News Summary
Generated by OK AI. Editorially reviewed.- वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीलाई श्रमिकका पुराना उजुरी तथा निवेदन चाँडो फर्छ्योट गर्न निर्देशन दिएको छ ।
- उजुरी फर्छ्योट नगर्ने र अटेर गर्ने संस्थालाई वैदेशिक रोजगार ऐन २०६४ बमोजिम कानुनी कारबाही गरिने चेतावनी विभागले दिएको छ ।
- विभागले विगतमा भएका मिलापत्र तथा सम्झौता अनुसार दायित्व पूरा नगर्ने इजाजतपत्र प्राप्त संस्थालाई कानुनी कारबाही गर्ने जनाएको छ ।
२१ जेठ, काठमाडौं । वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायी विरुद्ध परेका पुराना उजुरी तथा निवेदन चाँडो टुंग्याउ निर्देशन दिएको छ ।
श्रम स्वीकृति लिएर विदेश गएका तथा विभिन्न समस्यामा परेका वा विदेशबाट फर्किएका श्रमिकले दर्ता गराएका उजुरी तथा निवेदन चाँडो टुंग्याउन सम्बन्धित म्यानपावर व्यवसायीलाई विभागले निर्देशन दिएको हो ।
विभागले एक सूचना जारी गर्दै राहत तथा उद्धार शाखामा दर्ता भएका उजुरी/निवेदन तथा वैदेशिक रोजगारीसँग सम्बन्धित कानुनी व्यवस्था खविपरीत भएका गतिविधिबारे प्राप्त गुनासा फर्छ्योट गर्ने पहिलो दायित्व म्यानपावर व्यवसायीको हुने गरेको जनाएको छ ।
विभागमा दर्ता भएका उजुरी तथा निवेदनको न्यायोचित सम्बोधन गरी पीडित श्रमिकको समस्या समाधान गर्न सम्बन्धित म्यानपावर कम्पनीलाई पटक–पटक पत्राचार, सम्पर्क तथा निर्देशन दिइए पनि सन्तोषजनक समस्या समाधान नभएको पाइएको छ ।
विभागले श्रमिक हित ध्यानमा राख्दै विचाराधीन सबै उजुरी तथा निवेदन अनिवार्य फर्छ्योट गर्न सम्बन्धित संस्थालाई आग्रह गरेको छ । साथै, उजुरी फर्छ्योट नगर्ने तथा अटेर गर्ने संस्थाविरुद्ध वैदेशिक रोजगार ऐन २०६४ को दफा ३६ र दफा ५७ बमोजिम कानुनी कारबाही अगाडि बढाइने चेतावनी समेत दिएको छ ।
विभागले कानुनी दायित्व पूरा गरी श्रमिकका समस्या समाधानमा सक्रिय हुन सबै इजाजतपत्र प्राप्त संस्थालाई आग्रह गरेको छ ।
दफा ३६ मा रोजगारदाता संस्थाले सम्झौतामा तोकिए बमोजिम सर्त अनुसार रोजगार उपलब्ध नगराए त्यसको प्रमाण सहित कामदार वा निजको प्रतिनिधिले विभागमा उजुरी गर्न पाउने व्यवस्था छ ।
त्यसरी परेका उजुरीमा आवश्यक जाँचबुझ गरेर वैदेशिक रोजगारीमा जान लागेको सम्पूर्ण खर्चको क्षतिपूर्ति म्यानपावरबाट भराउने व्यवस्था छ ।
दफा ५७ मा इजाजतपत्रले कुनै गल्ती गरेको खण्डमा त्यस्तो गल्ती गर्ने पदाधिकारी वा कर्मचारी पहिचान भएकोमा त्यस्ता पदाधिकारी वा कर्मचारी र पहिचान हुन नसकेको खण्डमा फर्म, कम्पनी, संस्था प्रमुख भई काम गर्ने व्यक्तिलाई सजाय हुने व्यवस्था छ ।
विभागले विगतमा श्रमिकसँग विभागमा आएर गरेको मिलापत्र तथा सम्झौता अनुसार फर्छ्योट नगरेको खण्डमा कारबाही गर्ने चेतावनी दिएको हो ।
प्रतिक्रिया 4