+
+
Shares

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता बिहीबारदेखि

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १२ गते ११:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंमा बिहीबारदेखि 'तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता'को तेस्रो संस्करण आयोजना हुने भएको छ ।
  • नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनद्वारा आयोजित प्रतियोगितामा पहिलो पटक लिड क्लाइम्बिङ विधा समावेश गरिएको छ ।
  • महिला र पुरुष दुवै विधाका विजेताहरूले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

१२ जेठ, काठमाडौं । ‘तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता’को तेस्रो संस्करण बिहीबारबाट काठमाडौंमा हुने भएको छ । नेपाल तथा विदेशी आरोहीहरूको सहभागिता रहने यस प्रतियोगितालाई नेपालको प्रमुख साहसिक खेलमध्ये एकका रूपमा लिएको छ ।

प्रतियोगिता नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुन लागेको हो । आयोजकका अनुसार प्रतियोगिताले नेपालमा साहसिक आरोहण खेलको प्रवद्र्धन गर्नेछ । विश्वप्रसिद्ध आरोही तेन्जिङ नोर्गे शेर्पा र सर एड्मण्ड हिलारीको योगदानलाई सम्मान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको हो ।

प्रतियोगितामा सहभागिताका लागि आवेदन फारम आज (जेठ १२) गते सम्म खुला रहनेछ । फारम ठमेलस्थित एस्ट्रेक क्लाइम्बिङ वाल तथा गैरीधारास्थित नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको कार्यालयबाट प्राप्त गर्न सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाली तथा विदेशी दुबै आरोहीहरूले सहभागिता जनाउन सक्नेछन् ।

प्रतियोगितामा पुरुष तथा महिला गरी छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा हुनेछ । दुवै विधाका विजेताले प्रथम, द्वितीय र तृतीय स्थानका लागि क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष तुल सिङ गुरुङका अनुसार जेठ १४ गतेका दिन बिहान ९ बजेदेखि सुरु हुने उदघाटन कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष फुर गेल्जे शेर्पा प्रमुख अतिथि रहने छन् । यस्तै, मे १५ गते हुने फाइनल कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा ग्याबु शेर्पाको उपस्थिति रहनेछ ।

हालसम्म २२ जना पुरुष र १० जना महिला आरोहीहरूले नाम दर्ता गराइसकेको गुरुङले जानकारी दिए । यस वर्ष करिब ४० पुरुष र १५ महिला सहभागी हुने अपेक्षा गरिएको उनले बताए । ‘यस वर्षको प्रतियोगिता विशेष छ, किनभने पहिलो पटक लिड क्लाइम्बिङ विधामा आरोहीहरुले प्रतिस्पर्धा गर्ने छन्,’ गुरुङले भने, ‘अघिल्ला दुई संस्करण भने टप–रोप क्लाइम्बिङमा मात्र सीमित थिए ।’

तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा सुरु गरिएको यो प्रतियोगिता सन् १९५३ मे २९ मा सर एड्मण्ड हिलारीसँगै विश्वको सर्वोच्च शिखर सगरमाथाको पहिलो सफल आरोहणको सम्झनामा आयोजना हुँदै आएको आयोजकले जनाएको छ । गुरुङका अनुसार यस वर्षको प्रतियोगिता विशेष रूपमा मे २९ तारिखमा आयोजना गरिएको हो । सगरमाथा आरोहणसँग जोडिएको ऐतिहासिक दिनमा साहसिक खेलसम्बन्धी कार्यक्रम कमै आयोजना हुने भएकाले प्रतियोगितालाई अझ विशेष बनाइएको उनले बताए ।

‘हालसम्म मे २९ तारिखलाई मुख्यतः र्‍याली, प्रमाणपत्र वितरण तथा औपचारिक कार्यक्रममार्फत मात्र मनाइँदै आएको छ’ गुरुङले भने ‘यस ऐतिहासिक दिनमा प्राविधिक साहसिक खेलसम्बन्धी कार्यक्रमहरू निकै कम हुने गरेका छन् ।’

यस वर्ष पहिलो पटक नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा प्रतियोगितालाई अझ प्राविधिक रूपमा आयोजना गर्न लागिएको हो, जसले नेपालको क्लाइम्बिङ क्षेत्रको विकासमा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा रहेको उनले बताए ।

‘इतिहाससँग जोडिएको यस महत्वपूर्ण दिनमा प्रतियोगिता आयोजना गर्नु तेन्जिङ नोर्गे शेर्पाको साहस र पर्वतारोहण क्षेत्रमा उनले पुर्‍याएको योगदानप्रति उच्च सम्मान हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?