+
+
Shares

कांग्रेसलाई नेविसंघको प्रश्न : आगामी नेतृत्व टिके कि मतदानबाट ?

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ११ गते १३:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको भ्रातृ संस्था नेविसंघमा टिके प्रथा अन्त्यको माग गर्दै विद्यार्थीहरूले पार्टी कार्यालय सानेपामा प्रतीकात्मक मतदान गरेका छन् ।
  • प्राविधिक विद्यार्थी परिषद्का अध्यक्ष पुष्करविक्रम शाहीले भ्रातृ संस्थाहरूमा टिके प्रथा लादिएको भन्दै महाधिवेशनमार्फत नेतृत्व चयन गर्न माग गर्नुभयो ।
  • नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेको भन्दै नेविसंघसहित पाँच भ्रातृ संगठनका केन्द्रीय समितिहरू यसअघि नै भंग गरेको थियो ।

११ जेठ, काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संस्थाहरूमा टिके प्रथा लादिएको भन्दै विद्यार्थीहरूले सानेपामा लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरेका छन् । प्राविधिक विद्यार्थी परिषद् (फोट्स) को आयोजनामा सोमबार नेविसंघमा आवद्ध विद्यार्थीहरूले लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरेका हुन् ।

‘पार्टीको केन्द्रीय कार्यसमिति स्वयम् निर्वाचित नभई मनोनयन प्रक्रियाबाट आएको अवस्थामा लोकतान्त्रिक अभ्यास र निर्वाचन संस्कृतिलाई बिर्सेर भ्रातृ संस्थाहरूमा टिके प्रथा लादियो,’ फोट्सका अध्यक्ष इन्जिनियर पुष्करविक्रम शाहीले भने, ‘त्यसको विरोधस्वरूप सानेपास्थित पार्टी कार्यालयमा लोकतान्त्रिक निर्वाचन अभ्यासको प्रतीकात्मक प्रदर्शन गरेका हौं ।’

नेविसंघको नेतृत्व चयनको प्रक्रियाबारे विद्यार्थीहरूले सानेपामा मतदान कार्यक्रम गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय सानेपामा नेविसंघमा आगामी नेतृत्व ‘टिके कि मतदानबाट’ भन्ने विषयमा मतदान गरिएको विद्यार्थीहरूले बताएका छन् ।

नेविसंघको नयाँ नेतृत्व महाधिवेशनबाट चयन गर्नुपर्ने भन्दै सांकेतिक दबाबका लागि मतदान गरिएको अध्यक्ष शाहीले बताए । थापाथाली इञ्जिनियरिङ क्याम्पसका निवर्तमान स्ववियु सभापतिसमेत रहेका शाहीले नेविसंघमा ‘टिके’ नेतृत्व मान्य नहुने पनि बताए ।

यसअघि महाधिवेशनको तयारीमा रहेको दुजाङ शेर्पा नेतृत्वको नेविसंघको केन्द्रीय समिति भंग भएको थियो । महाधिवेशन गर्न नसकेको भन्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले २१ वैशाखमा शेर्पा नेतृत्वको केन्द्रीय समितिको म्याद थप नगर्ने निर्णय गरेको थियो ।

कांग्रेसले महाधिवेशन सम्पन्न गर्न तदर्थ समिति गठन गरिएका भ्रातृ संस्थाहरूलाई २०८१ चैत्र मसान्तभित्र महाधिवेशन गर्नै पर्ने र गर्न नसकेमा स्वतः पदावधि समाप्त हुने समयसीमा दिएको थियो । तर, शेर्पाले महाधिवेशनका लागि पार्टीले विधान नदिएका कारण आरोप लगाएका थिए ।

कार्यसम्पादन समितिको निर्णयअनुसार नेविसंघसँगै कांग्रेसले नेपाल तरूण दल, नेपाल महिला संघ, नेपाल दलित संघ र नेपाल लोकतान्त्रिक खेलकुद संघको केन्द्रीय समिति भंग भएको थियो ।

केन्द्रीय समिति भंग भएका पाँच भ्राृत संगठनमध्ये सभापति गगन थापाले नेपाल महिला संघ र नेपाल तरूण दलको अध्यक्ष मनोनयन गरिसकेका छन् । सभापति थापा नेविसंघको अध्यक्ष मनोनयनको तयारीमा रहेका बेला विद्यार्थी नेताहरू आन्दोलनमा उत्रिएका छन् ।

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?