0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

घले दम्पतीको ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ यही वर्ष सञ्चालनमा आउने

होटल निरीक्षण गर्दै म्यारियट इन्टरनेसनल अध्यक्ष डेभिडले भने- इम्प्रेसिभ !

१५ अर्ब रुपैयाँ हाराहारी लगानीमा कुल २ सय २५ कोठा रहने लक्जरी कलेक्सन बाई म्यारिअट होटल यो वर्षको अन्त्यसम्ममा सञ्चालनमा आउने सञ्चालक शेष घलेले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २४ गते १८:३६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्तर्राष्ट्रिय चेन होटल म्यारिअट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारिअटले काठमाडौंको ठमेलमा निर्माणाधीन ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ होटल निरीक्षण गरे ।
  • गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घले र जमुना गुरुङद्वारा निर्माणाधीन यस होटलमा करिब १५ अर्ब रुपैयाँ लगानी हुने बताइएको छ ।
  • दक्षिण एसियाकै पहिलो लक्जरी कलेक्सन दाबी गरिएको २२५ कोठाको यो होटल चालू वर्षको अन्त्यसम्ममा सञ्चालनमा ल्याउने तयारी छ ।

२४ जेठ, काठमाडौं । अन्तर्राष्ट्रिय चेन होटल ब्रान्ड म्यारिअट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारिअटले काठमाडौंमा निर्माणाधीन लक्जरी होटल ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ निरीक्षण गरेका छन् ।

आइतबार बिहान काठमाडौं आइपुगेका अध्यक्ष म्यारिअट नेपाल आएलगत्तै उच्च व्यवस्थापक सहित होटल निरीक्षण गर्न गएका थिए । होटल निरीक्षण गर्दै उनले काठमाडौंमा यो स्तरको होटल निर्माण भएको देख्दा निकै खुसी लागेको प्रतिक्रिया दिए ।

हालै फिनिसिङ भएका कोठाहरू हेर्दै अध्यक्ष म्यारिअटले भने, ‘अहो, यो त युरोपियन स्ट्यान्डर्डमै रहेछ, निकै इम्प्रेभिस लाग्यो !’

गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी श्रीमती जमुना गुरुङ घलेले ठमेलमा निर्माण गरिरहेको उक्त होटल यसअघि म्यारिअट ग्रुपकै सेराटन ब्रान्डमा सञ्चालनमा आउने घोषणा गरिएको थियो ।

 

होटल निरीक्षण क्रममा ग्रुप अध्यक्ष म्यारिअटले यसका लगानीकर्ताहरूको भिजन र हिम्मतको तारिफ गरे ।

तर, होटलको गुणस्तर र लगानीलाई ध्यान दिँदै उनले होटललाई लक्जरी ग्रेडमा स्तरोन्नति गर्दै ‘लक्जरी कलेक्सन बाई म्यारिअट’ ब्रान्ड दिएको थियो ।

कहिले सञ्चालनमा आउँछ होटल ?

कुल २ सय २५ कोठा रहने लक्जरी कलेक्सन बाई म्यारिअट होटल यो वर्षको अन्त्यसम्ममा सञ्चालनमा आउने गरी तयारी भइरहेको सञ्चालकहरूले बताएका छन् ।

‘काम तीव्र गतिमा भइरहेको छ,’ होटल सञ्चालक शेष घलेले भने, ‘आगामी तीनदेखि चार महिनाभित्र निर्माणको सबै काम सकिन्छ ।’

सन् २०१३/१४ देखि यो होटल निर्माण भइरहेको छ । लगानी थपिएर १५ अर्ब रुपैयाँ हाराहारी पुग्ने देखिएको उनले बताए । ‘हामीलाई खुुसी यसमानेमा छ कि यो होटल निर्माण अब तीनदेखि चार महिनाभित्र सकिन्छ,’ घलेले भने ।

यो होटल भारत, श्रीलंका, बंगलादेश र नेपालमा म्यारिअटको पहिलो लक्जरी कलेक्सन होटल हुने भएका कारण म्यारिअटकै मापदण्ड अनुसार निर्माण भइरहेको घलेले जानकारी दिए ।

होटलकी अर्का सञ्चालक जमुना गुरुङले म्यारिअट इन्टरनेसनलले व्यवस्थापन गर्ने लक्जरी कलेक्सन होटलमध्ये नेपालको यो होटल दक्षिण एसियाकै पहिलो लक्जरी होटल भएको जानकारी दिइन् ।

‘नेपालको मात्र नभई दक्षिण एसियाकै पहिलो लक्जरी कलेक्सन होटल निर्माण भइरहेकाले प्रत्यक्ष हेर्न अध्यक्ष म्यारिअट स्वयं आउनुभयो,’ गुरुङले भनिन्, ‘हाम्रो लगानी र भइरहेको कामबाट उहाँ प्रशन्न हुनुभयो, सम्भवत: यो सालको अन्त्यसम्ममा होटल सञ्चालनमा आउने छ ।’

होटल निर्माणको ७० प्रतिशत काम पूरा भइसकेको उनले बताइन् । अब इन्टेरियर डेकोरेसनको काम बाँकी रहेको उनको भनाइ छ । अर्धदक्ष र दक्ष कामदार अभावका कारण होटल निर्माण अवधि केही लम्बिएको उनले बताइन् ।

‘हामीले बढीभन्दा बढी पैसा खर्च गर्ने पर्यटक लक्ष्य गरेर होटल सञ्चालनमा ल्याउन लागेका हौं,’ गुरुङले भनिन्, ‘लक्जरी कलेक्सन भएकाले अमेरिका, युरोप वा अन्य जुनसुकै ठाउँमा भएका यस्तै होटल सरह वा त्योभन्दा बढी सुविधा आफ्नो होटलमा उपलब्ध गराउँछौं ।’

म्यारिअट इन्टरनेसनल कस्तो कम्पनी हो ?

अमेरिकी कम्पनी म्यारिअट इन्टरनेसनल संसारकै सबैभन्दा ठूलो होटल चेन कम्पनी हो । सन् १९९३ मा स्थापित म्यारिअट हाल ३६ ब्रान्डमा १ सय ४४ देशमा ९ हजार ३ सय ६१ होटल तथा रिसोर्ट व्यवस्थापन गर्दै आएको छ । जसमा १७ लाख ६ हजार ३ सय ३१ कोठा छन् ।

सन् २०२४ मा म्यारिअट इन्टरनेसनलले २५ अर्ब १० करोड अमेरिक डलर बराबर आम्दानी गरेको थियो । यसको खुद नाफा २ अर्ब ३८ करोड डलर थियो । कम्पनीमा हाल ४ लाख १८ हजार कर्मचारी कार्यरत छन् ।

यसका भगिनी कम्पनीमा म्यारिअट होटल्स एन्ड रिसोर्ट्स, ले मेरिडियन, रिट्ज कार्लटन होटल्स, सेराटन होटल्स, वेस्टिन होटल्स एन्ड रिसोर्ट्स, बुल्गारी होटल्स एन्ड रिसोर्ट्स, इडिसन होटल्स, जेडब्लू म्यारिअट होटल्स, सेन्ट रेजिस होटल्स एन्ड रिसोर्ट्स, द लक्जरी कलेक्सन लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?