News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
- उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीका अध्यक्षलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको बताएका छन् ।
- उनले सीमासम्बन्धी संवेदनशील विषयहरू हल्ला गरेर नभई कूटनीतिक माध्यमबाट चरणबद्ध रूपमा उठाइने स्पष्ट पारेका छन् ।
२२ जेठ काठमाडौं । सत्तारुढ रास्वपाका सभापति रवि लामिछाने ५ दिने भारत भ्रमणबाट फर्केका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि उच्चस्तरका नेताहरूसँग भेटेर आएका उनले यो भ्रमणले विगतका परम्पराहरू तोडेको दाबी गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले मिडियाहरूसँग भ्रमणको ब्रिफिङ गरेका छन् ।
उनले गरेको मिडिया ब्रिफिङको सम्पादित प्रश्नोत्तर यस्तो छ :
भ्रमणबारे रविको प्रारम्भिक ब्रिफिङ
यसपटकको भ्रमणको सबैभन्दा ठूलो विशेषता ‘पारदर्शिता’ हो । विगतमा उच्च राजनीतिक भ्रमणहरू बन्द कोठामा हुने र के कुराकानी भयो भन्ने थाहा नहुने परम्परा थियो। तर यसपालि हाम्रा सम्पूर्ण बैठकहरूमा परराष्ट्र मन्त्रालयका सम्बद्ध प्रतिनिधि र राजदूतावासका कार्यवाहक राजदूत स्वयं उपस्थित हुनुहुन्थ्यो। त्यसैले भित्र एउटा र बाहिर अर्को कुरा हुने वा अपारदर्शिता रहने अवस्था रहेन।
हामीले यो राजनीतिलाई अर्थ-राजनीतिमा परिणत गर्ने उद्देश्यका साथ ‘विकास कूटनीति’ लाई आधार मानेर छलफल गर्यौँ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्षको निमन्त्रणामा भएको यो ‘पार्टी-टु-पार्टी’ भ्रमण हो। संसारकै सबैभन्दा ठूलो दल भाजपा र नेपालमा भर्खरै उदाएको हाम्रो दलबीच विचार र कार्यशैली आदानप्रदान हुँदा लोकतन्त्र थप मजबुत हुन्छ।
हामी कुटनीतिक संवेदनशीलतालाई बुझ्दै दुई देशको हित र विकास कूटनीतिलाई मध्यनजर राखेर नेपाल फर्किएका छौँ।
पत्रकारहरूसँग भएको प्रश्नोत्तर
तपाईं पत्रकार छँदा सीमाको विषय जोडतोडका साथ उठाउनुहुन्थ्यो। जनताले रवि लामिछाने भारत जाँदा सीमा मुद्दा र गुमेको भूमि फिर्ताको कुरा उठाउला भन्ने अपेक्षा गरेका थिए। तर भ्रमणमा यो विषय कतै उठेन नि, बिर्सिनुभएको हो?
कूटनीतिक माध्यमलाई सक्रिय बनाएर गरिने कामहरू ढोल बजाएर वा हल्ला गरेर हुँदैनन्। तिनलाई सही ठाउँमा, सही समयमा र चरणबद्ध तरिकाले राख्नुपर्ने हुन्छ। एकजना अभियन्ताले उठाउने विषय, पत्रकार ले उठाउने विषय र देशकै ठूलो राजनीतिक दलले उठाउने विषयको जिम्मेवारी र संवेदनशीलता फरक हुन्छ।
लोकप्रियताका लागि सडक वा मिडियामा कराउन सजिलो होला, तर समस्या समाधानका आफ्नै कूटनीतिक चरणहरू हुन्छन्। नेपालले हिजो पनि सही ढंगले आफ्ना कुरा राख्न सुरु गरेको थियो र आज पनि कूटनीतिक माध्यमबाटै यी संवेदनशील विषयहरू अगाडि बढिरहेका छन्।
रास्वपा सरकारमा आएको सय दिन पुग्न लाग्यो। तपाईंहरूले विदेशबाट फर्किने नेपालीका लागि विमानस्थलमा स्वागत बोर्ड राखिनेछ भन्नुभएको थियो, तर अहिलेसम्म कतै देखिएन नी
तपाईंले प्रश्न गरेर सम्झाइदिनुभयो, त्यसका लागि धेरै-धेरै धन्यवाद। सरकार गठन भएको यो अवधिमा कति जना नेपालीहरू फर्कनुभएछ र कति आउनुभएको रहेनछ, त्यो सम्पूर्ण विवरण बुझेर म चाँडै नै तपाईंहरूलाई आधिकारिक जानकारी गराउनेछु।
कूटनीतिमा स्वागत-सत्कार र हाम्रो प्रस्तुति जेस्चरले ठूलो अर्थ राख्छ। रास्वपाको युगमा कूटनीतिको तह कस्तो रहन्छ ? यो भ्रमणबाट हामीले के लिएर आयौँ?
मैले अघि नै भनेँ, हाम्रा बैठकहरू अत्यन्त पारदर्शी रहे। कूटनीतिक दृष्टिकोण प्रष्ट पार्न मेरो एउटा लेख भारतीय पत्रिका हिन्दुस्तान टाइम्स मा पनि प्रकाशित भएको थियो। त्यसमार्फत हामीले कनेक्टिभिटी र धार्मिक पर्यटन लगायतका प्राथमिकता र सहकार्यका खाकाहरू स्पष्ट पारेका छौँ।
कूटनीतिमा ‘के ल्यायौँ, के पायौँ’ भन्नुभन्दा पनि ‘हामी सँगै कहाँ पुग्यौँ’ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। नयाँ सरकार बनिसकेपछि एउटा मित्रराष्ट्रसँग लगानी, सहकार्य र वर्षौँदेखिको सद्भावपूर्ण सम्बन्धका आधारमा कुन लाभलाई प्राथमिकतामा राख्ने भन्नेबारे स्पष्ट कुराकानी भएको छ। यो भ्रमणले कयौँ पुराना विषयहरूलाई ‘रिसेट’गर्न मद्दत गर्नेछ।
भारतमा रहेका नेपाली नागरिकहरूको अवस्था कस्तो पाउनुभयो? त्यहाँका नागरिकको अपेक्षा के रहेछ ?
भारतमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीहरूका समस्या आम रूपमा उस्तै छन्। भर्खरै सरकार गठन भएको हुनाले हामीले तत्कालै सबै समस्या आजको भोलि नै सम्बोधन गरिहाल्ने क्षमता त बनाइसकेका छैनौँ, तर त्यहाँस्थित नेपाली दूतावास र कूटनीतिक संयन्त्रलाई अझ बढी चुस्त र नागरिकमैत्री बनाउने कुरा गरेका छौँ। स्वास्थ्य, कागजात वा जनजीवनका जे-जस्ता समस्या छन्, तिनलाई न्यूनीकरण गर्न संयन्त्रलाई चुस्त बनाउनेतर्फ नै मेरो जोड रहेको छ।
भारतीय पक्षले भाजपाको मुख्यालयमा तपाईंलाई रातो कार्पेट ओछ्याएर भव्य स्वागत गर्यो। यसको रहस्य के हो ?
कुनै अतिथिलाई कसरी सत्कार गर्ने भन्ने कुरा आमन्त्रण गर्ने पक्ष (आयोजक) को निर्णय हो। भाजपाले आफ्नो मुख्यालयमा गरेको त्यो स्वागत असाध्यै प्रेमपूर्वक र स्वागतयोग्य थियो। त्यो स्वागत मेरो व्यक्तिगत वा मेरो पार्टीको मात्र होइन, त्यो नेपाल र नेपाली जनताको सम्मान हो। त्यसैले यस्तो भव्य र सम्मानजनक स्वागतको पनि अन्य अर्थ वा रहस्य खोज्नु उचित हुँदैन।
तपाईं इन्डिया जानुअघि प्रधानमन्त्रीले ‘नेपालले पनि इन्डियाको भूमि मिचेको छ’ भन्ने खालको अभिव्यक्ति दिनुभएको थियो, जसलाई लिएर प्रतिपक्षले आन्दोलन गरिरहेको छ। यसमा तपाईंको धारणा के हो?
परराष्ट्र मामिला र राष्ट्रको कूटनीतिक नीतिका विषयहरू कुनै दल विशेषको नभई सिंगो देशको हुन्छ। प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा जे-जस्ता प्रश्न उठे, त्यसबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति र आफ्नो आधिकारिक पेजमार्फत ‘वास्तविकता के हो र भन्न खोजिएको के हो’ भन्ने स्पष्ट पारिसकेको छ। त्यो नै सरकारको आधिकारिक धारणा भएकाले त्योभन्दा थप आधिकारिकता खोजिरहनु पर्दैन।
भारतमा तपाईंको भव्य स्वागत भयो। तर तपाईं भारत जानेबित्तिकै प्रतिपक्ष दलहरूले ‘तपाईं भारतको आशीर्वाद लिन जानुभएको र चाँडै प्रधानमन्त्री बन्दै हुनुहुन्छ’ भनी आशंका र आरोप लगाइरहेका छन् नि?
यसमा म धेरै केही भन्न चाहन्न। निर्वाचनअघि हामीले गरेका प्रतिबद्धता र कागज एकपटक पढ्न म अनुरोध गर्दछु। हामी राजनीतिक अस्थिरताको पक्षमा छैनौँ, स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मत दिएका हुन् र हामी आफ्नो वाचामा अडिग छौँ।
प्रतिपक्षका साथीहरूले सदन वा सञ्चार माध्यमबाट उठाएका जायज प्रश्न र ध्यानाकर्षणलाई हामीले सुनेका छौँ, जे सुधार्नुपर्ने हो त्यो सुधार्दै अघि बढ्छौँ। तर हरेक कुरामा सधैँ किचलो गर्ने र ‘यसैबाट संसारै पल्टिएला वा सरकारै ढल्ला’ झैँ गरेर धेरै हल्ला नगर्दा राम्रो हुन्छ।
तपाईंले भाजपा अध्यक्ष र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभयो? रास्वपाले भाजपाका नेताहरूलाई कहिले बोलाउँछ?
हो, मैले यही भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष र प्रधानमन्त्री नरेन्द्र मोदीज्यू दुवैलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको छु। आवश्यकता अनुसार विभिन्न देशका राजनीतिक दलहरूसँग यस्तो आमन्त्रण र संवाद निरन्तर चलिरहन्छ। दुवै जना नेपाल आउने कुरामा अत्यन्त सकारात्मक हुनुहुन्छ। समय मिलेपछि यो भ्रमण अवश्य हुनेछ।
वर्तमान सरकार बनेको दुई महिना भयो। प्रधानमन्त्रीजी भारत भ्रमणमा कहिले जानुहुन्छ? यस विषयमा कुराकानी भयो कि भएन? अनि प्रधानमन्त्री मोदी र तपाईंबीच ‘वान टु वान’ वार्तामा के कुरा भयो?
प्रधानमन्त्रीजीको भ्रमण समय र परिस्थिति हेरेर तय हुने कुरा हो। पछिल्लो जनमत र हाम्रो संरचना अनुसार हामीले सरकार र पार्टी सञ्चालनमा जिम्मेवारी बाँडफाँड गरेका छौँ। जहाँ प्रधानमन्त्री नै चाहिन्छ त्यहाँ उहाँ हुनुहुन्छ, जहाँ अन्य पार्टी संरचनाले पुग्छ त्यहाँ हामी परिचालन हुन्छौँ, ताकि सरकारको काममा बढी फोकस हुन सकियोस्।
प्रधानमन्त्री मोदीसँगको कुराकानीको हकमा, हाम्रा सबै छलफलहरू पारदर्शी र समृद्धिको एजेन्डामा केन्द्रित थिए। नेपाल र भारतको सम्बन्ध तब मात्र वास्तविक रूपमा गहिरो हुन्छ, जब हामी आर्थिक समृद्धिको बाटोमा सँगै हिँड्छौँ। हामीले खेलकुददेखि सूचना प्रविधिसम्मका क्षेत्रमा सहकार्य गर्ने ठूलो खाका बारे कुरा गरेका छौँ।
विगतका नीतिगत कमजोरी वा ढिलासुस्तीको भारी नबोकी वर्तमान सरकार विकास कूटनीतिका माध्यमबाट अगाडि बढ्न तयार छ। हामी एकअर्काप्रति घृणा र दोषारोपणबाट होइन, आपसी सम्मान र सम्भावनाका पाटाहरू पहिल्याएर समृद्धिको यात्रामा अघि बढ्न प्रतिबद्ध छौँ।
प्रतिक्रिया 4