१६ जेठ, बुटवल । भारत उत्तर प्रदेशको कुशीनगर क्षेत्रबाट उद्धार गरिएका ४५३ नेपालीलाई रुपन्देही ल्याएरले प्रहरीले अनुसन्धान थालेको छ ।
भारतस्थित नेपाली दूतावास र भारतीय प्रहरीको समन्वयमा कुशीनगर क्षेत्रको नेकवर्किङ बिजनेसको कार्यालयबाट शुक्रबार उनीहरूलाई उद्धार गरिएको थियो ।
उद्धार गरिएका सबैलाई शनिबार बेलहिया नाका हुँदै रुपन्देही पुर्याएर जिल्ला प्रहरी कार्यालय, रुपन्देहीमा राखिएको छ । अहिले उद्धार गरेर ल्याइएकामध्ये कति जना पीडित र कति जना पीडक ? भन्ने छुट्याउने क्रम चलिरहेको प्रहरीले जनाएको छ ।
उद्धार गरिएकामध्ये करिब १०० जना महिला रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर शाहीले जानकारी दिए । उनले शंकास्पद ९ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको पनि जानकारी दिए ।
कुशीनगरमा लुम्बिनी प्रदेश, कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशका युवायुवतीलाई जागिर दिने भन्दै २५ सय देखि ५ हजार रकम लिएर फारम भराउने, तालिमवापत पनि रकम लिने गरेको पाइएको छ ।
यस्तै कतिपयलाई न्यून तलबमा रोजगारी दिएर अधिकांशलाई जागिरको आश्वासनमा अल्झाएर बन्धक बनाएर राख्ने गरेको उजुरीका आधारमा कुशीनगर पुगेर उद्धार गरिएको रूपन्देही एसपी शाहीले बताए ।
‘कुशीनगरमा बन्धक जस्तै बनाएर राखी फिरौती रकमसमेत माग गरिएको भन्दै पीडितका आफन्तले इलाका प्रहरी कार्यालय बुटवलमा उजुरी परेपछि
६ महिनासम्म अध्ययन पश्चात उत्तर प्रदेश र कुशीनगर प्रहरीसँगै लुम्बिनी प्रदेश प्रहरीसित समन्वयमा उद्धार गर्न सफल भएका हौँ,’ शाहीले भने । उनले छानबिनपछि पीडितलाई आफन्तको जिम्मा लगाउने र पीडकमाथि थप अनुसन्धान गरिने जानकारी दिए ।
उद्धार गरिएका नेपालीसँगैं दूतावासका कर्मचारी पनि रुपन्देही आएका छन् । नेपाली दूतावासका मिनिस्टर कन्सुलर अम्विका जोशीले नेटवर्किङ बिजनेसका कारण पीडित बनेका व्यक्तिको गुनासोका आधारमा लामो समय अध्ययन गरेपछि नेपालीको उद्धार गरिएको बताए ।
नेटवर्किङ बिजनेसका सञ्चालक र पीडित दुवै नेपाली नै पाइएको प्रहरीले जनाएको छ ।
किन इण्डिया संस्थाका नवीन जोशीले एउटै कोठामा १५–१६ जनासम्म सुताइएको र गर्मीमा राहत पुग्ने कुनै आधार नरहेको एसपी शाहीले बताए । ‘सुरुमा धेरै पैसा कमाउने प्रलोभन दिएर नेपालका विभिन्न जिल्लाका बासिन्दालाई कुशीनगर लग्ने गरिएको रहेछ,’ उनले भने, ‘त्यहाँ पुगेपछि तालिम दिने र थप आफन्त बोलाउन दबाब दिने गरेको बुझिएको छ ।’
गिरोहले नेपालबाट आकर्षक जागिरको प्रलोभन देखाएर सुनौली हुँदै कुशीनगर पुर्याएको खुलेको छ ।
त्यहाँ प्रति व्यक्ति ७ हजार भारतीय रूपैयाँदेखि एक लाखसम्म रकम असुल गरेर सदस्यता विस्तार गर्दै नेटवर्किङ व्यवसायको शैलीमा सदस्यता विस्तार गर्दै लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले त्यही उजुरीका आधारमा अनुसन्धान सुरू गरेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले बताए । चार दिनको निरन्तर प्रयासपछि उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतीय प्रहरीको सहयोगमा पीडितको उद्धार गर्न सफल भएको उनले बताए ।
जागिरको प्रलोभनमा त्यहाँ पुर्याइएका युवायुवतीलाई एक समूहले तालिम दिने र अर्को समूहले सदस्यता शुल्क लिएर सदस्य बिस्तारमा लगाउने गरेको उनले बताए ।
प्रतिक्रिया 4