+
+
Shares

साढे चार महिनादेखि राष्ट्रिय सभामा एक सिट रिक्त, भएन ओम प्रकाश अर्यालको नाम सदर

रिक्त पदमा नियुक्तिका लागि पूर्वगृहमन्त्री ओम प्रकाश अर्याल सिफारिस भए पनि उनको नाम सदर भएन ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १२:०३

२२ जेठ, काठमाडौं । राष्ट्रिय सभामा एक सिट साढे चार महिनादेखि रिक्त छ । राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतमले गत ४ माघ २०८२ मै राजीनामा दिएका थिए । उक्त स्थान त्यसबेलादेखि नै रिक्त छ । रिक्त पदमा नियुक्तिका लागि पूर्वगृहमन्त्री ओम प्रकाश अर्याल सिफारिस भए पनि उनको नाम सदर भएन ।

५९ सदस्यीय राष्ट्रिय सभामा ५६ जना निर्वाचित भएर आउँछन् भने तीन जना राष्ट्रपतिबाट मनोनित हुन्छन् । संविधानको धारा ८६ मा यससम्बन्धी व्यवस्था छ ।

प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपांगता भएका व्यक्ति वा अल्पसंख्यक सहित आठ/आठ जना गरीे ५६ जना निर्वाचित हुन्छन् । बाँकी तीन जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुन्छन् ।

राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुन्छ । यसअनुसार सुशीला कार्की नेतृत्वको अघिल्लो सरकारले रिक्त राष्ट्रिय सभा सदस्य पदमा अर्याललाई सिफारिस गरेको थियो । १ चैत २०८२ मा भएको उक्त सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले सदर गरेनन् ।

२१ फागुनमा प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी  संसदीय दलका नेता बालेन नेतृत्वमा सरकार बन्यो । नयाँ सरकारले पनि राष्ट्रिय सभामा रिक्त रहेको पदमा नियुक्ति सिफारिस गर्ने सन्दर्भमा कुनै निर्णय लिएको छैन ।

संविधानत: सरकारले सिफारिस गरेपछि राष्ट्रपतिले मनोनित गर्नुपर्छ । संविधानको धारा ८६ मै यसरी मनोनित हुने राष्ट्रिय सभा सदस्यको योग्यता तोकिएको छ । जसअनुसार मनोनित हुने तीन जना सदस्यहरू राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका प्रख्यात विज्ञ तथा बुद्धिजीवीहरू हुनुपर्ने हुन्छ ।

मनोनित गरिने तीन जनामध्ये कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्छ । हाल मनोनित दुई जनामा नारायण प्रसाद दाहाल र डा. अन्जान शाक्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?