News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४० वटा दुई पाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
- प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ वटा मोटरसाइकल र १५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभयो ।
- ट्राफिक प्रहरीले गत साउनयता ५०२ वटा सवारीसाधन धनीलाई बुझाएको छ भने चोरीमा संलग्न ४५ जनालाई नियन्त्रणमा लिएको छ ।
२० जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ४० वटा दुई पाङ्ग्रे सवारीसाधन (मोटरसाइकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले २५ ओटा मोटरसाइकल र १५ ओटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्त निवेदन र अन्य माध्यमबाट आएका सूचनाका आधारमा खोजी गरेर ती सवारी फेला पारिएको एसएसपी अधिकारीले बताए ।
केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यका स्थित सिम्ले, गुर्जुधारा, धर्मस्थली, नयाँबसपार्क, जम्बुडाँडा, सातदोबाटो, काँडाघारी, बानेश्वर, जोरपाटी, गोकर्ण, कीर्तिपुर, सुकेधारा, चुनदेवी, नैकाप, सुन्दरीजल, बौद्ध, र जयबागेश्वरी लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको हो ।
बुधबार हस्तान्तरण गरिएका ४० वटासहित ५०२ वटा सवारीसाधन गत साउन यता काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले धनीलाई जिम्मा लगाइसकेको छ ।
चोरीका ३० ओटा दुई पाङ्ग्रे सवारीसाधन सहित चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको ट्राफिकले बताएको छ ।
प्रतिक्रिया 4