+
+
Shares

८ वर्षदेखि अल्झाइयो स्थानान्तरण प्रक्रिया : फ्युचर स्कुलको भविष्य अनिश्चित

८ वर्षदेखि नगरपालिकाबाट स्थानान्तरणको स्वीकृति नपाएपछि यतिबेला फ्युचर स्कुलका सञ्चालक सुवाल न्यायका लागि अदालतको ढोका ढकढक्याउन पुगेका छन् ।

दिनेश गौतम दिनेश गौतम
२०८३ जेठ १९ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको सूर्यविनायक नगरपालिकाले ८ वर्षदेखि स्थानान्तरण स्वीकृति नदिई फ्युचर स्टार सेकेन्डरी स्कुल बन्द गर्ने सूचना जारी गरेको छ ।
  • नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेपछि सञ्चालक रमेश सुवाल स्वीकृतिको माग गर्दै उच्च अदालत पाटन पुग्नुभएको छ ।
  • हाल सो विद्यालयमा २१० जना विद्यार्थी अध्ययन गरिरहेका छन् भने २७ जना शिक्षक र कर्मचारी कार्यरत छन् ।

१९ जेठ, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ खापीमा छ, फ्युचर स्टार सेकेन्डरी स्कुल । तर ८ वर्षदेखि नगरपालिकाबाट स्थानान्तरणको स्वीकृति नपाउँदा स्कुलको भविष्य नै अनिश्चित भएको छ । २०७२ सालसम्म स्कुल भक्तपुर नगरपालिका–३ (साविकको वडा नम्बर १६) मा थियो ।

विद्यालय सञ्चालक रमेश सुवालका अनुसार भूकम्पका कारण विद्यालय स्थानान्तरण गर्नुपर्ने भयो । उनले सूर्यविनायकका जनप्रतिनिधिदेखि खापीका स्थानीयसम्म छलफल गरे ।

‘भूकम्पले विद्यालय सार्नु पर्‍यो । खापीका जनताले स्वागत गरेर आउन भनेपछि त्यो ठाउँमा सञ्चालन गर्ने निर्णय गरेका हौँ,’ उनले भने । २०७५ सालम माघ १० मा उनले खापीमा विद्यालय स्थानान्तरण गर्न सूर्यविनायक नगरपालिकामा निवेदन दिए ।

वडा नम्बर ८ का तत्कालीन वडाध्यक्ष किरण थापा मगरले पनि सर्जमिन गरेर सञ्चालन गर्दा फरक नपर्ने भनेर नगरपालिकामा सिफारिस गरे । ‘साँध-सँधियारबाट मुचुल्का उठाएर नियमअनुसार स्कुल यस वडामा हस्तान्तरण गरी सञ्चालनको व्यवस्था मिलाउन वडाले सिफारिस गरेको हो,’ वडाको सिफारिसपत्र देखाउँदै सुवालले भने, ‘माघ १० मा निवेदन दिएका थियौं । १५ गते नै विद्यालय सञ्चालन गर्न वडाले सिफारिस गरेको छ ।’ त्यसपछि २०७६ सालमा अलमल भयो ।

‘नयाँ संविधान जारी भएपछि २०७४ सालमा पहिलो पटक स्थानीय तहको चुनाव भएकाले अलमल थियो,’ सुवालले सुनाए । २०७७ सालमा आएर वडाको सिफारिसको आधारमा नगरपालिकाले स्थानान्तरणको प्रक्रिया अगाडि बढायो । र, नगरपालिकाले २०७७ असार २६ मा विद्यालय सञ्चालनको लागि दाबी विरोधको ३५ दिने सूचना जारी गर्‍यो ।

‘स्थानान्तरण सम्बन्धमा कसैको दाबी विरोध भएमा ३५ दिनभित्र लिखित रूपमा निवेद दिनू । नभए नियमअनुसार स्थानान्तरण भई जानेछ,’ सूर्यविनायक नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ ।

उक्त समयमा कसैको दाबी विरोध परेन । नगरपालिकाले नै कसैको दाबी विरोध नपरेमा स्थानान्तरण भई जाने सूचना जारी गरेकाले स्वीकृति पाउनेमा ढुक्क थिए, सुवाल । २०७७ को चैत-वैशाखमा नगरपालिकाले निर्णय गरेर स्वीकृति दिने आशामा थिए उनी । ‘ताकेता गर्दा निर्णय हुन्छ भनियो तर भएन,’ सुवालले भने ।

२०७८ सालमा आएर सूर्यविनायक नगरपालिकाले भक्तपुर नगरपालिकाको सिफारिस माग्यो । २०७९ साउन २ गते भक्तपुर नगरपालिकाले पनि स्थानान्तरणको दाबी विरोधको ३५ दिने सार्वजनिक सूचना जारी गर्‍यो । र, २०७९ असोज ६ गते भक्तपुर नगरपालिकाले स्थानान्तरणको सिफारिस दियो ।

स्थानान्तरणको सिफारिस दिएपछि भक्तपुर नगरपालिकाले भन्यो, ‘सिफारिस लगेपछि अबदेखि विद्यालय भक्तपुर नगरपालिका मातहत नरहने ।’ स्थानान्तरण भएर जाने सूर्यविनायक नगरपालिकाले पनि ३५ दिने सूचना जारी गरेर स्थानान्तरण हुने भनिसकेकाले सुवालले पनि भक्तपुर नगरपालिकाको सर्तमा सहमति जनाए ।

 

भक्तपुरको सिफारिस बोकेर उनी सूर्यविनायक पुगे । सबै कागजात तयार पारेर सूर्यविनायक नगरपालिकाको शिक्षा समितिले प्रतिवेदन बनायो । ‘२०८० वैशाखमा शिक्षा समितिको बैठकमा पास हुन्छ भनियो । तर निर्णय भएन,’ सुवालले भने ।

त्यसपछि सूर्यविनायक नगरपालिकाले सर्त राख्न थालेको गुनासो उनको छ । ‘स्कुल सञ्चालन गर्न कम्पनीको नाममा वा सेयर सदस्यको नाममा घर वा जग्गा हुनुपर्ने सर्त राखियो । हामीले नगरपालिकाको शिक्षा नियमवालीअनुसार नै स्थानान्तरणको प्रक्रिया अगाडि बढाएको हो ।

सोहीअनुसार जग्गा ५ वर्षको भाडामा लिएर विद्यालय चलाएका छौँ,’ उनले भने । निवेदन दिएको समयसम्म नगरपालिकाको शिक्षा नियमावलीमा ५ वर्षको लिज सम्झौता भएको हुने प्रावधान रहेको उनको दाबी छ ।

‘पुरानो नियममा टेकेर सबैबाट सिफारिस लिएर स्थानान्तरण गरेको हो । तर स्वीकृति पाउने समय आएपछि नियम संशोधन भएको भनियो,’ उनले भने । नगरपालिकाले नियम संशोधन २०७९ मा गरेको भनेको छ । हामीले विद्यमान नियमअनुसार प्रक्रिया अगाडि बढाएको हो ।’

पहिले स्थानान्तरण गर्न सिफारिस दिएर पछि स्वीकृति नदिएपछि सञ्चालक सुवाल अन्योलमा परे । सुवालले सञ्चालन गरेको स्थान नजिकै अर्को विद्यालय स्थानान्तरण भएर आउन लागेको उनले सुने । अन्ततः उनको स्कुलको १०० मिटर नजिकै २०८० मा अर्को स्कुल स्थानान्तरण भएर आयो । २०८१ बाट उक्त स्कुल सञ्चालनमा आयो ।

‘त्यो स्कुलले दुई वर्षमा नै स्वीकृति पायो । नगरपालिकाका जनप्रतिनिधिको नजिकका मान्छेको रहेछ,’ सुवालले भने, ‘हामीले ८ वर्षसम्म पनि स्वीकृति पाउन सकेनौं ।’

तर, सुवालको आरोप स्वीकार गर्न तयार छैन सूर्यविनायक नगरपालिका । ‘मापदण्ड नपुगेकाले हो । कसैलाई दिने कसैलाई नदिने भन्ने हुदैन,’ नगर प्रमुख वासुदेव थापाले भने, ‘प्रतिशोध साँधेको होइन । सबै नेपाली बराबर हो ।’ तर नगरपालिकाले २०७५ देखि नदिएर अल्झाएर राखेको गुनासो सुवालको छ । ‘नगरपालिकाले भेदभाव गरेको हो,’ उनले भने ।

विद्यालय यताको न उतको हुने भएपछि फ्युचर स्कुलले विद्यार्थीको भविष्य जोगाउन परीक्षा भने भक्तपुर नगरपालिका माताहत चलाउँदै आएको छ । ‘संविधानले दिएको अधिकार हो । विद्यार्थीको परीक्षा नरोकियोस् भनेर भक्तपर नगरपालिकामा अर्को निवेदन दियौं । अहिले परीक्षा भक्तपुर मातहत भइरहेको छ । विद्यालय सूर्यविनायकमा छ,’ उनले भने ।

विद्यालय स्थानन्तरणको लागि सुवालले सबै निकाय र जनप्रतिनिधिकहाँ धाए । तर सकेनन् । अन्ततः २०८२ वैशाख ९ मा सूर्यविनायक नगरपालिकाले विद्यालय बन्द गर्न भनेर सूचना जारी गर्‍यो ।

‘पहिले स्थानान्तरणको सिफारिस दिएकाले सूर्यविनायकमा सारेका हौँ । अहिले विद्यालय नै बन्द गर्नु भनेर सूचना निकाल्यो,’ सुवालले गुनासो गर्दै भने, ‘एक पटक स्पष्टीकरण नसोधी, छलफल नगरी बन्द गर्न भनियो ।’

सुवाललाई जहाँबाट आएको त्यहीँ जान सूर्यविनायकका जनप्रतनिधिले भने । ‘हाम्रो स्कुल नजिकै अर्को स्कुल आएकोमा कुनै गुनासो छैन । तर जनप्रतिनिधिले हाम्रो स्कुल बन्द गर्न लगाएर अर्को स्कुललाई सहयोग गरेको देखिएको छ । नगरपालिकाले पूर्वाग्रह साँधेको छ,’ सुवालको निष्कर्ष छ ।

शैक्षिक सत्र सुरु भएको बेला नगरपालिकाले विद्यालय विस्थापित गर्न खोजेको उनको जिकिर छ । वडाले सिफारिस गरेको र नगरपालिकाले स्थानन्तरणको ३५ दिने सूचना जारी गरेर पनि स्वीकृति किन नदिएको भन्ने प्रश्नमा नगर प्रमुख थापाले भने, ‘वडाले जे गरे पनि शिक्षा समितिले निर्णय गर्ने हो । शिक्षा समितिको अध्यक्ष म हुँ ।’

जनप्रतिनिधिसँग सुवालले हारगुहार गर्दा पनि उनले स्वीकृति पाउनु त परेको कुरा बन्द गर्न भनेपछि अदालत जाने निर्णय सुवालले गरे । ‘२०८३ वैशाख १४ गते उच्च अदालत पाटन गएका छौँ । तीन वटा माग राखेका छौँ । नगरपालिकाले बन्द गर्न भनेको निर्णय रोकिनु पर्‍यो, नगरपालिकाको पत्र खारेजी र स्वीकृति पाउनु पर्ने माग राखेका छौँ,’ सुवालले भने, ‘नगरपालिकाले न्याय नदिए पनि अदालतले दिन्छ भन्ने आशा छ ।’

फ्युचर स्टार स्कुलमा हाल प्ले ग्रुपदेखि कक्षा १० सम्म पठनपाठन भइरहेको छ । साढे दुई रोपनी जग्गा भाडामा लिएर सञ्चालन गरिएको छ । विद्यालयमा २१० जना विद्यार्थी रहेको विद्यालयमा शिक्षक र कर्मचारी गरी २७ जना कार्यरत छन् ।

‘पेसा व्यवसाय गर्ने संवैधानिक हकमा पनि बाधा अवरोध पुर्‍याइएको छ,’ यतिबेला सुवाल न्यायका लागि अदालतको ढोका ढकढकाउन पुगेका छन् ।

लेखक
दिनेश गौतम

अनलाइनखबरका संवाददाता गौतम शिक्षा र सामाजिक विषयमा समाचार लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?