नेपाली साहित्यका पहिलो आधुनिक कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथामा आधारित चलचित्रको नयाँ संस्करण पर्दामा चलिरहेको छ। चामे र गौंथलीको कथा भएको यो पारिवारिक चलचित्रले पति–पत्नी बीचका द्वन्द्व, झगडा, भनाभन, कुटाकुट सबै क्षणिक हुन्; यी सबै भइकन पनि पति–पत्नी मिल्छन्, मिल्नुपर्छ भन्ने पुरानै भाष्यलाई निरन्तरता दिएको छ।
यो कथाले ‘लोग्नेस्वास्नीको झगडा परालको आगो हो’ भनिरह्यो। हामीले मानिरह्यौं; पत्याइरह्यौं।
के पति–पत्नीको सम्बन्ध यस्तै मात्र हुन्छ त ? झगडा, यातना, शारीरिक हिंसा, गाली, बेइज्जती, तिरस्कारयुक्त बोली र अपमानका बाबजुद पनि पुनः उस्तै प्रेमिल, मायालु, कर्तव्यपरायण र समर्पित हुन सक्छन् त उनीहरू ? हुनसकिरहेका छन् त ?
हुन्थ्यो। यस कथाका लेखक मैनालीले यो कथा लेख्दाको जुन समय थियो, त्यति बेलाको देशकाल-परिस्थिति त्यस्तै थियो। र, पतिपत्नी बीचका तमाम मनोमालिन्यहरू परालकै आगो मानिन्थे, मानिए।
अब पनि त्यस्तै स्थिति छ त ?
वि.सं. २०२२ मा प्रकाशित ‘नासो’ कथासङ्ग्रहमा कथाकार मैनालीका ९० को दशकको प्रारम्भदेखि २००७ पछि लेखिएका एघार वटा कथा प्रकाशित छन्। त्यसैमध्येको कथा हो- ‘परालको आगो’।
वि.सं. २०४० मा इन्द्रबहादुर राईले ‘कठपुतलीको मन’ कथासङ्ग्रह प्रकाशित गरे। यस सङ्ग्रहको शीर्ष कथा ‘कठपुतलीको मन’ मा रहेका चार विकथा (उपकथा) हरूको पृष्ठ (आधार) कथाको रूपमा त्यही चामे र गौंथलीको कथा नै आएको छ। यस कथामा पनि चामे र गौंथली झगडा गर्छन्, कुटाकुट गर्छन्, मिल्छन्। (यो एक प्रयोगधर्मी, विनिर्माणवादी कथा हो। कथाकार राईले विधा भञ्जन र मिश्रणको जुन प्रयोग कथामा गरेका छन्, यहाँ म त्यसको कुरा गरिरहेकी छैन।)
तर अन्य चार उपकथाका दम्पतीमा ठूलो झगडा पनि छैन, कुटाकुट पनि छैन। तर पनि उनीहरू सँगै छैनन्, मिल्दैनन्।
यी उपकथाहरूमा कुनैमा सम्बन्धको असुरक्षाले हुरीको पात जस्तो हल्लिरहेका पात्र छन् भने कुनैमा पात्रले आत्महत्याको सोच बनाएको देखिन्छ। कुनैमा पञ्चायत बसेर ‘दुवै जना सँगै बस’ भनी मिलाएकै रात पत्नीले आत्महत्या गरेकी छ भने, कुनैमा स्कूल पढ्दापढ्दै विवाह गरेकी किशोरी जो पछि दुई सन्तानकी आमा पनि भएकी छे, उसको दाम्पत्य जीवन पनि वियोगमै टुङ्गिएको छ।
कुनैमा पात्रहरू आफैं बोल्छन्, कुनैमा अन्य पात्र नै सूत्रधार बनेर कथाको वर्णन गर्छन्। दम्पतीमध्ये पनि कोही प्रत्यक्ष र मुख्य पात्र छन् त कोही अप्रत्यक्ष र गौण।
कथाकार राई यी चार दम्पतीका कथा मार्फत ‘अब पति–पत्नीको झगडा, मनोमालिन्य परालको आगो मात्र होइन, रहेन’ भन्दछन्। कथाकार मैनालीले भनेको ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो हो’ भन्ने भाष्यलाई चिर्दै ‘परालको आगो मात्र होइन’ भन्न अर्का कथाकार राईलाई लगभग चार दशक लागेको देखिन्छ।
अब दाम्पत्य कलह परालको आगो होइन है भनेर एक स्रष्टाले देखेको सामाजिक सत्यलाई अङ्गीकार गर्न हामीलाई भने वर्षौं लाग्यो। वि.सं. २०४० मा प्रकाशित कथाले देखाएको दाम्पत्य जीवनको असमझदारीमा पुरुष मात्र एकलौटी दोषी हुँदैन; यी असमझदारीहरूमा महिलाहरूको पनि कहीं न कहीं अंशियारी (हिस्सेदारी) हुन्छ भन्ने कुरा यो कथाले पनि सङ्केत गरेको छ।
समयले कैयौं चोला फेरिसक्दा पनि हामी चामे र गौंथलीको उही पुरानो कथा देखाइरहेका छौं, हेरिरहेका छौं।
‘स्वास्नी जैरीसँग के टेक गर्नु ?’ भन्ने संवादमा खित्का छाडिरहेका छौं। ‘जैरी’ शब्दको अर्थ आजको पुस्ताले थाहा पाएको छ कि छैन ? आफूले हरेक हप्ता रेजर वा वाक्स गरेर फाल्ने गरेको वा लेजर गरेरै सधैंलाई निमिट्यान्न बनाएका काखीमुनिको रौंसँग स्वास्नीलाई तुलना गरिएको थाहा पाए नयाँ पुस्ताका छोरीहरू के भन्दा हुन् ?
‘परचक्रीलाई कुट्ने पो कुट्ने त ! घरकी स्वास्नी, किलामा बाँधिएको भैंसीलाई कुट्ने के कुट्ने ?’ भन्ने कोकलेकी आमाको कथनले घरकी पत्नीलाई ‘किलामा बाँधिएको भैंसी’ का रूपमा चित्रण गरिएको कुरा आजका दिनमा कस्तो सुनिंदो हो ? विवाहित महिलाहरू अझै आफू किलामा बाँधिएको भैंसी झैं महसुस गर्दा हुन् कि नाइँ ?
पटक-पटक ‘पोडे भए जाउँला, गरुँला’ भन्ने कथनले उक्त समुदायले महसुस गर्ने पीडालाई कुन शब्दमा व्यक्त गर्ने ? उनीहरूको आत्मसम्मान के भन्दो हो यो सबै सुनेर ?
‘परालको आगो’ जस्ता कथा हिजो लेखिए। आज पनि ती कथा र तीभित्रका मर्मलाई उसरी नै आत्मसात् गर्ने कि यसमा परिवर्तन/परिमार्जन पनि जरूरी छ ? ‘परालको आगो’ माथि फिल्म बनाइरहँदा यसका निर्माता, निर्देशक तथा कलाकारहरूले इन्द्रबहादुर राईको ‘कठपुतलीको मन’ पढेका थिए कि थिएनन् होला ?
यो विनिर्माणवादी कथाको लीला बुझ्न यसलाई विपठन गर्ने पाठक, दर्शक जन्मिएका होलान् कि नाइँ ? तपाईंहरूका घरमा, जीवनमा लोग्नेस्वास्नीको झगडा परालकै आगोको बिम्बमा मात्र समेटिएको छ कि त्योभन्दा बढी अरू नै केही छ ?
प्रतिक्रिया 4