News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर विकास कूटनीतिमा जोड दिनुपर्ने बताए ।
- उनले भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’ मा लेख लेख्दै रक्सौल–काठमाडौं रेलमार्ग र सीधा हवाई उडानसहित आठबुँदे प्रस्ताव प्रस्तुत गरे ।
- पाँचदिने भ्रमणका क्रममा दिल्ली पुगेका लामिछानेले आज भारतीय जनता पार्टीका नेताहरूसँग आपसी राजनीतिक सहकार्यका विषयमा छलफल गर्ने कार्यक्रम छ ।
१९ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नेपाल–भारत सम्बन्धलाई भूराजनीतिक विवादबाट बाहिर निकालेर ‘विकास कूटनीति’को आधारमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनुपर्ने प्रस्ताव गरेका छन् ।
भारतबाट प्रकाशित हुने दैनिक हिन्दुस्तान टाइम्समा प्रकाशित आफ्नो लेखमार्फत् लामिछानेले नेपाल–भारत सम्बन्धको अब शब्दावली नै परिवर्तन गर्नुपर्ने तर्क गर्दै सहकार्यका विभिन्न प्रस्तावहरु समेत राखेका छन् ।
उनका अनुसार अब सम्बन्ध भूराजनीतिक तनाव होइन, लगानी, व्यापार, ऊर्जा, पर्यटन र आर्थिक साझेदारीमा आधारित हुनुपर्ने तथा कूटनीतिक नियोगहरूलाई राजनीतिक सम्पर्क केन्द्रभन्दा लगानी, व्यापार र आर्थिक सहकार्यको ‘इन्जिन’ का रूपमा रूपान्तरण गर्नुपर्छ ।
पाँचदिने औपचारिक भ्रमणका लागि हिजो नयाँदिल्ली गएका रविले आज भाजपा मुख्यालयमा भाजपा अध्यक्ष नितिन नविन लगायत उच्च तहका नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ता दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा केन्द्रित हुने रास्वपाले जनाएको छ ।
भारत भ्रमणका बेला भारतीय पत्रिकामा प्रकाशित लेखमार्फत् रविले नेपाल–भारतबीचको सहकार्यका लागि राखेका प्रमुख ८ प्रस्ताव यस्ता छन्–
१. सीमा विवाद समाधानका लागि संवादमा जोड
नेपाल–भारत सम्बन्धको आधार विश्वास हुनुपर्ने बताउँदै लामिछानेले सीमा लगायतका विवादलाई अल्झाइराख्नु नहुने बताएका छन् । उनले अतिराष्ट्रवादी भाषणको आलोचना गर्दै ऐतिहासिक तथ्य र आपसी समझदारीका आधारमा संवादमार्फत विवाद समाधान गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
लेखको अन्त्यमा उनले सन् २०१४ मा नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सीमालाई ‘अवरोध होइन, पुल’ बनाउने दृष्टिकोण प्रस्तुत गरेको स्मरण गर्दै दुई देशबीचको सम्बन्धलाई विगतका आशंका होइन, साझा भविष्यका सम्भावनाले परिभाषित गर्नुपर्ने बताएका छन् ।
२. रक्सौल–काठमाडौं रेललाई प्राथमिकता
लेखमा लामिछानेले नेपाल–भारत सम्बन्धमा सबैभन्दा महत्वपूर्ण आर्थिक परियोजनाका रूपमा प्रस्तावित रक्सौल–काठमाडौं रेलमार्गलाई अघि सारेका छन् । भारतले दैनिक करिब १५ किलोमिटर रेलमार्ग निर्माण गरिरहेको उल्लेख गर्दै उनले १५० किलोमिटरभन्दा कम दूरीको रक्सौल–काठमाडौं रेलमार्ग सम्पन्न भए व्यापार, पर्यटन, ढुवानी र क्षेत्रीय सम्पर्कमा क्रान्तिकारी परिवर्तन आउने बताएका छन् ।
उनले नेपालले केवल सीमा जोड्न नभई रेलमार्फत सम्पूर्ण अर्थतन्त्र जोड्न चाहेको उल्लेख गरेका छन् ।
३. पोखरा र लुम्बिनीबाट भारतमा सीधा हवाई उडान
लामिछानेले नेपाल–भारत हवाई सम्पर्क विस्तारको नयाँ एजेन्डा पनि अघि सारेका छन् । उनले पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेङ्गलुरुजस्ता भारतीय शहरमा सिधा उडान सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।
४. ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ को अवधारणा
सूचना प्रविधि क्षेत्रमा भारतसँग सहकार्य बढाउन उनले ‘काठमाडौं–बेङ्गलुरु डिजिटल करिडोर’ निर्माणको अवधारणा अघि सारेका छन् ।
डिजिटल भुक्तानी, फिनटेक र सीमापार डिजिटल प्लेटफर्ममार्फत दुवै देशका साना उद्यमीलाई सशक्त बनाउन सकिने उनको भनाइ छ ।
५. भारतीय शैक्षिक तथा स्वास्थ्य संस्थाहरू नेपालमा बिस्तार
भारतका आईटी कम्पनी, स्टार्टअप र विश्वविद्यालयलाई नेपालमा नवप्रवर्तन प्रयोगशाला, इन्क्युबेसन सेन्टर र प्रविधि हब स्थापना गर्न आह्वान गर्दै उनले नेपालको युवा जनशक्ति, स्वच्छ ऊर्जा र डिजिटल पूर्वाधारलाई भारतीय प्रविधि पारिस्थितिकीसँग जोड्नुपर्ने बताएका छन् ।
लामिछानेले भारतका प्रतिष्ठित शैक्षिक तथा स्वास्थ्य संस्थाहरू नेपालमा विस्तार गर्नुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् । उनले नेपालमा इन्डियन इन्सटिच्युट अफ टेक्नोलोजी (आईआईटी) र अल इन्डिया इन्सटिच्युट अफ मेडिकल साइन्सेस (एम्स) जस्ता संस्थाहरू स्थापना गर्न सकिने बताएका छन् ।
६. सीमा क्षेत्रमा रासायनिक मल उद्योग प्रस्ताव
भारतको गुजरात राज्यको औद्योगिक विकासबाट प्रेरणा लिँदै नेपाल–भारत सीमा क्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न तत्काल सहकार्य गर्न सकिने प्रस्ताव समेत गरेका छन् । ‘हामी गुजरातको औद्योगिक पूर्वाधारबाट प्रेरणा लिन्छौं । त्यसैबाट सिकेर नेपाल–भारत सीमाक्षेत्रमा रासायनिक मल उद्योग स्थापना गर्न तत्काल सहकार्य गर्न सकिँदैन र ?’ उनले भनेका छन् ।
यो प्रस्ताव केवल उद्योग स्थापना मात्र नभई नेपाल–भारत सम्बन्धलाई कृषि उत्पादन, आपूर्ति शृंखला र आर्थिक विकाससँग जोड्ने सोचको हिस्सा भएको उनको धारणा छ ।
७. जलविद्युत् र ऊर्जा बजार एकीकरणमा जोड
रविले नेपालको जलविद्युत् सम्भावनालाई भारतका औद्योगिक करिडोरसँग जोड्नुपर्ने उल्लेख गरेका छन् । उनले खण्डित सीमापार व्यापारको सट्टा एकीकृत ऊर्जा बजार निर्माण गर्नुपर्ने उनको प्रस्ताव छ ।
उनले आधुनिक डिजिटल एकीकृत जाँच चौकी (आईसीपी), सहज ट्रान्जिट प्रणाली र व्यापारिक अवरोध हटाउन पनि जोड दिएका छन् ।
८. आईपीएलमा नेपाली खेलाडी र रंगशालाको सहभागिता
लेखमा लामिछानेले नेपाल–भारत सम्बन्धलाई केवल राजनीति र कूटनीतिमा सीमित नराखी खेलकुदसम्म विस्तार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
खेलकुद क्षेत्रलाई समेत नेपाल–भारत सहकार्यको सम्भावित क्षेत्रका रूपमा उनले प्रस्तुत गरेका हुन् । हालै आईपीएल फाइनल हेरेको उल्लेख गर्दै उनले भविष्यमा नेपाली खेलाडी मात्र होइन, नेपाली रंगशालासमेत आईपीएल फ्रेन्चाइज संरचनासँग जोडिन सक्ने सम्भावनाबारे सोचिरहेको बताएका छन् ।
नेपालमा भएको राजनीतिक परिवर्तनलाई ‘ब्यालट बक्स क्रान्ति’ को संज्ञा दिँदै उनले नेपाल नयाँ राजनीतिक यथार्थतर्फ अघि बढिरहेको बताएका छन् । उनले नेपालमा रास्वपाको उदयलाई पुरानो राजनीतिक संरचनामाथिको चुनौतीका रूपमा व्याख्या गर्दै नयाँ पुस्ताले विकास, सुशासन र प्रत्यक्ष जवाफदेहितामा आधारित राजनीति रोजेको दाबी गरेका छन् ।
प्रतिक्रिया 4