0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

ब्यारेकजस्तै घर…

रासस रासस
२०८३ जेठ २५ गते ८:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाँकेको नेपालगन्जस्थित सुरेन्द्र सिंहको परिवारका तीन पुस्ताका झण्डै १२ सदस्य नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध भई राष्ट्रसेवामा समर्पित छन् ।
  • जबर सिंहबाट शुरू भएको सुरक्षायात्रामा हाल नाति अङ्कित सिंहले समेत नेपाल प्रहरीमा जागिर खाएर पारिवारिक विरासतलाई निरन्तरता दिएका छन् ।
  • द्वन्द्वकालमा कार्यरत प्रहरी निरीक्षक कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेर राष्ट्रका लागि प्राणको आहुति दिएका थिए ।

२५ जेठ, राँझा (बाँके) । बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित एउटा घरमा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ । त्यो घर हो, स्थानीय सुरेन्द्र सिंहको । यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ ।

शिख समुदायको सिंह परिवारमा हुने जमघटमा त अवस्था झनै हेर्न लायक हुन्छ । त्यहाँ उपस्थित अधिकांशको काँधमा राष्ट्रसेवक सुरक्षाकर्मीको पहिचानसहितको बर्दी देख्दा घर होइन, ब्यारेकजस्तै अनुभूति हुने गरेको छ ।

सिंहको परिवारमा तीन पुस्तादेखि सुरक्षाकर्मी बन्ने परम्परा चल्दै आएको छ । घरका सदस्यहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा आबद्ध हुँदै देशको शान्ति, सुरक्षा र सीमाको रक्षामा समर्पित छन् । हिसाब गर्दा परिवारका करिब एक दर्जन सदस्य सुरक्षाकर्मीका रूपमा राष्ट्रसेवामा जोडिएका छन् ।

हालै सशस्त्र प्रहरी बलको प्रहरी नायब निरीक्षक पदबाट अवकाश लिएका सिंहका अनुसार परिवारमा सुरक्षासेवाको यात्रा उनका बुबा जबर सिंहबाट सुरु भएको थियो । नेपाल प्रहरीमा कार्यरत बुबा जबरसिंहले स्थापित गरेको त्यही देशप्रेमको प्रेरणाबाट सुरेन्द्र स्वयं सशस्त्र प्रहरीमा आबद्ध थिए । हाल उनका छोरा अङ्कित सिंह नेपाल प्रहरीमा कार्यरत रहेर हजुरबुबा र बुबाको पदचाप पछ्याइरहेका छन् ।

‘सुरक्षा निकायमा रहेका परिवारका सदस्यको सङ्ख्या करिब एक दर्जन पुग्छ । त्यसैले हाम्रो त घर नै ब्यारेकजस्तै छ’, सुरेन्द्र मुस्कुराउँदै भन्छन्, ‘देशको सेवा गर्न पाएकामा गर्व लागेको छ । बुबाको पालादेखि नातिसम्म राष्ट्रसेवाको परम्परा फैलिएको देख्दा झनै गर्व महसुस हुन्छ ।’

यही परिवारका काका शरण सिंहले नेपाल प्रहरीमा लामो समय सेवा गरे । परिवारकै विनोद, दीपक, बलदेव र नारायण सिंह हाल सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।  नातामा भाइ पर्ने शङ्कर सिंह सशस्त्र प्रहरीको प्रहरी नायब उपरीक्षक पदबाट अवकाशप्राप्त भइसके ।

सिंह परिवारको इतिहास केवल जागिरमा सीमित छैन । यो परिवारले देशका लागि रगत र प्राणको आहुति पनि दिएको छ । द्वन्द्वकालमा प्रहरी निरीक्षक पदमा कार्यरत कन्हैया सिंहले कर्तव्यपालनका क्रममा वीरगति प्राप्त गरेका थिए । परिवारका लागि त्यो पीडादायी क्षण भए पनि उनको बलिदानले राष्ट्रसेवाप्रतिको प्रतिबद्धतालाई अझ दृढ बनाएको परिवारजन बताउँछन् ।

अवकाशपछि पनि देशप्रतिको दायित्व समाप्त नहुने सुरेन्द्र सिंहको विश्वास छ । ‘बर्दी फुकाले पनि देशप्रेम त बाँकी नै हुन्छ नि !’, उनी भन्छन्, ‘हिजो सुरक्षाकर्मीका रूपमा र अब सामाजिक कार्यमार्फत देश र समाजको सेवामा निरन्तर लागिरहनेछु ।’

नेपालगन्ज-१५ का वडाध्यक्ष मदनविक्रम शाहले जमुनाहको सिंह परिवार राष्ट्रसेवा, त्याग र समर्पणको उदाहरण बनेको बताए । एउटै आँगनबाट देशको सुरक्षा र शान्तिका लागि समर्पित यति धेरै सदस्य जन्मिनु आफैंमा गौरवको विषय भएको उनको भनाइ छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?