूलाई पूर्ण रूपमा अन्याय भएको वा बाहिर पारिएको महसुस गरिरहेको छ । यस्तो एकआयामिक प्रस्तुतीकरणले समाजको विभाजनलाई झन् गहिरो बनाउँछ ।
र, सार्वजनिक रूपमा विचार राख्ने, लेख्ने–बोल्ने, ओपिनियन लिडरका रूपमा हेरिने सबैप्रति पनि एउटा आग्रह छ- कृपया आफ्नो विवेक प्रयोग गर्नुस् । समाजलाई अझ ध्रुवीकृत बनाउने होइन, विभाजन र अतिवाद कम गर्ने दिशातर्फ सोच्नुस् ।
हरेक विषयलाई ‘हाम्रो’ र ‘तिम्रो’ को चस्माबाट मात्र हेर्दै जाने हो भने हामी बिस्तारै यस्तो समाजतर्फ पुग्छौँ, जहाँ संवादभन्दा आवेग र विवेकभन्दा रिस बलियो बन्न थाल्छ ।
याद रहोस्, लोकतन्त्र संविधानले मात्र टिक्दैन; त्यो समाजको नैतिक चेतना र विवेकले टिक्छ । र, त्यो चेतना कमजोर भयो भने कुनै पनि समाज सजिलै अतिवाद, विभाजन र अराजकतामा चिप्लिन सक्छ । अनि हामी यस्तो समाजमा पुग्नेछौँ, जहाँ सबै बोलिरहेका हुन्छन् तर कसैमाथि विश्वास बाँकी रहँदैन ।
प्रतिक्रिया 4