+
+
Shares

पछिल्लो इजरायली आक्रमणमा कम्तीमा ३१ लेबनानीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते ११:४३

१३ जेठ, काठमाडौं‌ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाह विरुद्धको सैन्य कारबाहीलाई अझ तीव्र पार्ने चेतावनी दिएलगत्तै लेबनानमा भीषण हवाई आक्रमण भएको छ।

लेबनानको दक्षिणी र पूर्वी क्षेत्रमा भएका यी पछिल्ला आक्रमणहरूमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ । मृत्यु भएकाहरूमा केही बालबालिकाहरू समेत रहेका छन्।

इजरायली सेनाका अनुसार अप्रिल महिनामा युद्धविराम सुरु भएयताकै यो सबैभन्दा ठूलो बमबारी हो। सेनाले एकै रातमा हिजबुल्लाहका १०० भन्दा बढी स्थान र लडाकुहरूलाई निशाना बनाएको दाबी गरेको छ। प्रधानमन्त्री नेतान्याहुले मंगलबारको सुरक्षा बैठकमा इजरायलले लेबनानमा आफ्नो सैन्य पहुँच र सुरक्षा क्षेत्रलाई अझ बलियो बनाउँदै लगेको बताएका थिए ।

प्रधानमन्त्रीको यो घोषणापछि हिजबुल्लाहको मुख्य प्रभाव क्षेत्र मानिने राजधानी बेरुतका दक्षिणी उपनगरहरूमा भागदौड र त्रासको वातावरण सिर्जना भएको छ। हजारौँ मानिसहरू सुरक्षित स्थानतर्फ जानका लागि गाडीका लाम लागेर सहर छोडिरहेका देखिन्छन् ।

यसैबीच, लेबनानको मशघरा गाउँमा भएको बमबारीमा थुप्रै घरहरू ध्वस्त भएका छन्। सो भग्नावशेषबाट ११ जनाको शव निकालिएको छ भने एक ७ वर्षीय बालकलाई जीवितै उद्धार गरिएको छ। सोही आक्रमणमा ती बालकका बुबा र दुई दिदीबहिनीको मृत्यु भएको छ ।

दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लङ्घन गरेको आरोप लगाएका छन्। इजरायली सेनाले लेबनानी नागरिकहरूलाई नयाँ क्षेत्रहरू खाली गर्न आदेश दिएको छ भने हिजबुल्लाहले पनि इजरायली सेनाका तीनवटा ब्यारेक र सैन्य चौकीहरूमा क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

गत मार्च २ देखि सुरु भएको यस द्वन्द्वमा हिजबुल्लाहको आक्रमणबाट हालसम्म २३ इजरायली सैनिक र एक ठेकेदारको मृत्यु भएको छ। अर्कोतर्फ, इजरायली आक्रमणका कारण लेबनानमा अहिलेसम्म कम्तीमा ३ हजार १ सय ८५ जनाले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?