+
+
Shares

इबोला संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सम्भावित प्रवेशबिन्दुहरूमा उच्च सतर्कता

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १९ गते १०:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
  • नेपाल सरकारले इबोला भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै सीमा र प्रवेशबिन्दुहरूमा निगरानी तथा पूर्वतयारीका काम तीव्र बनाएको छ ।
  • सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा तत्काल इबोलाको जोखिम नरहे पनि प्रवेशबिन्दुहरूमा निगरानी र सजगता अपनाउनुपर्ने बताए ।

१९ जेठ, काठमाडौं । अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

अफ्रिकी मुलुकहरूमा इबोला भाइरस संक्रमण देखिएपछि नेपाल सरकारले इबोला भाइरस संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राख्दै निगरानी तथा तयारीका काम तीव्र बनाएको जनाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले इबोला संक्रमणलाई विश्वव्यापी जनस्वास्थ्य चासोको विषयका रूपमा अघि सारेसँगै इबोला जोखिम न्यूनीकरणका लािग आावश्यक तयारी अघि बढाएको बताए । उनले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन तथा संक्रमण नियन्त्रणका उपायहरूको समीक्षा गर्दै मातहतका अस्पताल, प्रयोगशाला र रोग नियन्त्रणसम्बन्धी निकायसँग समन्वय भइरहेको बताए ।

उनले मन्त्रालयले संक्रमित व्यक्ति नेपाल भित्रिन सक्ने सम्भावित प्रवेशबिन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरिएको बताए । सम्भावित प्रवेशबिन्दुहरुमा यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमणसम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको परीक्षण तथा व्यवस्थापनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरुवा रोग अस्पतालहरूसँग समन्वय गरिरहेको उनको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राष्ट्रियस्तरको इमरजेन्सी मेडिकल टिमलाई समेत सक्रिय बनाएर इबोला नियन्त्रण र जोखिम न्यूनीकरणको काम भइरहेको उनले जानकारी दिए ।

तत्कालका लागि नेपालमा इबोला संक्रमण फैलिन्छ भनेर आत्तिनु नपर्ने तर निगरानी गर्दै सजगता भने अपनाउनुपर्नेमा जोड दिए ।

‘डब्लूएचओको स्वास्थ्यसम्बन्धी नियमावलीअनुसार सबै देशहरुसँग समन्वय र सहकार्यमा हामी छौँ र त्यसैअनुसारको विवरणहरुअनुसार संक्रमणको जोखिम भएको क्षेत्रमा गएका सबै सुरक्षाकर्मी समेत क्वारेन्टाइनमा बसेर आउने गर्नुभएको छ । त्यसकारण अहिले नै आत्तिहाल्नुपर्ने अवस्था छैन,’ सहायक प्रवक्ता अधिकारीले भने ।

इबोला भाइरस कसरी सर्छ ?

इबोला भाइरस विभिन्न जंगली जनावरबाट पहिलो पटक मानिसमा सरेको हो । जंगली जनावरको मासु खाने तथा बढी सम्पर्कमा आउने मानिसहरुमा भाइरस संक्रमित जंगली जनावरको रगत, अन्य जैविक रस, मासु आदिबाट भाइरस मानिसमा सर्दछ । खासगरी चिम्पान्जी, गोरिल्ला, बाँदर, सुँगुर, मृग, दुम्सी तथा सबैभन्दा बढी चमेराबाट यो भाइरस मानिसमा सर्दछ ।

खासगरी रगत, अन्य जैविक रस, काटिएका अंगहरुबीचको प्रत्यक्ष सम्पर्कबाट यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ । साथै यौन सम्पर्कका बेला आउने विर्य तथा योनीरसको माध्यमबाट समेत इबोला भाइरस सर्दछ ।

इबोला भाइरसका लक्षणहरु के के हुन् ?

उच्च ज्वरो, टाउको दुख्ने, जोर्नी तथा मांसपेशीमा पीडा हुने, घाँटी तथा पेट दुख्ने र कमजोरी महसुस हुने इबोला भाइरसका लक्षणहरु हुन् । साथै भोक हराउने र सास फेर्न गाह्रो हुने समस्या पनि देखिन्छ ।

भाइरसको आक्रमण बढ्दै जाँदा संक्रमितलाई बान्ता आउने, पखाला लाग्ने, छालामा डाबर तथा रातो धब्बा आउने, मिर्गौला तथा कलेजोले काम गर्न छाड्ने जस्ता जटिल लक्षण देखिन्छन् ।

नाक, आँखा तथा कान, योनी, गिँजाबाट समेत रगत बग्छ भने खकारमा समेत रगत देखिन थाल्छ । आन्द्राबाट समेत रगत बग्न थाल्छ । धेरै रगत बगेर समेत रोगीको मृत्यु हुने खतरा हुने चिकित्सकहरु बताउँछन् ।

उपचार, रोकथाम र नियन्त्रण

रगतको परीक्षण पश्चात इबोला भाइरस पत्ता लगाउन सकिन्छ । यद्यपि भाइरसको कुनै प्रभावकारी औषधि भने छैन । धेरै भ्याक्सिनहरु परीक्षण गरिएका भएपनि अहिलेसम्म कुनै पनि खोप आधिकारिक रुपमा प्रयोगमा ल्याइएको छैन । त्यसैले रोगीलाई औषधि भन्दा पनि स्याहारको आवश्यकता हुन्छ । रोगीलाई ढाडस दिने, पर्याप्त मात्रामा पानी खुवाउने, पानीसँगै नुन, चिनीहरु समेत घोलेर खुवाउनुपर्छ ।

–न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?